
बुटवल-नारायणी नदीमा पानीको बहाव बढेर खतराको तहसम्म पुगेसँगै नदी किनारका बासिन्दालाई सतर्क बनाइएको छ।
शुक्रबार दिउँसो २ बजे पानीको बहाव बढेर १० दशमलव ४५ मिटर पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले तटीय क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको हो । नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको र खतराको संकेत नजिक पुगेकाले सजग रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए।
गण्डक क्षेत्रमा पर्ने सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्र डुबानमा पर्ने जोखिम छ। सम्भावित दुघर्टनालाई मध्यनजर गर्दै जिल्लामा उद्धार र व्यवस्थापनका लागि सुरक्षाकर्मीलाई ‘अलर्ट’ अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए।
नहरमा पनि पानीको बहाव बढेकाले जोखिम बढ्दै गएको छ । गण्डक ब्यारेजका नेपाल सम्पर्क अधिकृत तारा सिंह थापाका अनुसार अहिले १ लाख ६५ हजारप्रति क्युसेक पानीको बहाव रहेको छ।
नवलपरासीका खहरे खोलाहरु झरही, तुरिया र पानभारमा पानीको सतह बढ्दै गएपछि नारायणीमा पानीको सतह बढ्दै गएको छ । खहरे खोलाहरुमा पानीको बहाव बढ्दै गएर नालाहरुमा पानी भरिएमा तटीय क्षेत्रका बस्ती र खेतीयोग्य जमीन डुबानमा पर्छन्।
पानीको बहाव बढ्दै गएमा गण्डक ब्यारेजका ढोका नखोलिए नेपाली भूभाग डुबानमा पर्छ। गण्डक ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने काम भारतीय पक्षले गर्ने भएकाले नेपालतर्फ डुबान हुन सक्ने जोखिम छ।
प्रमुख जिल्ला अधिकारी पाठकले गण्डक ब्यारेजका नेपाल सम्पर्क अधिकृतमार्फत भारतीय पक्षलाई जानकारी गराएको बताए ।