
झापा – झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा कार्य क्षेत्र भएको एउटा वित्तीय संस्थाका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखियो।
केही दिन अघि सप्तरी गएर आएका ती संक्रमित पुरुषलाई आइसोलेसनमा त लगियो तर उनीसंग सम्पर्कमा रहेका मानिसहरूको लर्को निकै लामो थियो।
शुक्रबार उनीसँग सम्पर्कमा रहेका ८८ जना स्थानीयबासीको स्वाब नमूना संकलन गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षणमा पुर्याइएको बुद्धशान्ति गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले जानकारी दिए।
त्यस्को केही समय अघि एकजना संक्रमित चिकित्सकको सम्पर्कको लर्कोले गाउँपालिकालाई निकै टाउको दुखाई भएको थियो।
मेचीनगर नगरपालिकाले नगर क्षेत्रका बैंकका कर्मचारीको पनि स्वाब नमूना लिएर परीक्षण गरेको थियो। शुक्रबार प्राप्त रिपोर्टमा बुद्धशान्ति गाउँपालिकाकी बासिन्दा ती कर्मचारीमा संक्रमण देखियो र आइसोलेसनमा लगियो।
तीजको नाचगान भन्दा अघि दिएको स्वाब नमूना नाचगानपछि रिपोर्ट पाएपछि अब ती बैंकका कर्मचारीसंग नाचगान तथा दर खाने कार्यक्रममा सहभागी सबैको पिसिआर परीक्षण गर्नुपर्ने अवस्था आएको अधिकारी बताउँछन्।
त्यस्तै झापाको दमकको एक चल्तिको फार्मेसी तथा क्लिनिकका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। दमक फार्मेसीका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो।
दैनिक सयौको संख्यामा मानिस आवतजावत हुने गरेको फार्मेसीका मानिसमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा समस्या हुने देखिएको छ।
गत आइतबार विर्तामोड नगरपालिकाका दुई जना महिलामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखियो। उनीहरूको मेची अस्पताल भद्रपुरमा स्वाब परीक्षण गरिएको थियो।
विर्तामोड नगरपालिकाले उनीहरूको सम्पर्कमा रहेकाहरूको खोजी गर्दै भोलि मंगलबार पीसीआर परीक्षणका लागि स्वाब लिने तयारी गरेको छ।
उक्त सुन चाँदी पसल रहेको रत्न सुपर मार्केट आइतबार नै सिल गरिसकिएको छ। तर उनीहरूसंगको सम्पर्कमा रहेका मानिसहरूको जालो केलाउन भने निकै सकस परिरहेको छ।
केही दिनअघि मात्र विर्तामोड नगरपालिकामा गरिएको लकडाउन खोलिएको थियो। लकडाउन खोलिएपछि सबैले व्यवसाय निर्वाध सञ्चालन गर्दै आएका थिए। तर यति कुरा भन्नै पर्छ, स्वास्थ्य सुरक्षाका उपाय अपनाउन कोही इमान्दार देखिएनन्। फलस्वरुप फेरि पनि विर्तामोड नगरपालिकाले समुदायमा कोरोना संक्रमणको त्रास भोग्नु पर्नेछ।
विर्तामोड नगरपालिकाका स्वास्थ्यकर्मीका अनुसार दुई महिला संक्रमित विर्तामोडका निजी अस्पताल तथा फार्मेसीमा गएर एकजना नाम चलेका फिजिसियनसंग भेटेका थिए।
केही दिन बजरंग मेडिकलमा एकजना संक्रमितले उपचार गराएर उक्त औषधि पसल सिल गरिएको र सबैको पीसीआर परीक्षणको घटना सेलाउन नपाउँदै पुनः अर्को फार्मेसीमा लफडा आइलागेको छ।
दुई संक्रमित पुगेको अस्पतालका कर्मचारी सबैको पीसीआर परीक्षणका लागि तयारी थालिएको विर्तामोड नगरपालिकाले जनाएको छ।
ज्वरो तथा खोकी लागेर चिकित्सक तथा निजी अस्पतालमा जचाउन जाँदा उपचार नपाएपछि उनीहरू मेची अस्पताल पुगेका थिए। अस्पतालले पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो।
लकडाउन खुलेपछि उनीहरू कहाँबाट कसरी संक्रमण सर्यो भन्ने कुरा नै पत्ता लगाउन गाह्रो भएको छ। नगरपालिकाले भोलि मंगलबार करिब १ सय ५० जनाको स्वाब लिने तयारी गरेको छ।