
बुटवल–रुपन्देहीको बुटवल—भैरहवा ६ लेन सडकमा रहेका ३० वटा रुख अज्ञात व्यक्तिले फडानी गरेका छन् ।
तिलोत्तमा नगरपालिकाले ६ लेन सडकको डिभाइडरमा रोपेर हुर्किइसकेका स्टोनियाका रुख बिहीबार राती अज्ञात व्यक्तिले काटिदिएका हुन्।
मणिग्राम चोकदेखि उत्तर नयाँ मिलसम्म ३० वटा रुख काटेको र ती स्टोनियाका रुखहरु कसले किन काटेको भन्ने पहिचान हुन नसकेको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।
रुख काट्नेको पहिचान गरी हदैसम्मको कानुनी कारबाही गरिने नगर प्रमुख घिमिरेले बताए । बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले सडकका दायाँबायाँ डिभाइडरमा चार वर्षअघि स्टोनियाका बिरुवा लगाएको थियो ।
प्रतिबिरुवा ३ सय ५० रुपैयाँका दरले रोपिएका बिरुवाको संरक्षण भने तिलोत्तमा नगरपालिकाको अग्रसरतामा स्थानीय टोल विकास संस्थाहरुले गर्दै आएका थिए ।
यसअघि गत वर्ष साउन १ गते राती तिलोत्तमा ड्राइभरटोल–नयाँमिल खण्डको ६ लेन सडकको बीचको डिभाइडरमा राखिएका पाँचवटा बुद्धका मूर्ति फोडिएका थिए ।
ती मूर्ति फोड्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन ।