अन्तर्वार्ता

‘कोरोना भाइरस संक्रमण नसर्ने तीन उपाय’

‘कोरोना भाइरस संक्रमण नसर्ने तीन उपाय’
+
-

पछिल्लो समय दिन प्रतिदिन नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। संक्रमण दर घटाउनका लागि सरकारले कुनै पहल नगरेको धेरैले गुनासो गरिरहेका छन्। विपद्का समयमा स्वास्थ्य मन्त्रालय के गरिरहेको छ? क्वारेन्टिनको व्यवस्थापन किन राम्रो हुन सकेको छैन? परीक्षणको दायरा बढाउँदै तीव्र र व्यापक रुपमा काम गर्ने भने पनि सरकारले कुनै पहल किन नगरेको? जस्ता प्रश्नले सरकार घेरिएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशहरु लागिपरेका छन्। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि के कस्ता सवधानी अपनाउन सकिन्छ। अस्पताललाई कसरी तयारी अवस्थामा राख्न सकिन्छ। नेपालमा संक्रमण फैलिदै गर्दा हामी कुन स्टेमा पुगेका छौँ। रोग नियन्त्रण, तयारी, सरकार कहाँ चुकिरहेको छ, यसै सम्बन्धी संक्रमण रोग तथा अईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीसँग गरिएको कुराकानीः

अहिले हामी कुन स्टेजमा छौँ त

संक्रमणको चार वटा स्टेज हुन्छ। पहिलो स्टेजमा बाहिरबाट आएको व्यक्तिमा मात्र संक्रमण देखिन्छ। दोस्रो स्टजमा बाहिरबाट आएका व्यक्तिसँग बसेका व्यक्ति, घर परिवारहरुमा संक्रमण देखिने वा सर्ने हुन्छ। तेस्रो स्टेजमा व्यक्ति घर परिवारबाट टोलटोलमा संक्रमण देखिन थाल्छ। चौथो स्टेजमा भने संक्रमण समुदायमा ‘आउटब्रेक’ हुन्छ।

चार वटा स्टेजमध्ये अहिले हामी तराईमा स्टेज तीनमा पुगिसकेका छौँ भने उपत्यकामा स्टेज दुईमा छौँ भन्ने मेरो व्यक्तिगत धारण छ, यद्यपि विश्व स्वास्थ्य संठगनका अनुसार हामीमा अझै लोकल ट्रन्समिसन भएको छैन। तर जे होस्, यसलाई कन्ट्रोल गर्न सकेनौँ भने यो स्टेज चारमा जान्छ र ठूलो माहामारीको रुप लिनेछ।

नेपालमा संक्रमित भएका धेरैमा लक्षण देखिएको छैन नि?

सामान्य खोकी लागेको पनि लक्षण हो। कतिपय मानिसहरुले ज्वरो आएपछि मात्रै लक्षण देखिएको भन्ने बुझेका छन्। तर सामान्य रुघाखोकी, घाँटीमा समस्या भएको, स्मेलको सेन्स नहुने पनि लक्षण हो। तर यसलाई लक्षणमा गनिएको छ, छैन भन्ने कुरामा भर पर्छ। अर्को कुरा संक्रमितहरुमा लक्षण देखिएको छैन भने यो अझै डरलाग्दो कुरा हो। विश्व स्वास्थ्य संगठनले भनेको छ, ५ प्रतिशतभन्दा बढी नेपालमा लक्षण नभएका व्यक्तिको संख्या धेरै देखिनेछ।

धेरै मानिसले पछिल्लो समय कुर्सी, लुगा, तरकारी, फलफूल जस्ता कुराहरुबाट सर्छ भन्ने गरेका छन्। तर यसमा त्यति धेरै डराउनु पर्दैन। यसबाट सर्ने सम्भावना १० प्रतिशत मात्रै हुन्छ भने हात सफा राखेमा यसको सम्भावना कम हुन्छ। विश्व स्वास्थ्य संठगनले पनि तरकारी, मासु लगायतका खाद्य सामाग्रीबाट नसर्ने जनाएको छ।

संक्रमण फैलिन नदिनका लागि के गर्न सकिन्छ?

कसरी रोक्नेभन्दा पनि पहिला कसरी सर्छ भन्ने कुरा थाहा पाउनु जरुरी छ। यसको सर्ने प्रकृया भनेकै संक्रमित कुनै व्यक्तिसँग अर्को व्यक्तिको सम्पर्क  भएपछि उसको थुकको छिटाबाट भाइरस आँखा, नाक र मुख गरी शरीरका यी तीन ठाउँबाट सर्छ। धेरैलाई छालाबाट पनि भाइरस छिर्छ भन्ने गरेका छन् तर भारइरस छालाबाट छिर्दैन। भाइरस हातको माध्यमबाट नसरोस् भन्नका लागि हातको सरसफाई गर्न भनिएको हो। अरुको भाइरस आफ्नो हातमा टासिएर पनि सर्न सक्छ। जसका कारण हातको सरसफाई सबैभन्दा महत्वपूर्ण कुरा हो।

भाइरस सर्नबाट बच्नका लागि कुनै पनि व्यक्तिको नजिक जानु हुँदैन। ६ फिटको दूरी कायम गरेर बस्नु पर्छ। नजिकै जाने काम परेको खण्डमा मास्क लगाउनु पर्छ। मास्कले मुख र नाक मात्रै छोप्ने भएकाले आँखाको सुरक्षाका लागि चस्मा पनि अनिर्वाय लागाउनु पर्छ। त्यस्तै पटक–पटक साबुन पानीले हात भने धोइरहनु पर्‍यो। हात धोइरहन नसक्ने भएमा भने ६०/७० प्रतिशत अल्कोहल भएको सेनेटाइजरले सफा गर्नुपर्छ। यो भनेको एउटा व्यक्तिले गर्नु पर्ने कुरा हो।

अब सुमदायमा सर्ने प्रकृया उही भए पनि लक्षण देखिएका व्यक्तिबाट ४० प्रतिशतलाई मात्र सरेको देखिन्छ। लक्षण देखिनुभन्दा दुईदेखि तीन दिन अगाडिबाट भाइरस सर्न थाल्छ। ४५ प्रतिशत केस लक्षण देखा पर्नुभन्दा अगाडि नै सर्ने गर्छ।

कतिपय लक्षण नै देखा नपरे पनि सर्ने मानिसहरु छन्, यो संख्या जम्मा ५ प्रतिशत छ। केही समय अगाडि विश्व स्वास्थ्य संगठनले लक्षण नदेखिएका व्यक्तिबाट भाइरस नसर्ने बताएको थियो। त्यो भन्न खोजिएको यही ५ प्रतिशत हो।

यसबाट के बुझिन्छ भने सबैभन्दा धेरै लक्षण आउनुभन्दा अगाडि र लक्षणविहीन अवस्थामा संक्रमण फैलिरहेको छ।

यसका लागि हामीले टेस्टिङ् र ट्रेसिङ् (TRACING)  गरी दुई वटा कुरामा ध्यान दिन जरुरी छ। टेस्टिङ् भनेको लक्षण देखापरेका र सम्भावितलाई व्यक्तिमाथि गरिने परीक्षण हो। यसका जसलाई परीक्षण गरिन्छ, परीक्षणपछि रिपोर्ट पोजेटिभ आए। उक्त व्यक्तिलाई आइसोलेसनमा राख्ने गछौँ। एउटा कम्पोनेन्ट भनेको टेस्टिङ् र आइसोलेट गर्ने भयो।

अर्को भनेको पीसीआर पोजेटिभ आएका व्यक्तिहरुसँग जो–जो सम्पर्कमा आएको छ। त्यसलाई कन्ट्याक्ट गरेर ट्रेस गर्छौँ। जसलाई हामी कन्ट्याक ट्रेसिङ् भन्ने गर्छौँ। कन्ट्याक ट्रेसिङ् गरिएका व्यक्तिको परीक्षण गर्न पनि सकिन्छ, नगर्न पनि सकिन्छ तर उक्त व्यक्तिहरुलाई क्वारेन्टाइनमा भने राख्नै पर्छ।

टेस्टिङ् र आइसोलेसन अनि कन्ट्याक ट्रेसिङ् र क्वारेन्टिनमा यी दुई वटा कुरामा ध्यान दिने हो भने संक्रमणलाई रोक्न सकिन्छ।

हाम्रो देशमा टेस्टिङ्‌को मात्रै काम भइरहेको छ। कन्ट्याक ट्रेसिङ्‌मा खासै ध्यान दिएको देखिँदैन। यसका काम नै भएको छैन भन्दा पनि खासै फरक नपर्ला। कन्ट्याक ट्रेसिङ् सही तरिकाले नहुने हो भने जतिसुकै टेस्टिङ् बढाए पनि संक्रमण फैलिनबाट रोक्न सकिँदैन। रोगलाई नियन्त्रण गर्न सकिँदैन।

परीक्षण कसरी गर्ने त?

कुनै पनि व्यक्तिले संक्रमित व्यक्तिसँग संगत गर्‍यो भने उसको शरीरमा भाइरसको विकास हुन करिब एक हप्ता लाग्छ। त्यसैले एक हप्तापछि मात्रै लक्षणहरु देखा पर्न थाल्छन्। लक्षण देखा पर्न थालेको एक दुई दिन अगाडिबाट मात्रै पीसीआर पोजेटिभ आउन थाल्छ। तर एक हप्तापछि फेरि पीसीआर नआउन पनि सक्छ।

अर्को सेरोलोजि (Serology)  हुन्छ। जसमा आइजीएम (Ig M) र आइजीजी (Ig G) गरी दुई वटा एन्टीबडी हुने गर्छ। लक्षण देखिएको एक हप्तासम्म पीसीआर आउँछ र त्यसको एक हप्तापछि पीसीआर घट्न थाल्छ र आइजीएम देखिन थाल्छ।  तर आइजीएम लक्षण देखिएको दुई हप्तापछि हराउँदै जान्छ र आइजीजी मात्रै रहन्छ। यति बेलासम्म पीसीआर हराइसकेको हुन्छ।

यसको मतलब,  लक्षण देखिएको सुरुको एक हप्ता पीसीआर, त्यसको एक हप्ता कटिसकेपछि आइजीएम  र लक्षण देखिएको दुई हप्ता कटिसकेपछि आइजीजी राम्रो मनिन्छ। आइजीएम र आइजीजीलाई सेरोलोजि पनि भनिन्छ।

दैनिक जति केस डिटेक्ट भइरहेको छ, त्यसको ३३ गुणा परीक्षण हुनुपर्छ। त्यो पनि दैनिक। हाम्रोमा ‘केस डिटेक्ट ७ प्रतिशत मात्रै छ। टेस्टिङ बढाएर यसलाई ३ प्रतिशतभन्दा तल झार्नु पर्छ। यदि हामी हटस्पटमा पुगेका छौँ भने प्राथामिकता अनुसार परीक्षण गर्नुपर्छ।

सेरोलोजी त भनियो तर यसको परीक्षण कसरी गरिन्छ?

सुरुको एक हप्तामा आरएनए अर्थात पीसीआर पोजेटिभ हुन्छ, यो थाहा भएकै कुरा हो। सेरोलोजीलाई कसरी जाँच गरिन्छ भन्दा दुई वटा विधिबाट हुन्छ। एउटा ‘एन्टीबडी बेस्ट आरडीटी’ र अर्को भनेको ‘इलाइजा’ हो।

आरडीटी र इलाइजा टेक्निकल्ली कम्पेयर गर्ने हो भने इलाइजा भरपर्दो हुन्छ।

यसका लागि कस्ता व्यक्तिमा पीसीआर र कस्ता व्यक्तिमा सेरोलोजी परीक्षण गर्ने भन्ने जान्नु पर्छ।

लक्षण देखिएको पहिलो हप्तामा पीसीआर गर्नुपर्छ। लक्षण देखिएको एक हप्तापछि पीसीआर नेगेटिभ पनि आउन सक्छ। यस्तो बेला चाहीँ पीसीआर र सेरोलोजी दुवै परीक्षण गर्नु पर्छ।

लक्षण देखिएको दुई हप्ता कटेपछि भने पीसीआर नेगेटिभ हुने भएका कारण सेरोलोजी मात्र गर्दा हुन्छ।

धेरै सुन्ने गरेका छौँ, अरडीटी नेगेटिभ र पीसीआर पोजेटिभ। त्यो किटको मात्र समस्या होइन। यो कुन अवधिमा परीक्षण गरियो भन्ने पनि हो।

अब सेरोलोजी टेस्ट कसरी गरिन्छ भन्नेमा बिस्तृत रुपमा कुरा गरौँ।

अघि भने जस्तै, यसको दुई वटा तरिका छ, आरडीटी र इलाइजा। यो दुई वटा मध्य इलाइजालाई उत्तम मानिन्छ। इलाइजा टेक्निकल्ली आरडीटीभन्दा भरपर्दो हो। यो नेपालभर पाइन्छ। मेसिन पनि छ। किटहरु पनि पाइन्छ। देशभर दशौँ हजारको दरमा गर्न मिल्छ।

जहाँ पीसीआर गर्न सकिन्न, त्यहाँ इलाइजा गर्न सकिन्छ। तर समस्या के छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरकारले यसलाई मान्यता दिएको छैन।

इलाइजा भनेको के हो?

इलाइजा भनेको सेरोलोजी जाँच गर्ने मेकानिजम हो। ल्यावमा चेक गरिन्छ। आरडीटी प्रेग्नेन्सी जाँच गर्ने किट जस्तो हुन्छ। यसलाई जता पनि बोकेर जान मिल्छ। यसको फाइदा यहि हो। जहाँ पनि लिएर जान मिल्ने भएपनि यो भरपर्दो हुँदैन।

सेरोलोजीमा जति पनि अन्तर्राष्ट्रिय अनुसन्धानहरु भएका छन्। ती सबै इलाइजामा भएका छन्। आरडीटीमा भएका छैनन्।

जुन किट नेपालमा प्रयोग भइरहेका छन्। उक्त किट उत्पादन गर्ने कम्पनीहरुले ९० प्रतिशतभन्दा बढी एक्यूरेट छ भनेर भ्रममा राखेका छन्। खासमा उनीहरुले पीसीआरको विरुद्धमा तुलना गर्नुपर्ने हो। तर उनीहरुले त्यसो गरेका छैनन्।

नेपालमा त्यसको भ्यालिडिटी जाँच गर्न सकिएन। यतिकै रोल आउट गरियो। तर जुन देशमा जाँच गरियो। त्यसको सेन्सेटिभिटी ५ प्रतिशत मात्र पाइएको छ। यसको अर्थ सय जना संक्रमित भएको ठाउँमा ५ जनामा मात्र पत्ता लाग्यो। बाँकी अरुमा पत्ता लाग्न सकेन।

नेपालमा पनि ठ्याक्कै यहि भएको हो। जसले गर्दा केस मिस भयो। क्वारेन्टिनबाट उनीहरु समुदायमा गए र अरुसँग घुलमिल भए र सारे। संक्रमण फैलियो।

त्यसैले आरडीटी प्रयोग गर्नु हुँदैन। गर्नै पर्ने भएपनि आरडी (एफडीए) स्वीकृत भएको र एन्टीजन बेस्ट हुनु पर्दछ। नत्र काम लाग्दैन।

त्यसैले सरकारले पीसीआरलाई प्राथामिक्ता दिनु पर्‍यो। त्यसपछि इलाइजा खोल्दिनु पर्‍यो। इलाइजा खोल्यो भने दशौँ हजारमा टेस्ट गर्न मिल्यो। क्वारेन्टाइनमा पीसीआर गर्न नसक्ने ठाउँमा इलाइजा गर्न सकिन्छ। यो आरडीटीभन्दा पनि सस्तो पर्छ।

इलाइजाको अर्को महत्वपूर्ण कुरा के छ भने लकडाउन खोल्नुभन्दा अगाडि डिजिज छ, छैन वा रोग आएको हो, होइन भनेर पत्ता लगाउनलाई पीसीआर गर्दा गाह्रो र खर्चिलो हुने भएका कारण त्यस्तो ठाउँमा इलाइजा गर्न सकिन्छ।

उसो भए पीसीआर जाँच कसलाई गर्ने?

यो सबैलाई गरेर साध्य छैन। पीसीआर सिमित व्यक्तिलाई गर्नुपर्छ। सबैभन्दा पहिला लक्षण देखिएकालाई परीक्षण गर्नुपर्छ। दास्रो फ्रन्ट लाइन हेल्थ वर्करस्‌लाई र तेस्रोमा क्वारेन्टिनमा बसेका व्यक्ति वा संक्रमित व्यक्तिसँग घुलमिल गरेका व्यक्तिलाई गर्नुपर्छ।

परीक्षण कति गर्ने?

