
बुटवल – बुटवलमा आधुनिक पशु बधशाला निर्माण हुने भएको छ। डेढ दशकअघिदेखि पहल थालेर केही काम भए पनि अलपत्र परेको बधशाला निर्माणको काम अघि बढेको हो।
बुटवल उपमहानगरपालिका–१० रामनगरमा बधशालाका लागि आवश्यक केही संरचना निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन।
करिब तीन बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक पशु बधशाला निर्माणका लागि ठेक्का सम्झौता भएर बुधबार शिलन्याश गरिएको छ।
बुधबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बधशालाको भवन निर्माणको शिलन्यास गरे। कोरोना भाइरसका कारण उत्पन्न संकटकै बिचमा नयाँ कामको सुरुवात गर्न लागेको भन्दै उनले बुटवललाई धन्यवाद दिए।
मुख्यमन्त्री पोखरेलले पशुपालन र मासुजन्य व्यवसाय एउटा महत्वपूर्ण उद्योगका रुपमा रहेकोले बधशालाले व्यवस्थित बजारीकरणको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
यसअघि निर्माण भएका सीमित संरचनाबाट आधुनिक बधशाला सञ्चालन हुन नसक्ने अध्येताहरुले निचोड निकालेपछि बुटवल उपमहानगरपालिकाले बधशाला निर्माण गर्ने भनिएको स्थलको प्राविधिक अध्ययन गराएको थियो।
सोही आधारमा नयाँ मापदण्डको बधशाला निर्माणको गुरुयोजना बनाएर सोहीअनुसार काम सुरु भएको हो।
नयाँ गुरुयोजनाअनुसार २२ करोड १३ लाख ३५ हजार ९९६ को लागतमा निर्माण गर्न ठेक्का सम्झौता भएको छ । काम सुरु भएको १६ महिनामा निर्माण सक्ने गरी सम्झौता भएको हो। श्री शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माणको ठेक्का लिएको छ।
२० वर्षअघि बधशाला निर्माणको पहल थालेर केही वर्षअघि एउटा टहरो मात्रै निर्माण भएपछि बधशाला सञ्चालन हुनसकेको थिएन। एउटा टहरो निर्माण भएर अलपत्र रहेको बधशाला स्थललाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी–साझेदारीे मोडलबाट सञ्चालन गर्न लागिएको हो।
नयाँ गुरुयोजनाअनुसार निर्माण सुरु भएको बधशालामा पहिलो चरणमा खसी र बोका मात्रै बध गर्न मिल्ने बनाइने छ।
दैनिक एक हजार खसी बोका बध गर्न मिल्नेगरी बधशाला बन्ने छ। यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उधान र बगैंचा निर्माण गरिने छ।
यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्नेगरी प्रशोधन गरिने छ।
बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सात करोड, बुटवल उपमहानगरपालिकाको तीन करोड गरी आर्थिक वर्ष २०७६÷७७ मा जम्मा १० करोड रुपैयाँ विनियोजन भइसकेको छ।
प्रदेश ५ सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेशनलले गरिरहेको छ।
यो बधशाला निर्माणको काम क्रमागत रुपमा बहुवर्र्षीय परियोजना जसरी सञ्चालन हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउँछन्।
परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा एक करोड २२ लाख, भवन निर्माण तथा सिभिलवर्कमा ६ करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा ६ करोड ६२ लाख, अन्य उपकरण तथा औजार तीन करोड ५७ लाख, संचालन पूर्व खर्च तथा कन्टिजेन्सी दुई करोड ९० लाख खर्च हुने प्रस्तावित बुटवल मासु प्रशोधन तथा उत्पादन केन्द्रको लागत विवरण रहेको उपमहानगरका वरिष्ठ इन्जिनियर एवम् उक्त परियोजनाका साइट इन्चार्ज इन्जिनियर गौतम रौनियारले बताए।
बधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबिच भएको सम्झौता अनुसार बधशाला निर्माण पश्चात उत्पादक किसानहरु र मासु व्यवसायीहरुले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले उक्त बधशाला सञ्चालन गर्ने छ।
उपमहानगरको आगामी विधान अधिवेशनमा निर्देशिका र ऐन निर्माण गर्नेगरी तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए।
बुटवल बधशालामा करिब १२ हजार खसी बोका उत्पादक महिला किसानहरु र ३०० जना मासु व्यवसायीहरु सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा. तीर्थराज रेग्मीले बताए।
परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यहरुबाट करिब ७ करोड तथा मासु व्यवसायीहरुबाट ३ करोड ७८ लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताए।
रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका २८ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुलाई संगठित गरी तीनवटा इन्भेष्टमेन्ट कम्पनी गठन गरि सकिएको बधशाला सञ्चालन समितिका सहसंयोजक तथा मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।