पीसीआर परीक्षण नगरी घर नजाने संक्रमितहरुको अडान

रोगभन्दा विभेदको भय

रोगभन्दा विभेदको भय
+
-

वीरेन्द्रनगर– बिहानको ९ बजे। साउन लागिसक्दा पनि उखरमाउलो गर्मी। प्रहरीको केरकार र कोरोना भाइरसको संक्रमणको त्रास कायमै रहे पनि वीरेन्द्रनगर बजारका मानिस आफ्नो दैनिकी ब्यूँताउन प्रयासरत देखिन्छन्।

बजार सकिनासाथ पूर्वपट्टि तोकिएभन्दा धेरै समय लगाएर निर्माण गरिए पनि लामो समयसम्म सञ्चालनमा आउन नसकेको सिटी बसपार्क। टेन्डर विवादले सञ्चालनमा आउन नसकेको उक्त बसपार्कमा एक महिना यता केही मानिसको चहलपहल छ।

तर, त्यो चहलपहल यात्रुहरुका कारण नभएर कोरोना संक्रमितहरुका कारण हो। एक महिनायता सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका कोरोना संक्रमितहरुका लागि त्यहाँ आइसोलेसन सञ्चालित छ।

तर आइसोलेसनको माहोल केही दिन यता मौसमजस्तै तातिएको छ। कारण त्यहाँ राखिएका संक्रमितहरुको विरोध र हड्ताल। आइसोलेसनमा राखिएकाहरु पीसीआर परीक्षण नगरी घर पठाउन थालिएको र त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै आन्दोलित भएका हुन्।

गत शुक्रबार आइसोलेसनमा रहेका संक्रमितले पीसीआर परीक्षणको माग गर्दै भोक हड्ताल नै गरे। भोक हड्तालका कारण पाँच जनाको स्वाब परीक्षण गर्न वीरेन्द्रनगर नगरपालिका बाध्य बन्यो।

भोक हड्ताल गर्नु अघिसम्म नगरपालिका १४ दिनसम्म आइसोलेसनमा बसेका र कुनै लक्षण नदेखिएका संक्रमितहरुलाई स्वाब परीक्षण बिनै घर पठाउने अडानमा थियो।

तर, संक्रमितहरुले परीक्षण बिना घर जाँदा समाजले दुर्व्यवहार गर्न सक्ने भन्दै बिना परीक्षण नजाने अडान लिए। नगरपालिकाले परीक्षणलाई निरन्तरता नदिएका बाँकी संक्रमितहरु भोक हड्तालमा उत्रिने निश्चित जस्तै छ। संक्रमितहरुको आक्रोश आइसोलेशन सेन्टरको व्यवस्थापनप्रति पनि हो ।आइसोलेसन सेन्टरमा परिणत गरिएको भवनको संरचना हेर्दा नै संक्रमितहरुको आक्रोशअस्वाभाविक लाग्दैन।

बसपार्कमा खाजा पसल सञ्चालनमा ल्याउन लस्करै निर्माण गरिएका साना कोठाहरु आइसोलेसनमा परिणत भएका छन्। झ्याल छैन। ‘भेन्टिलेसन’का नाममा सर्टरमाथि स-साना प्वाल छन्। ढोका सर्टर नै भयो। हरेक कोठामा झुलसहित एउटा खाट देखिन्छ। चर्को घाम लाग्दा होस् या निरन्तर पानी पर्दा संक्रमितहरु तनावग्रस्त बन्न पुग्छन्। घामले जस्तापाता रन्किन्छ। पानी पर्दा आवाज आउँछ। सर्टर बन्द गरे गर्मीले सुत्नसक्ने अवस्था छैन। सर्टर नलगाउँदा महिला संक्रमितको मन रातभरि चिसो भइरहन्छ।

आइतबार बिहान आक्रोशित र चिन्तित देखिने संक्रमितलाई सम्झाउन व्यस्त देखिन्थे वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य प्रमुख पर्शुराम खड्का। संक्रमितका गुनासा बढ्न थालेपछि खड्काले संक्रमितसँग बिदा मागे आफ्नो कार्यालय जाने समय भएको भन्दै।

तर संक्रमितको आक्रोश शान्त भएन। सेन्टरमा रहेका २७ जना संक्रमितहरुको समस्या र गुनासो एउटै छ। सरकारको विभेदकारी र अव्यवहारिक नियम, सामाजिक संरचना, त्यसको मूल्य मान्यता अनि आफ्नै आर्थिक हैसियतले पिरोल्नसम्म पिरोलेको छ उनीहरुलाई।आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरु रोगले भन्दा पनि समाजले गर्ने विभेद र व्यवहारबाट बढी त्रसित छन्।

सुरुमा संक्रमतिलाई पीसीआर परीक्षण नगरी घर नपठाउने गरेको सरकारले पछि विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दै संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर बिना परीक्षण घर पठाउने निर्णय गर्‍याे। कसैले परीक्षण गर्न चाहे बाटो खुल्ला भएको घोषणा गर्‍याे।

केहीदिन उक्त निर्णयको विरुद्धमा विज्ञहरु उत्रिए। तर सरकारको अडानका अघि उनीहरु थाके। सरकारको यही निर्णयलाई पालना गर्दै वीरेन्द्रनगर नगरपालिकाले स्वाब परीक्षण नगर्ने अडान राखेको सहजै बुझ्न सकिन्छ।

तर नगरपालिकाले सरकारको निर्णय कार्यान्वयन गर्दा संक्रमण फैलने जोखिमसँगै यसलाई समाजले के–कसरी लिन्छ भन्ने हेक्का नराखेको प्रष्ट हुन्छ। विशेषगरी संक्रमितहरुले परीक्षण नगरी घर जाँदा समाजले गर्ने व्यवहारका बारेमा नगरपालिका अनविज्ञ रहेको देखिन्छ।

श्रीमान्‌लाई कोरोना, श्रीमती मध्यरातमा डेराबाट निकालिइन्


उक्त आइसोलेसन सेन्टरमा रहेका संक्रमितमध्ये एकले आफ्नो नाम सार्वजनिक नै गरेर आफ्नो भोगाइ सुनाउन मन लागेको बताए।

दैलेख नौमूले गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका निर्मल बिक आमा, श्रीमती र तीन वर्षीय छोरालाई वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ मा डेरामा रोखेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए।

तर बिकको रोजगारीको समय अवधि सकिन मात्रै के पाएको थियो कोरोनाको महामारी फैलियो। कोरोनाका कारण साउदीमै चार महिना बिना रोजगारी बसेका बिक आफ्नै पैसामा वीरेन्द्रनगर आएपछि डेरामै १४ दिन क्वारेन्टिनमा बसे।

त्यसपछि उनले पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट ‘पोजेटिभ’ आयो। बिकलाई तत्कालै आइसोलेसनमा ल्याइयो। त्यसबारे सुइको पाएपछि राति १० बजे घरधनीले उनको परिवारलाई निकाले।

बिकले आइसोलेसनबाट तत्कालै दैलेखस्थित आफ्ना गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गरे। गाउँपालिकाका अध्यक्षले गाडीको व्यवस्था गरिदिएपछि बिकले १० हजार रुपैयाँ तिरेर परिवारलाई  घर पठाउन सफल भए।

बिक आइसोलेसनमा बसेको १० दिन भयो। दिन बित्दै जाँदा आफूले पीसीआर परीक्षण गर्न नपाउने हो कि भन्ने चिन्ता थपिएको छ उनमा। दुई दिन अघिको भोक हड्तालमा सामेल बिक आफ्नो पालामा पीसीआर परीक्षण गर्न नपाउने हो कि भन्ने चिन्तामा परेका हुन्।

कोरोना संक्रमित निर्मल बिक।

तपाईको पीसीआर परीक्षण नभए फेरि पनि भोक हड्ताल गर्नुहुन्छ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘गाउँमा फर्किँदा हामीलाई अपराधीको संज्ञा दिइन्छ। त्यस्तो आरोप झेल्नुभन्दा यहाँ पीसीआर परीक्षण गरौँ भन्ने चाहना हो।’

विदेशमा रोजगारी गुमाएका, डेराबाट समेत निकालिएका बिकलाई वर्षौदेखि छोडेको घरमा परिवार बसाल्न गाउँमा पुगेर त्यसै पनि ठूलो संघर्ष गर्नुपर्छ भन्ने हेक्का छ।

त्यसमाथि पीसीआर परीक्षण नगरी गएमा समाजले गर्ने तिरस्कार उनले कसरी झेल्न सक्लान्? ‘म कोरोनाका कारण होइन, समाजको व्यवहारबारे सोच्दा सोच्दा मरिहालेँ भने त्यसको जिम्मेवारी कसले लिने ?,’ बिक भन्छन्।

वास्तवमा बिकका लागि रोगभन्दा पनि विभेद चिन्ता छ। ‘आफ्नो कमाई खाने हामीलाई आफन्त, छिमेकी र समुदायको घृणा सहन गाह्रो भयो’, बिकको भनाइ छ।

