
सुर्खेत- कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयकबिपरित कर्णाली प्रदेश सरकारले बजेट प्रस्तुत गरेको भन्दै लगातार दुई दिनदेखि प्रदेश सभा बैठक अवरुद्ध गरेको छ।
कोरोना भाइरस संक्रमणको संकटमा दिनप्रतिदिन फस्दै गएको कर्णाली प्रदेशमा काँगे्रसले बुधबार र बिहीबार बजेटलाई लिएर सभा बैठक सञ्चालन रोकेको हो।
काँग्रेसका नेता जिवनबहादुर शाहीले सरकारले नियतबस त्रुटी नै त्रुटीले भरिएको बजेट पुस्तिका जारी गरेको र त्यो सच्याउन माग गर्दा अटेरी गरेको देश सञ्चारसँग बताए। उनले भने,‘पैसा हिनामिना हुने गरी अस्पष्ट बजेट प्रस्तुत गरिएको छ।
जहाँ अनियमितता र भ्रष्टाचारको शंका छ। कार्यक्रम र ब्ययको तालमेल पटक्कै मिल्दैन।’ रातो किताब आर्थिक मामिला तथा योजना मन्त्रलायले जारी गरेको विषयमा पनि काँग्रेसको आपत्ती छ। शाहीले भने,‘ रातो किताब आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गर्ने होइन।
योजना आयोगले जारी गर्ने हो। योजना आयोगलाई त्यो काम नदिने हो भने खारेज गर्नु पर्छ।’ केही दिन अघि आफूले सभामा दर्ता गरेको कोरोना नियन्त्रणलाई लिएर सार्वजनिक महत्वको प्रस्तावलाई पनि थन्काइएको भन्दै शाही आक्रोश पोखे।
काँग्रेसले गत वर्ष पनि बजेटको त्रुटी सच्याउनुपर्ने माग गर्दै कर्णाली प्रदेश सभा अवरुद्ध गरेको थियो। कर्णाली प्रदेशसभा स्थापना भएयता काँग्रेसले ८ पटक सभा अवरुद्ध गरेको छ।
यता कर्णाली प्रदेश सरकारले हाल सम्म प्रस्तुत गरेका बजेटमा प्रायजसो प्रतिपक्ष काँग्रेसले विरोध जनाएको पृष्ठभूमि छ। यसो त कर्णाली प्रदेशले जारी गरेको बजेटमा सत्तापक्ष नेकपाका सांसदहरुलेनै असन्तुष्टी जनाएका छन्।
नेकपाका एक प्रदेशभा सदस्यले भने,‘ हामीले पनि बजेटको बिरोधको गर्नुपर्ने अवस्था आएको छ। राम्रो गृहकार्य गरेर बजेट नल्याउँदा यस्तो संकटका बेला सभा अवरुद्ध हुन पुगेको हो।