दैनिक जति केस डिटेक्ट भइरहेको छ, त्यसको ३३ गुणा परीक्षण हुनुपर्छ। त्यो पनि दैनिक। हाम्रोमा ‘केस डिडेक्ट ७ प्रतिशत मात्रै छ। टेस्टिङ बढाएर यसलाई ३ प्रतिशतभन्दा तल झार्नु पर्छ। यदि हामी हटस्पटमा पुगेका छौँ भने प्राथामिक्ता अनुसार परीक्षण गर्नुपर्छ।

पीसीआर पोजेटिभ आए के गर्ने?

सरकारले पोजेटिभ आउने बित्तिकै आइसोलेसनमा राख्ने गरेको थियो। तर पछिल्लो समय सिकिस्त भयो भने अस्पताल राख्ने र सिकिस्त नभए घरमै राख्ने भनेको छ। सिकिस्तलाई अस्पताल राख्ने कुरा ठिक हो तर सामान्य व्यक्तिलाई घर पठाउने भन्ने कुरा गलत हो। किनभने घर पठाउँदा उक्त व्यक्ति बाटोमै वा घरमै पनि मर्न सक्छ। एम्बुलेन्स सेवा राम्रो छैन। फेरि उसले घरमा अरुलाई पनि सार्न सक्छ।

विदेशमा संक्रमित भएका मानिसहरु एक्ला एक्लै बस्छन्। त्यसकारण घरमा छुट्टै बस्न सक्छ। उसले भनेको बेला एम्बुलेनस आउन सक्छ। नेपालमा त्यस्तो सेवा छैन र मानिसहरु एक्ला एक्लै बस्न सक्दैनन्। परिवारसँगै बस्छन्। उनीहरुले प्रयोग गर्ने कुराहरु संयुक्त रुपमा प्रयोग गर्ने गर्छन्। जसले गर्दा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ। एउटा घरका परिवारलाई सर्‍यो भने एकपछि अर्को गर्दै समुदायमा फैलिन्छ। यसको मतलब संक्रमित भएको व्यक्तिलाई घर पठाउनु भनेको स्थितिलाई भयावह बनाउनु हो।

त्यस्तो व्यक्तिलाई घर पठाउनुको साटो अस्पताल नजिकै बस्ने ठाउँको व्यवस्था गरी आइसोलेसनको सुविधा हुन जरुरी छ।

कन्ट्याक ट्रेसिङ् कसरी गर्नुपर्छ?

सुरुमा सरकारले इपिडिमियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)लाई दिएको थियो। तर ईडीसीडीले यो काम गर्न सकेन र अहिले स्थानीय तहलाई दिएको छ। स्थानीय तह आफैमा अस्तव्यस्त छ। उनीहरुसँग राम्रो जानकारी, दक्ष जनशक्ति र गाइडेन्स पनि छैन। जसका कारण यो प्रभावकारी हुन सकेको छैन।

अर्को समस्या भनेको कन्ट्याक ट्रेसिङको प्रकृया पुरानो जस्तो भयो। प्रश्न सोधेर पेपरमा उत्तर लेख्ने खाल्को भयो। जसले गर्दा कसैलाई पुरानो कुरा याद नहुन सक्छ। कोहि संक्रमित भइहाल्यो भने पनि उसले आफूले चिनेको मान्छे मात्र सम्झन सक्छ। घर बाहिर निस्दा कसलाई भेटे भन्ने उसलाई थाहा हुँदैन। अर्को कुरा कतिपय व्यक्तिले भन्न पनि चाहँदैनन्। परम्परागत विधिबाट गर्दा हामीले धेरै कुराहरु ‘मिस’ गर्न सक्छौँ।

परम्परागत विधिमा भर पर्नु हुँदैन। अरु देशबाट सिकेर हामीले आइटीको (IT) सहयोग लिनुपर्छ।

आइटीको सहयोगमा संक्रमण रोग विशेषज्ञ, इपिडिमोलोजिस्ट, आइटी इन्जिनियर, सीसीएमसीसँग सहकार्य गरेर ‘कोभिड एनपी’ (COVIDNP) नामक एउटा ट्र्याकिङ् एप्लिकेशन बनाएका छौँ। यसको वेबसाइट पनि छ। त्यहाँ विभिन्न कुराहरु राखिएको छ।