संक्रमणपछि भैंसीको दूध बिक्री भएन, आम्दानीको स्रोत सुक्यो


आफ्नो नाम खुलाउन नचाहेका र संक्रमितको भिडमा उभिएका अर्का एक युवाको अनुहार पनि चिन्ताग्रस्त देखिन्थ्यो। कर्णालीमा भारतबाट आएकाहरुलाई मात्रै संक्रमण फैलिएको छ भन्दै सरकारका प्रतिनिधिहरुले बारम्बार भन्दै गर्दा लामो समयदेखि कृषि पेशा अपनाउँदै आएका ती युवाको रिपोर्ट ‘पोजेटिभ’ आयो।

बसाई टाढै भएका र नाताले भाइ पर्नेबाट आफूलाई कोरोना सरेको उनले अनुमान गरेका छन्। भारतबाट आएका ती युवाका भाइलाई उनले करिब २६ दिनपछि मात्रै भेटेका थिए। आरडीटी रिपोर्ट ‘नेगेटिभ’ आएको र पीसीआर परीक्षणका लागि स्वाब दिएपनि रिपोर्ट आउन ढिला गरेको अवस्थामा ती युवाले उनका भाइलाई भेटेका थिए।

ती युवाका भाइको पीसीआर रिपोर्ट ‘पोजेटिभ’ आउनासाथ उनको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गर्दा ती युवाको पनि रिपोर्ट ‘पोजेटिभ’ आयो।

रिपोर्ट ‘पोजेटिभ’ आएपछि उनी आइसोलेसनमा बसे। तर उता घरमा दैनिक बिक्री हुँदै आएको २० देखि २५ लिटर भैंसीको दूध खेर जान थाल्यो। त्यही दूध बिक्री गरेर परिवार धानेका ती युवाको आम्दानीको स्रोत सुक्यो। कोरोना फैलिएको घरको भैंसीको दूध नखाने भन्दै बजारमा बस्नेहरुले दूध किन्न छाडे।

‘मलाई संक्रमण कसरी फैलियो मलाई नै थाहा छैन। मलाई कोरोना फैलिएको थाहा पाएपछि मेरो घरको दूध किन्न छोडियो। जबकी परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएको छ।’

ती युवाले आफूहरुलाई परिवार, आफन्त मात्रै होइन गाउँका ठूलाबडाले हेर्ने दृष्टिकोण फरक भएको सुनाए।

‘१४ दिन आइसोलेसनमा बसेपछि कोरोना सर्दैन भन्छ सरकार। यहाँ २५ दिन क्वारेन्टिनमा बसेर आएका साथीहरुमा कसरी देखियो त कोरोना? पीसीआर परीक्षण नगरी घर जाँदा हामी मात्रै होइन परिवार नै त्रसित भइरहने र त्यसले निकै समस्या पार्ने देखिन्छ’, ती युवाले भने।

पीसीआर परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आउँदा पनि कामबाट बञ्चित


आइसोलेसनमा रहेका वीरेन्द्रनगरका अर्का एक संक्रमित कारोना पुष्टि भएर आइसोलेसनमा बसेपछि घर जाँदा पनि कोरोना छैन भन्ने पुष्टि गरेर पठाउनु पर्ने बताउँछन्। सात दिनदेखि आइसोलेसनमा बसेका उनले त्यहाँ तातो पानी र खाना मात्रै पाएको बताए।

उनी प्रश्न गर्छन्, ‘हामीमा भाइरस छ भने त्यसको उपचार गर्नु पर्दैन? हामीलाई हेर्ने स्वास्थ्यकर्मी खै? केही समस्या परेमा खै अस्पताल लैजाने एम्बुलेन्स?’

ती व्यक्तिले आफ्ना लागि सरकारले कति खर्च गर्‍याे भन्ने थाहा पाउन आवश्यक भएको बताए। ‘हाम्रो नाममा सरकारले कति खर्च गरेको छ? हामीलाई सूची चाहिन्छ। हामीलाई पहिले जर्बजस्ती १४ दिन थुन्ने अब सर्दैन भन्दै पठाउनु गैरजिम्मेवारी कुरा हो’, उनी भन्छन्।

कोरोना भाइरस संक्रमण भएपछि सबैभन्दा पहिले आफ्नै आत्मबल कमजोर हुने उनको अनुभव छ। उनी भन्छन्, ‘मेरो पूरा परिवार अहिले चिन्ताग्रस्त छ। परिवारमा क्षति पुगेको छ।’

ती व्यक्तिको पीसीआर पोजेटिभ आइसकेपछि उनको सम्पर्कमा रहेका परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ। तर उनकी छोरीको बाल क्लिनिकमा गर्दै आएको काम रोकिएको छ।

ती व्यक्ति भन्छन्, ‘मेरो छोरीको रिपोर्ट नेगेटिभ आइसक्यो तर उनलाई बाल क्लिनिकले काममा आउन मिल्दैन भनेको छ। कति विभेद छ यो समाजमा आफै पहिचान गर्नुहोस्।’

