
श्वासले डोर्याएको सँग्लो शरीरको डल्लो
अँध्यारोमा ओथारो बसेर
सुन्तलाका केस्रा केलाउँदै
ल्वाङ टोक्दै
जूनीलो दुधले सम्झना नुहाइरहेछ ।
एक्लो हुनुको नित्यतामा आफैँलाई भेटाउँछ
प्रेमको पछ्यौरा ओढ्नलाई चिसो निन्द्रा छोडाउँछ
सुस्केरा टेकेर पर्खाइका हिमशिखर उक्लन्छ ओर्लन्छ
धर्म दर्शनको अलौकिक दंश कहिल्यै जीवनमा आएको छैन
चुइगम चबाउँदै घाम हेरेर हाँसिरहेको हुन्छ
लेऊ खाउ फेरि ल्वाङ र पार स्वाङ
कालो कफीले हृदय कुल्ला गर
केरालाई तर्साउन तिमी मेवा नरोज
केवल रमाएर खाऊ, स्वाद लिईलिई खाऊ
जिब्रोको जवानी निख्रने बेलासम्म धित मारेर खाऊ
लेऊ लिची भित्री बिजको अनुभव गर
आरुका फुल हेरेर फलको आसा गर
आउने पारिलो याममा तिमी फूलको सम्झनामा
फल खाएर बीऊ फाल्नु जो छ
पवित्र गोडाले हिँडेका गुलाबी चार बसन्तमा
केवल मोहक फूलको घनघोर बर्षामात्र हेरिरह्यौँ
लालीगुँरास राष्ट्रिय फुल भएको देशमा विश्वफुल गुलाफ रोज्यौँ
बिर्सियौँ हिलोमा फूलेको कमल हेर्न
चियामा घुलेको गुड खोज्दै जाँदा आफ्नो असली गुँडमा पो पुग्यौँ
के खोज्यौँ ? के पायौँ ?
जे रोज्यौ त्यही सम्पती तिम्रो
रङ्गीन कलमले लेखेका उही साजसज्जाका अक्षरहरु
कहिले रातमा पढ्यौ कहिले दिनमा सह्यौ
बिशंखुनारायणको थुम्कोलाई वाद्ययन्त्र मान्यौँ र बजायौँ
सुन्यौँ त्यो धुन जुन धनबर्षा बनेर शरीरमा छिटाएको थियो
सुन्यौँ त्यो घमाइलो खुँदो घर्षण
जुन गुफाको कापमा पलाएको थियो ।
बिस्तारित हरियो पहाडी कार्पेटमा फलेको मनमौजी बाली
बिष्टगाउँका इष्टले भन्दा पहिले सम्याउन तयार होऊ
घुमाउँरो बाटोमा बिछ्याएका सोझा धर्साहरु
मान तिम्रो हत्केलाका रेखाहरु हुन्
आउने यामको संकेतलाई सम्हालेर बसेका छन्
प्रिय गोडाको गोडमेल गर्दैगर्दा हात हेर्न नबिर्स।
सिरानको डाँडोमा जुन हेरेर ध्यान गर्ने जुना माँ छिन्
हेमलतिकासँग बेरिएकी
मनुष्यआत्माबाट बैरिएकी, पौरख छाडी पारखतर्फ नुहेकी
नुनिलो आसाका चानामा गुलियो ध्यान मिसाउँन पर्खिरहेकी
उठाउ शिर र हेर सूर्यदेवको प्रथम प्रहर
र अन्तसमा पसाऊ दिनान्तको गोधुली सार
भगुवा भगवानबाट भागिरहेका बखत भगवत्तामा स्थिर होउ
आफैँलाई रोज आफैलाई खोज
समुन्द्रको छाल फाल, थोपालाई नपर्ख
थोपामा समुन्द्र हेर
नुनिलो आसा सँगाली राख्
नुनशिखर पग्लनुपहिले
बोधीबृक्षमा सुरेली हान्नु पहिले
आऊ एकपल्ट जीवनगीत गाऔँ ।
गणेशथानको काखमा पूजाको सामग्री तयार पार
एकचोटि होइन हरेक पूजाको निम्ति गणेशको शरण पर
थाहा छ तिमीलाई महादेवको महासाथी
काठको गोलिया बिछ्याएर आकाशको कुरा गर्छ
पृथ्वीमा चटपटे कुराहरु धेरै हुन्छन्
मान्छे बन र स्वाद लेऊ ती सबको
ज्यूनार गर गाँजाका जब तिमीलाई कोही गाँजिरहेको जस्तो भान हुन्छ
सिगरेट सल्काऊ जब तिमीलाई कोही बाल्न आइरहेको छ जस्तो लाग्छ
सोमरस घुट्काऊ यदी तिमीलाई लाग्छ रातमा घर फिर्ने फिक्री छैन भने
थोरै इर्ष्या, थोरै घमण्ड, थोरै रिस साध
र क्षणिक मृगरुपी उत्तेजनामा डुब ।
तिमीलाई थाहा छ पीपलको रुखमुनि आई कराई
बचेरालाई चारो खुवाउने कौवाको मन कति निर्मल छ
तिमीलाई थाहा छ जङ्ल सोसेर निस्केको मधुरो मुहानपोखरी
कसरी छाँगो बनेर तिम्रो मनमा पस्यो
श्रीवनको मनोरम दृश्यमा एकाकार भई कुहिरोसँगै थामियो
सङ्गाल ती सब पृथ्वीइतरका रागलाई
र मान प्रकृति आम मनमौजी मान्छेका लागि बौलाहा भाषा हो
अनि ठान् त्यसको सौन्दर्य वर्णन गर्ने कुनै कवि मात्र स्त्रीलम्पट हो
वा अर्को एक बौलाहा साइकोपाथमा हिँडिरहेको छ
हो, अब जान् तिम्रो आँखा र स्पर्शको किनाराबाट बहने सरिता
र हृदयको चेपवाट चियाउने चरु एकै होइनन् ।
जसरी तिमी हुनुको व्यर्थता छ
त्यसरी नै मेरो व्यर्थता मौलाइरहेको छ
र त हामी अर्थ खोज्न उद्देश्यहीन भई गुडिरहेका छौँ
नुनिलो आसाको झोला बोकेर।
नुतनकालीन् राधाको प्रेम पाउँन भौतारिरहेकी
यौवनाको दुखेसोको पोकोमा
यो अर्को पानीपुरीको गोलो
नमुचा अर्थात एउटा नुनीलो आसा
आफैँले आफैँसित बोलिने निजी भाषा
आममान्छेको भाषाभन्दा फरक तर उही अन्तर्य बोकेको
बाचाल भाषा जो भागमा परीआयो र बर्षा परिरह्यो
चट्याङ चड्किरह्यो
फूल फक्रिरह्यो।