यो ट्र्याकिङ् एप्लिकेशनले हरेक मानिसलाई पाँच वटा प्रश्न सोध्छ। प्रश्न सोधेपछि जो शंकास्पद हुन्छन्, उनीहरुलाई एपले ‘अटोमेटिक’ रुपमा ट्याकिङ् गर्छ। त्यसपछि आइसोलेसन अथवा क्वारेन्टाइनमा बस्नुपर्ने मान्छे कहाँ बसेको छ, थाहा हुन्छ। जसलाई हामी जीयोट्र्याकिङ् भन्छौँ भने सिमित ठाउँबाट भागेर अर्को ठाउँ गएका थाहा हुनेलाई हामी जीयोफ्न्सिङ् भन्छौँ। यी दुई वटा सुविधाको माध्यमद्वारा मानिसहरु क्वारेन्टिनमा राख्न र उनीहरुलाई चाहिएको खण्डमा टेस्ट, एम्बुलेन्स पठाउन मिल्छ।

यो एपको महत्वपूर्ण कुरा भनेको एपमा ‘ब्लुटुथ सर्भिलेन्स’ पनि छ। जसको सहायताले आफ्नो वरिपरी १० फिटको दूरीमा कोही संक्रमित छ भने ‘आटोमेटिक वार्निङ’ दिन्छ। जसको मतलव तपाईको वरपर संक्रमित व्यक्ति घुमिरहेको छ, दूरी कायम गर्नुहोस्, यदि शंका लागेको छ भने टेस्ट गनुहोस् भनेर वार्निङ आउँछ।

यो सिस्टम चीन, साउथ कोरिया, ताइवान हुँदै दुई महिना अगाडि भारतले पनि प्रयोग गरिरहेको छ। भारत सरकारले यसलाई सबैका लागि अनिवार्य गराएको छ।

यही कुरा बुझेर प्रधानमन्त्रीले यस्तो खालको एप चाहिन्छ भनेर सम्बोधन गरेपछि हामीले पनि ‘कोभिड एनपी’ एप बनायौँ। सीसीएमसीले यसलाई लन्च पनि गर्‍यो तर स्वास्थ्य मन्त्रालयले यसलाई अहिलेसम्म पनि समर्थन गरेको छैन। र कसैलाई थाहा छैन। सरकारले यो एप प्रयोगमा ल्याओस्। यहाँ बसेका र बाहिरबाट आउने सम्पूर्ण नेपालीलाई अनिवार्य प्रयोग गर्नुपर्ने बनाओस्। र एप प्रयोग गरेपछि जे–जे डाटा आउँछ, त्यही अनुसार नस्सा तयार गरेर रिसर्च गरोस्।

अर्को भनेको टेलिकमसँग मिलेर पनि डाटा संकलन गर्न सकिन्छ। सरकारले सवारी साधनका लागि पास वा जोर विजोरभन्दा पनि हरियो र रातो स्टर दियो भने राम्रो हुन्छ। हरियो स्टिकर भएको व्यक्ति बाहिर निस्कन पायो र रातो स्टिकर भएको व्यक्ति बाहिर निस्कियो भने प्रहरीले पनि उसलाई समात्न सक्छ। आइटीद्वारा यी विभिन्न माध्यम प्रयोग गरेर सरकारले चाडो ट्रेसिङ् गर्न सक्छ। र लकडाउनलाई खुकुलो बनाउन सक्छ।

कोभिडको उपचारका लागि औषधिको अवस्था के छ?

कोभिडको सन्दर्भमा कुनै पनि औषधि १०० प्रतिशत ग्यारेन्टिको छैन। तर अहिले केही औषधिहरु काम गर्न सक्ने कुरा तथ्याङ्कले देखाउँछ।

एफडी प्रूफ भइसकेको र कोरोनाका लागि प्रभावकारी देखिएको एउटा औषधि रेम्डेसिविर “REMDESIVIR” हो। उक्त औषधि अमेरिकामा मात्र बन्थ्यो। अहिले त्यो औषधि चीन, बंगलादेश, भारतमा पनि बन्न थालेको छ। यो औषधि भारतमा भन्दा बंगलादेशमा ५० प्रतिशत सस्तो छ। बंगलादेशका लागि राजदूत डा. वंशीधर मिश्र उहाँ आफैमा एक डाक्टर हुनुहुन्छ। डाक्टरको नाताले औषधि ल्याउन उहाँले केही पहल गर्नु भए अझ सजिलो हुन्छ।

