भारतबाट भित्रिने नेपालीको आर्तनाद (स्थलगत रिपोर्ट)

मन्दिरबाट समेत निकालिएका जगत कहिले पुग्लान् घर?

मन्दिरबाट समेत निकालिएका जगत कहिले पुग्लान् घर?
+
-

आँखाभित्रै गढेको छ। ख्याउटे शरीर र कुप्रो ढाड। सायद, अपांगताको सूचीमा पर्छन् उनी। धुलोले कपाल फुस्रो छ।

कपडा फोहोर। प्लास्टिकको झोलामा केही लत्ताकपडा बोकेका छन्। आफ्नो परिचय दिन थालेपछि उनी डाँको छोडेर रोए। ६ दिनदेखिका भोका। तिर्खा कति रहेछ भने दुई बोतल पानी एकै पटक सके।

भारतको मुम्बईस्थित एक होटलमा ६ महिना भाँडा माझ्ने र ६ महिना दैलेखको नारायण नगरपालिका २ स्थित घरमा आएर खेती गर्ने जगत रेग्मीको दैनिकीलाई कोरोना भाइरसको महामारीले बिथोल्यो।

काम छोडेर तत्कालै उनीले नेपाल आउने असफल प्रयास गरे। उनीसँग न पैसा थियो, न पहुँच। अन्ततः होटलबाट उनी निकालिए। स्थानीय मन्दिरको शरणमा पुगेका उनले एक छाकमा केही महिना दिन कटाए। मन्दिर पुजारीले पनि उनलाई निकाले।

बाँडा माझ्ने ठाउँमा भन्दा उनी मन्दिरमा बढी अपहेलित भए। यता श्रीमती, दुई छोराछोरी रहेको घरमा चुल्हो बल्न छोड्यो। अर्काको खेतबारीमा गर्दै आएको श्रम रोकियो। पैसा नहुँदा जगत परिवारसँग चार महिनादेखि सम्पर्कबिहीन छन्।

परिवारले के सोच्यो होला? दुई दिन सडकमै बसेका उनले मुम्बईस्थित नेपाली बसोबास गर्ने ठाउँमा गएर आफ्नो उद्धारका लागि याचना गरे।

सरकारले अन्य मुलुकसँगै भारतमा अलपत्र परेका नागरिक आउन दिने आफ्नो नीति खुकुलो बनाएपछि भारतबाट नेपाल आउने सवारी साधनको संख्या बाक्लियो। पाँचदिन अघि उनले मुम्बईबाट गौरीफन्टा आउने बसमा ठाउँ पाए।

जगत रेग्मी।

गौरीफन्टा छिरेपछि नियमअनुसार न उनलाई होल्डिङ सेन्टरमा पुर्‍याइयो, न कसैले सोधपुछ गरे। जगतसँग कर्णालीका अन्य दुई जना युवा पनि भारतबाट सँगै आएका थिए। स्वास्थ्यकर्मीले उनीहरुको ज्वरो नापेर नेपाल भित्रन दिए।

हारगुहार गर्दै गौरीफन्टाबाट बाँकेको कोहलपुरसम्म उनीहरु आउन सफल भए। त्यसका लागि अर्को एक दिन लाग्यो। कोहलपुर पुग्दा रात छिप्पिसकेको थियो। उनीरुका लागि त्यसदिन कोही पनि सहयोगी भेटिएनन्।

आफूलाई घर पठाउन सहयोग गरिदिनुहोस् भन्दै उनीहरु प्रहरीको शरणमा पुगे। तर प्रहरीले उनलाई वास्तै गरेन। खुल्ला चौरमा उनीहरु रात कटाए। लामखुट्टेले उनीहरुलाई टोक्नसम्म टोक्यो। अचाक्ली गर्मीमा उनीहरुले पानीसम्म पिउन पाएनन्।

भोलिपल्ट उनीहरु सहयोगकालागि स्थानीयको शरणमा पुगे। कोही मनकारीले उनीहरुको हातमा २ हजार थमाइदिए, अटोमा सुर्खेतसम्म पुग्नका लागि।

सुर्खेतको सीमानाका बबईमा आफूहरु रोकिने डर थियो। तर उनीहरु कसैको केरकारमा परेनन्। भारतका कैयौँ ठाउँमा प्रहरीले उनीहरुलाई लामै सोधपुछ गरेको थियो। कर्णालीमा हाल कोरोना भाइरसको संक्रमण उकालो लाग्नेक्रम रोकिएको छैन।

अधिकांश भारतबाट आउनेहरुमै संक्रमण पुष्टि भएको छ। बैंकमा कार्यरत कर्मचारीलाई समेत संक्रमण भएको छ। तर सीमानाकामा गम्भीरतापूर्वक जाँच गरिएको छैन।

