
बुटवल-नेकपानिकट केही विद्यार्थीहरुले पार्टीमा देखिएको विवाद समाधान गर्न दबाबस्वरुप प्रदेश ५ को पार्टी कार्यालयमा धर्ना दिएका छन्।
नेकपानिकट अनेरास्ववियुका केन्द्रीय सदस्य, जिल्ला सहसंयोजक र कार्यसमिति सदस्यहरुसमेतले बुटवलस्थित नेकपा प्रदेश ५ कार्यालयमा धर्ना दिएका हुन्।
अनेरास्ववियु र राष्ट्रिय युवा संघले आह्वान गरेको भनिएको धर्ना कार्यक्रममा नेकपा अध्यक्ष तथा केपी शर्मा ओली पक्षधरका युवाहरु भने सहभागी थिएनन्।
धर्नामा सहभागी युवाहरुले ‘ब्यक्ति होइन नीति, ब्यक्ति होइन पाटी’, ‘विधि पद्धति लागू गरौं, पार्टी एकता कायम गरौं’, ‘पार्टी एकता जिन्दावाद’ लगायतका नारा लोखेका प्ले कार्ड बोकेका थिए।
उनीहरुले पार्टीभित्रको विवाद सहमतिमा टुंगो लगाउन, पार्टीमा देखिएको द्वन्द्व समाधान गर्न माग गर्दै प्रदेश ५ का पार्टी कमिटि सदस्य नन्दीकिशोर ढकाललाई ज्ञापन पत्र बुझाएका छन्।
धर्ना कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य अमित खड्का, अनुप पोखरेल, लक्ष्मी केसी, रुपेश पौडेल, रुपन्देही जिल्ला सहसंयोजक विष्णु खत्री, सदस्यहरु बिशाल पाण्डे, हिमाल खनाल लगायतका विद्यार्थीहरु सहभागी थिए।
त्यस्तै नेकपाका युवा नेताहरु राजु गुरुङ, सरिता श्रीस, जितेन्द्र पुनलगायतको सहभागिता थियो । यसअघि पनि युवाहरुले बुटवलमा ओली नेतृत्वको सरकारलाई स्थायित्व दिनुपर्ने पक्षमा र भैरहवाको जिल्ला पार्टी कार्यालयमा ओलीइतरका युवाहरुले ओलीको एकपक्षीय प्रवृत्तिको अन्त्यको माग गर्दै धर्ना र प्रदर्शन गरेका थिए।