
झापा – मेची प्रादेशिक अस्पताल भद्रपुर झापामा साउन १५ गतेदेखि कोरोना भाइरसको आरटी पीसीआर परीक्षण सुरु हुने भएको छ।
स्वीस सरकारले आरटि पिसिआर मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको परीक्षण मेची अस्पताल भद्रपुरमै सुरु हुने भएको हो।
यस अघि झापामा संकलन गरिएका स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको कोशी अस्पताल तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पुर्याउनु पर्थ्यो।
प्रदेश सरकारले शुक्रबार मात्र झापाका प्रदेश सांसदहरूलाई मेसिन हस्तान्तरण गरेको थियो। मेसिन अस्पताल आइपुगेपछि जडान कार्य सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ।
उक्त अस्पतालले प्रयोगशालामा काम गर्नका लागि ४ जना जनशक्ति तयारी अवस्थामा राखेको र दुईजनाका लागि आवेदन आह्वान गर्ने जनाएको छ।
अस्पतालका मेडिकल सपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार ती जनशक्तिलाई परीक्षणको तालिमका लागि विराटनगर पठाइने छ।
उनले भने, ‘मेसिनका लागि एउटा सानो सामान काठमाडौँबाट आउँदैछ। त्यो आइपुग्ने वितिक्कै परीक्षण सुरु भइहाल्छ।’
अस्पतालमा स्थापना गरिने कोरोना भाइरस संक्रमण परीक्षण कक्षको झापाका प्रदेश सांसदहरुले शनिबार अनुगमन गरेका छन्।
सांसदहरु बसन्त बानियाँ, झकसिंह दर्लामी, ओम सरावगी, एकराज कार्की, पूर्णसिंह राजवंशी, भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रा श्रेष्ठ लगायतले अनुगमन गरेका हुन्।
अस्पताललाई प्राप्त मेसिनबाट एक पटकमा ९० वटा स्वाव नमूनाको परिक्षण गर्न सकिने बताइएको छ।