जगत र उनीसँगै आएका अन्य युवा संक्रमित हुनसक्छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका छिर्ने मुख्यनाका सुब्बा कुनामा समेत उनीहरुलाई रोकिएन।

जगत रेग्मी।

सुब्बाकुनाबाट छिरेपछि जगतसँगै आएका सुर्खेत बाबियाचौर र जुम्लाका दुई युवा आफ्नो घरतिर लागेपछि एक्लै परेपछि जगत आफ्नो उद्धारका लागि अनुनय गर्न जिल्ला प्रहरी कार्यालय पुगे। केही प्रहरीले उनलाई सोधे, ‘नाकामा तपाईहरुलाई रोकेन?’ जगतले संक्षिप्त जवाफ दिए, ‘रोकेन। कसैले सोधेन।’

सुब्बाकुनाबाट सम्बन्धित जिल्लाका सम्बन्धित पालिकाले समन्वय गरेर बाहिरी जिल्लाबाट खासगरी भारत अन्य मुलुकबाट आएका यात्रीलाई सुरक्षित र व्यवस्थित लैजाने सरकारको निर्णय थियो।

निर्णय कार्यान्वय नभएको भए जगत र उनका साथीहरु सुब्बाकुनामा रोकिन्थे। र सम्बन्धित जिल्लाका पालिकाको समन्वयमा उनीहरु घर पुगेर क्वारेन्टिनमा बस्थे। जगतलाई अब कसैले रोक्ला भन्ने लाग्दैन। तर घर कसरी पुग्ने भन्ने ठूलो चिन्ता छ।

जगतको परिचय खुल्ने कुनै कागजात थिएन। उनी भारतबाटै आएका हुन त? उनको भनाईमा मात्रै विश्वास गर्ने अवस्था थिएन । जगतले आफूले झुट नबोलेको दाबी गरे।

बरु उनले आफ्नो बारेमा सत्यतत्थ्य बुझ्न आफ्नी हजुरआमाको फोन नम्बर दिए।  जगतबारे सोधपुछ गर्दा हजुरआमा फोनबाट रोहिन्। उनले भनिन, ‘जगत मेरो नाती हो। इन्डिया जाने आउनेगर्छ।महिनादेखि फोन गरेको छैन। कहाँ होला मेरो नाती? कोरोना लागेर मर्यो कि? घरमा बोल्न नसक्ने श्रीमती र छोराछोरीको बिचल्ली भएको छ।’

मैले जगत सुर्खेत आइपुगेको खबर जगतकी हजुरआमालाई सुनाएँ। र जगतले पनि आफ्नी हजुरआमासँग कुरा गरेर लामो श्वास लिए। हजुरआमा निकै खुसी भइन्। उनले राम्ररी घर पठाइदिनुहोस् भन्दै मेरो काँधमा जिम्मेवारी थमाइदिन्। मैले उनलाई पठाउनका लागि प्रहरीसँग समन्वय गरेर उनीहरुको जिम्मा लगाएँ ।

जगतको उद्धार भयो या भएन? भोलीपल्ट फलो गर्दा प्रहरीले त्यो दिन उनलाई सुब्बाकुनामै लगेर उनलाई र शुक्रबार मात्रै उनलाई दैलेख पठाएको प्रहरीले बतायो।  तर दैलेखस्थित जगतकी हजुरआमालाई फोन गरेर सोध्दा उनले जगत घर आइनपुगेको सुनाइन्।

जगत घर पुक्दै होलान् भन्ने आस छ।  जगत अब फर्केर भारत जान चाहन्नन्। तर उनले गाउँमा काम पाउने सम्भावना मुस्किल छ। गरिबीको मारमा परेको जगतसँग आफ्नो परिवारका सदस्यलाई बचाउन फेरि पनि भारत धाउनुको विकल्प छैन।

उनले भने, ‘म अपांगता भएको व्यक्ति हुँ। संघसंस्थाले सहयोग गर्ने आश्वासन सँधै दिए। तर कहिल्यै कसैबाट सहयोग पाइनँ। गाउँमा काम खोज्न जाँदा त अपांगले केही काम गर्न सक्दैनस् भन्दै हेला गरे। त्यसपछि म भारत जान थालेको हुँ।’ अब त जगतको उमेर पनि ढल्कि सकेको छ।

भारतबाट आएको भन्ने बित्तिकै केही महिना यसैपनि गाउँले तर्सिने निश्चित छ। त्यतिञ्जेल आफ्ना र परिवारका लागि उनले खानाको जोहो कसरी गर्लान्?

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष