
झापा- चियाको हरियो पत्तीको मूल्य करिब दुई महिना अघिको तुलनामा दोब्बर बृद्धि भएको छ।
तराईमा उत्पादित सिटिसी चियाका लागि चाहिने हरियो पत्तीको मूल्य आकाशिएको हो।
झापामा अहिले हरियो पत्ती प्रति केजी ३५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
सीटीसी चियाका लागि चाहिने चियाको हरियो पत्तीले पाएको यो मूल्य अहिलेसम्मकै उच्च हो।
कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको चिया उद्योगी आदित्य पराजुली बताउँछन्।
बर्षाको समयमा हरियो पत्तीको मूल्य कम हुन्छ हुने गर्छ। तर यो बेला हरियो पत्तीको मूल्य अहिलेसम्मकै उच्च हो।
साउन महिनामा हरियो पत्ती बढी उत्पादन हुने भएकोले किसानले हरियो चिया पत्तीको खासै मूल्य पाउने गरेका थिएनन्। यही बेला किसानले हरियो पत्तीको मूल्य करिब १७ रुपैयाँ पाउने गर्थे।
किन बढ्यो चिया पत्तीको मूल्य?
नेपाल उत्पादित हरियो चिया पत्तीको मूल्य बढ्नुमा धेरै कारण रहेको चिया उद्योगीहरूको भनाइ छ। उनीहरूका अनुसार चियाको उत्पादित ह्रास आउनु नै पत्तीको मूल्य बढ्नुको मुख्य कारण हो।
पराजुली टि इन्डस्ट्रिजका प्रोपाइटर आदित्य पराजुलीका अनुसार यो बर्ष चियाको उत्पादनमा कम्तीमा ४० प्रतिशत गिरावट आएको छ। उत्पादनमा गिरावट आउने वितिक्कै हरियो पत्तीको मूल्य बढ्नु स्वाभाविक भएको उनको भनाइ छ।
पराजुलीले भने, ‘मेरो एउटा फ्याक्ट्रीमा दिनमा करिब ८० हजार केजी चिया पत्ती आउँथ्यो। अहिले २५ देखि ३० हजार केजीमा चित्त बुझाउनु परेको छ।’
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले पनि चियाको उत्पादनमा गिरावट आएको उनको भनाइ छ।
लकडाउनका कारण करिब दुई महिना बगानमा काम नहुनु तथा चियाका गाछ काट्नुले चियाको उत्पादनमा कम्तीमा ४० प्रतिशत गिरावट आएको पराजुलीले बताए।
उनका अनुसार सँधैको अनुपातमा यस बर्ष ज्यादा बर्षा हुनु पनि चियाको उत्पादनमा गिरावट आएको हो।
भारतमा पनि उत्पादनमा गिरावट
नेपालको चियाको बजार भारत नै हो। नेपालमा उत्पादित तयारी चियाको बजारको अधिकांश हिस्सा भारत हो।
तर भारतमा पनि यस बर्ष कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण उत्पादनमा व्यापक गिरावट आएको पराजुलीले बताए।
अहिले नेपालमा उत्पादित चियाको भारतमा माग बढेको चिया उद्योगी तथा निर्यातकर्ताहरू बताउँछन्।
हरियो चिया पत्तीको मूल्य बढेका कारण तयारी चियाको मूल्य पनि बढ्ने चिया व्यवसायीहरूको आँकलन छ।