५० प्रतिशत सस्तो पाइएको औषधि हामीले ढिलो गर्‍यौँ भने पछि नपाउन सकिन्छ।

पाकिस्तान, माल्दिभस्, भुटान सबैले लगिसकेका छन्। हामीले क्लिनिकल गाइडलाइनमा त्यो औषधि चाहिन्छ भनेर लेखिसकेका छौँ।

त्यस्तै,  फविपेरविर् “FAVIPERAVIR”  भन्ने अर्को औषधि जापानमा पाइन्छ। जापान सरकारसँग सहयोग स्वरुप यो औषधि माग्न सकिन्छ।

अहिले आएर, डेक्सामेथासानो “DEXAMETHASONE” नामक औषधि आईसीयूमा प्रयोग गर्न सकिन्छ। यो औषधि नेपालमै पनि बन्छ। तर यसका लागि चाहिने कच्चा पदार्थको व्यवस्था सुनिश्चित गरिदिनुपर्छ।

यसको उपचारका लागि कस्तो टिम चाहिन्छ

भाइरससँगको लडाई भनेको लामो लडाई हो। जसका लागि विज्ञहरुको ‘सोलिड’ टिम हुनुपर्छ। टिममा संक्रमण रोग विशेषज्ञ, इपिडिमियोलोजिस्ट, माइक्रोबाइलोजिस्ट, इमर्जेन्सीको डाक्टर, आइसीयूको डाक्टर, प्यारामेडिक्स र नर्स हुनुपर्छ। फेरि मेडिकल टिम मात्र भएर हुँदैन, यो रोगको मानसिक पाटो पनि छ। संक्रमणका कारण जतिको मृत्यु भएको छ, त्योभन्दा बढीले आत्महत्या गरिरहेका छन्।

त्यसका लागि पनि साइकोलोजिकल काउन्सिलिङ्‌का लागि अर्को टिम नै बनाउनु पर्छ। अहिलेको सबैभन्दा ठूलो च्यालेन्ज भनेको आर्थिक संकट पनि हो। यस कारण आर्थिक विज्ञहरुको पनि टिम बनाउनु पर्छ।

रेमिट्यान्स १४ प्रतिशतले घट्नेवाला छ। विदेशी मुद्राको रिजर्भी ९ महिना छ। त्यसैगरी यूएनको रिपोर्ट अनुसार नेपालमा जम्मा ३ महिनाका लागि पुग्ने अन्नको स्रोत छ।

नेपालका औषधि कम्पनीहरुले ५ महिना मात्र धान्नेवाला छन्। जसका कारण औषधिको समेत हाहाकार हुनेवाला छ।

यदी हामीले यो समयमै नियन्त्रण गर्न सकेनौँ भने हामी ६ महिनादेखि ८ महिना भित्रमा तहसनहस हुनेछौँ।

कोभिड सम्बन्धी के कस्ता भ्रम फैलिरहेका छन्?

मानिसहरुले संक्रमण हावाबाट सर्छ भन्ने गरेका छन्। यो गलत कुरा हो। ६ फिटको दूरी कायम गरेर मास्क लगाउने र हात सफा राख्ने हो भने संक्रमण सर्दैन। हावाबाट सर्ने भनेको इमर्जेन्सी र आइसीयूमा कुनै प्रोसिजर गर्दा हो, उक्त कुरा डाक्टरहरुलाई थाहा भइहाल्छ। गाउँ वा टोलमा क्वारेन्टिन बनाउँदैमा संक्रमण सर्दैन। अनि अर्को कुरा बाटोमा हिँड्दा पीपीई लगाउनु पर्दैन।

मासु, अण्डा खाँदा संक्रमित भइन्छ भन्ने पनि छ, तर त्यसो होइन। विश्व स्वास्थ्य संठगनले मासुबाट संक्रमण फैलिने बताएको होइन, उनीहरुले जंगली जनावरहरुको संगत र सम्पर्क नगर्नु भन्न खोजेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?