आफू रहेको आइसोलेसनमा भोक हड्ताल गरेपछि पाँच जनाको पीसीआर परीक्षण भएको तर त्यो पर्याप्त नभएको उनी बताउँछन्।

उनी भन्छन्, ‘भोक हड्ताल गरेपछि मात्रै पीसीआर परीक्षण गर्ने काम बन्द गर्नुपर्छ। देशभरी रहेका सबै संक्रमितलाई घर पठाउँदा पीसीआर परीक्षण गर्नुपर्छ। सरकारको अव्यवहारिक निर्णय हामीलाई चाहिँदैन।’

मकै पोलेर बेच्नेलाई कोरोना, पीसीआर परीक्षण नगरे घर पस्न पाइने छैन


कालिकोट स्थायी घर भएकी तर वीरेन्द्रनगरमा मकै पोलेर जीवन धानिरहेकी अर्की महिला सोही संक्रमितहरुको भिडमा थिइन्। उनलाई आफूमा संक्रमण कसरी फैलियो पत्तो छैन।

उनी भन्छिन्, ‘कसरी यो रोग लाग्यो मलाई थाहा छैन। अब के हुने हो त्यो पनि थाहा छैन।’

ती महिलाका परिवारका सबै सदस्य कालिकोटमै छन्।

उनका परिवारका सदस्य चिन्ताग्रस्त अवस्थामा छन्। ती महिलालाई आइसोलेसनमा पीसीआर परीक्षण नगरी घर नआउन परिवारका सदस्यले दबाब दिइहरेका छन्।

कोरोना संक्रमितका लागि राखिएको बिहानको खाना र पानी।

यता ती महिलालाई भने पीसीआर परीक्षणका लागि संघर्षमा उत्रिनु परेको छ। ती महिलाको डेरा नजिकै पुष्टि भएका अर्का संक्रमितको सम्पर्कमा आएका मानिसको पीसीआर परीक्षण गर्दा ती महिलामा पनि कोरोना पुष्टि भएको थियो।

‘सुर्खेतमा न मलाई सहयोग गर्ने कोही छ न मेरो कुरा कसैले सुन्छ। आफ्नो दुःख आफैमा थियो। त्यसमाथि यस्तो रोग फैलियो। दोष कसलाई दिउँ’, ती महिलाले भनिन्।

वास्तवमा विश्व स्वास्थ्य संगठनले १४ दिनपछि कोरोना संक्रमण सर्दैन भनेको छ। तर त्यसपछि पनि कोरोना संक्रमण पुष्टि भएका घटनाहरु छन्।

कोरोना भाइरस संक्रमण परीक्षणका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता सुरुवाती चरणमा सरकारबाट निकै आए।

संक्रमणकालिन अवस्था भन्दै अरु कामलाई प्राथमिकतामा नराखेको सरकारले नागरिकस्तरमा थपिएको यो त्रास, भ्रम र समस्या हटाउने दायित्व बिर्सन नमिल्ने संक्रमितहरु बताउँछन्।

उनीहरु भन्छन्, ‘किट छ, करोडौँ खर्च गरेर मेसिन ल्याइएको छ। तर जनशक्ति पनि थपिएको अवस्था छ। अनि हामी नागरिकलाई चिन्ताग्रस्त अवस्थामा पीसीआर परीक्षण नगरी घर पठाउने छुट सरकारसँग छैन?’

नगरपालिकाका जनस्वास्थ्य प्रमुख खड्काले सरकारको निर्णय कार्यान्वयन आफ्नो दायीत्व भएको बताए। तर संक्रमितमा उत्पन्न भयका कारण सरकार गम्भीर बन्नु पर्दैन? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीलाई चित्त त बुझेको छैन। तर स्थानीय तहलाई न त प्रदेश सरकारले स्रोत साधन उपलब्ध गराएको छ न त केन्द्र सरकारले। नागरिक सम्हाल्ने जिम्मेवारी भने हाम्रो काँधमा छ। कसरी गरौँ घर जानेबेला संक्रमितको पीसीआर परीक्षण?’

जबकि प्रधामन्त्री केपी शर्मा ओलीले एक महिनाअघि कोरोनालाई लिएर राष्ट्रका नाममा सम्बोधन गर्दा भनेका थिए, ‘कोरोना नियन्त्रणमा स्थानीय तहले निकै राम्रो भूमिका खेलेका छन्। उनीहरुको हामीले प्रशंसा गर्नुपर्छ।’

तर स्थानीय तहले कोरोना संक्रमितको माग पूरा गर्न के कति समस्या छ भन्ने विषयमा भने उनी जानकार रहेनछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?