
झापा- झापाको मेचीनगर नगरपालिका १३ चारआलीका राजन दर्जी केही दिन क्वारेन्टिनमा बसेका थिए।
मादक पदार्थ सेवन गर्ने गरेका उनलाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गरेपछि घर जान अनुमति दिइएको थियो।
त्यसपछि उनी घर आए। तर घर आएपछि उनले छिमेकीले दिएको मानसिक यातना भोग्नु पर्यो। छमेकीले दर्जीलाई भने, ‘ए दमाई, कोरोना लिएर आइस्! हामीलाई सार्लास् नि कोरोना।’
सोमबार उनी चारआलीको एउटा होटलमा झोल मःमः र रक्सी पिएका बेला त्यही होटलका घर धनीले उनीमाथि हमला गरेका थिए। उनी भागेर घर पुगे।
उनका घरमा बस्ने सागर खाती र उनकी श्रीमती चन्द्रकला लामगादेले ती होटलका घर धनीलाई ‘किन यस्तो व्यवहार गर्नुहुन्छ’ भन्दा दुईजनालाई नै अपशब्ध बोल्दै जाइलागेको चन्द्रकलाले बताइन्।
कुटपिट गरिएकी ७ महिनाकी गर्भवती चन्द्रकलाको झापाको विर्तामोडमा रहेको बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
कुटपिटमा संलग्न मेचीनगर १३ चारआलीका दुर्गा श्रेष्ठ र विष्णु प्रधान रहेको प्रहरीले जनाएको छ।
कुटाइ खाने सागरको शरिरभरि निलडाम छ। उनकी श्रीमती चन्द्रकला नेपाल प्रहरीकी जवान हुन् भने एथ्लेटिक्सकी खेलाडी पनि हुन्।
मुद्दा दर्ता
जातीय भेदभाव गर्दै कुटपिट गरेको आरोपमा दुर्गा श्रेष्ठ र विष्णु प्रधानविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेको छ।
उनीहरुविरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाईमा उजुरी दर्ता भएको हो।
कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवा निवृत्त भएका हुन्। उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन्।
कोरोना संक्रमण बढेका कारण गर्भवती उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा हाजिर गर्ने गरी प्रहरी मुख्यालयले काज बिदामा राखेको थियो।
सोही क्रममा उनी मेचीनगर–१२ चारआलीमा बस्दै आएकी थिइन्।