
झापा- जिल्ला प्रशासन कार्यालय झापाद्वारा झापाका बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका लागि निषेधाज्ञा जारी गरेको छ।
शुक्रबार सूचना प्रकाशित गर्दै जिल्ला प्रशासनका कार्यालय झापाले गौरीगञ्ज गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडामा र बुद्धशान्ति गाउँपालिकाका सबै वडाका लागि निषेधाज्ञा जारी गरेको हो।
गौरीगञ्ज गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडामा पूर्वमा वडा नं २ को किस्ने खोला, पश्चिममा मोरङ जिल्ला जोडिएको रतुवा खोला, उत्तरमा गौरादह नगरपालिकाको सिमाना र दक्षिणमा भारतको सीमा क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ।
कोरोना भाइरसको सङ्क्रमण समुदायमा देखिएका कारण ती क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
गौरीगञ्जका लागि अर्को सूचना जारी नभएसम्म तथा बुद्धशान्तिका लागि भदौ ९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ।
निषेधाज्ञाको अवज्ञा गरे संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको सूचनामा जनाइएको छ।