
झापा- प्रदेश १ मा सञ्चालनमा आएका चारवटा आरटी पिसिआर प्रयोगशाला भए पनि विभिन्न स्थानीय तहका सम्भावित संक्रमितहरूको स्वाब नमूना प्रयोगशालामा पुर्याएको करिब एक सातामा मात्र रिपोर्ट प्राप्त हुने गरेको छ।
प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरका कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र झापाको मेची अस्पतालमा पिसिआर परीक्षण हुने गरेको छ।
तर ‘जति भाँडो त्यति चुबुर्को’ भनेजस्तै ६/७ दिनमा मात्र रिपोर्ट प्राप्त हुँदा संक्रमित व्यक्तिले अन्य केही स्वस्थ व्यक्तिलाई कोरोना भाइरसको संक्रमण सार्ने बलियो संभावना हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।
रिपोर्ट ढिलो आउँदा क्वारेन्टिन व्यवस्थापन गर्न धेरै गाह्रो हुने झापाको हल्दीबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौला बताउँछन्।
उनले भने, ‘रिपोर्ट ढिलो आउँदा गाली खानुपर्ने अवस्था छ। त्यति मात्र नभएर साधन स्रोतमा धेरै खर्च हुन्छ।’
प्रयोगशालाहरूमा धेरै स्वाब नमूना थुप्रिने भएकाले पनि समयमा रिपोर्ट नआउने गरेको स्वास्थ्यकर्मीहरूको बुझाइ छ। कुनै स्थानीय तहले एकै दिनमा ३ सय स्वाब नमूनासम्म संकलन गरेर प्रयोगशाला पठाउने गरेका छन्।
निरौला भन्छन्, ‘जनसंख्या, जोखिम, संक्रमणको दरलाई मूल्यांकन गरेर साताको एक दिन कुनै स्थानीय तहलाई कोटा छुट्याउँदा राम्रो हुने देखिन्छ।’
झापाको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीका अनुसार झापाका स्वाब नमूना धरान र विराटनगरका प्रयोगशालाले लिनै मानिरहेका छैनन्।
धरान तथा विराटनगरका प्रयोगशालाले मेची अस्पतालको प्रयोगशालामा लैजानु भन्ने गरेको अधिकारीले बताए।
उनले भने, ‘हिजो ९५ जनाको स्वाब नमूना लिएर विराटनगर गएँ। त्यहाँ लिन नमानेपछि धरान गएर अनुरोध गरेपछि मात्र स्वाब लिए।’
मेची अस्पतालको प्रयोगशालाले ढिलो रिपोर्ट दिने गरेको स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरू बताउँछन्। उक्त अस्पतालले नेगेटिभ रिपोर्ट त्यहीँबाट दिने तर पोजिटिभ आउनेहरूको भने भेरिफाइका लागि धरान पठाउने गरेको छ।
स्वाब दिएका मानिसहरूको रिपोर्ट ढिलो आउँदा समुदायमा कोरोना भाइरसको संक्रमण तीब्र भइरहेको अधिकारीले बताए।
उनले भने, ‘मेचीनगर नगरपालिकाले लिएको स्वाब नमूनाको रिपोर्ट आज आयो। एकजना बैंकका कर्मचारीमा संक्रमण देखियो। उनी बुद्धशान्तिबासी हुन्। तीजको रमाइलोमा कतिजनालाई संक्रमण सर्यो। रिपोर्ट छिटो आइदिएको भए त्यो जोखिम त हुने थिएन।’
झापाबाट संकलित ६ सय ५० स्वाब नमूनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागााईंले जानकारी दिए।