
झापा– देशभर आत्महत्याका घटनामा बृद्धि भएका खबर आइरहँदा झापामा आत्महत्याका घटनामा उल्लेख्य कमी आएको छ।
देशभरमध्ये आत्महत्याका घटना धेरै हुने झापामा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा २३ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आइतबार जिप्रका झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका प्रहरी प्रमुख कृष्ण कोइरालाले गत आर्थिक वर्षमा आत्महत्याका घटनामा उल्लेख्य कमी आएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा जिल्लाभर २४७ वटा आत्महत्याका घटना भएका थिए।
त्यस्को अर्को वर्ष आत्महत्याका घटनामा १७ प्रतिशतले बृद्धि भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा २८८ वटा आत्महत्याका घटना भएका थिए।
गत आर्थिक वर्षमा २२३ वटा घटना भए जुन अघिल्लो आर्थिक वर्षभन्दा २३ प्रतिशतले कमी हो।
जिल्लाका १५ वटा स्थानीय तहमध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकामा आत्महत्याका घटना भएका थिए। मेचीनगरमा मात्र ४० जनाले आत्महत्या गरेका छन्।
भद्रपुरमा १८, दमकमा २३, कनकाईमा ८, अर्जुनधारामा ४, विर्तामोडमा १४, शिवसताक्षी ८ तथा गौरादहमा २० जनाले आत्महत्या गरेका छन्।
२२३ जनामध्ये २०० जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। त्यस्तै २० जनाले विष खाएर र ३ जनाले घाँटी रेटेर आत्महत्या गरेको उनले बताए।
आत्महत्या गर्नेको उमेर समूहमा १८-२५ वर्ष उमेर समूहका मानिसहरूको संख्या ज्यादा रहेको जिल्ला प्रहरी कार्यालय झापाले तथ्यांकले देखाएको छ।
झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले मुद्दा दर्ता, भौगोलिक क्षेत्र अनुसार मुद्धा दर्ता, यौनजन्य सम्बन्धी अपराध, लागुऔषध सम्बन्धी अपराध, ठाडो उजुरी, अवैध चोरी तस्करी नियन्त्रण, महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, नगरपालिका तथा गाउँपालिकाको न्यायिक समितिमा परेका उजुरीको विवरण, सवारी दुर्घटना तथा ट्राफिक व्यवस्थापन र फैसला कार्यान्वयनका बारेमा अघिल्लो वर्षसहितका विवरणका आधारमा समिक्षा गरेका थिए।
कोइरालाले तीन वर्षमा ४ हजार ३ सय २१ वटा मुद्दा दर्ता भएको जानकारी दिए। तीन वर्षको तथ्याङकमा गएको आवमा मुद्दा दर्ताको संख्या घटेको हो।
कोभिड–१९ को रोकथाम तथा न्यूनिकरणको लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालन गरिएका सचेतनामुलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा बृद्धि, प्रहरीको सक्रियता आदिका कारण मुर्दा दर्ताको संख्या घट्दै गएको उनले बताए।