
बुटवल – कपिलवस्तुमा एकसाथ ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये १३ जना समुदायस्तरका
अरु विदेशबाट आएर क्वारेन्टिन बसेका व्यक्ति हुन्। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार उनीहरु सबै शिवराज नगरपालिकाका हुन्।
योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ। मंगलबार पुष्टि भएकामध्ये २८ जना पुरुष र ६ जना महिला हुन्।
तीमध्ये भारतबाट आएका १२ जना, संयुक्त अरब इमिरेट्स (दुबई) बाट आएका ४ जना, कतारबाट आएका ३ तथा साउदी अरेबियाबाट आएका २ जना हुन्।
बाँकी १३ जना समुदायका हुन्। थापाका अनुसार प्रदेश ५ सरकारको कार्यक्रमअनुसार समुदायस्तरमा गरिएको नमूना परीक्षणका क्रममा यी व्यक्तिमा संक्रमण देखिएको हो।
शिवराज नगरपालिकाका विभिन्न स्थानबाट ८४ जनाको स्वाब लिइएकोमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
समुदायस्तरका पोजेटिभ आएकाहरुमा ११ जना पुरुष र २ जना महिला हुन्। यसमध्ये ३ जना शिक्षक, एकजना वडा कार्यालयकी सचिव र उनका श्रीमान् रहेका छन् भने अरु किसान र गृहणी हुन्।
जिल्ला स्वास्थ्य कार्यालयले कपिलवस्तुमा पहिलो चरणमा ३ सय जनामा समुदायस्तरबाट स्वाब लिएर परीक्षण गर्ने थापाले जानकारी दिए।
कार्यालयले कृष्णनगर क्षेत्रमा खटिएका प्रहरी, यसोधरा गाउँपालिकामा समुदायस्तरमा परीक्षण गर्ने बताएको छ।