
झापा– बुधबार साँझ सशस्त्र प्रहरीको गोली लागेर एकजना स्थानीयबासीको मृत्यु भएको विरोधमा बिहीबार झापा गाउँपालिकाको कामाटोली बजारमा स्थानीयबासीले प्रदर्शन गरेका छन्।
झापा गाउँपालिकाको कटुवामारीमा गोरु काटेको आरोपमा २ जनालई प्रहरीले पक्रने क्रममा भएको विवादमा प्रहरीले गोली चलाउँदा ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो।
आलमको मृत्युको विरोधमा स्थानीयबासीले झापाको कामाटोलीमा टायर बालेर प्रदर्शन गरेका हुन्।
मृतकको शव भने विर्तामोडको बिएण्डसी अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
थापाका अनुसार शव उठाउने र घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय झापामा छलफलको तयारी भइरहेको छ।
स्थानीयबासीले दोषीलाई कारबाही र मृतकका परिवारलाई राहत मागेका छन् ।
गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरीले पक्राउ परेका अब्दुल सलाम र ताजबुल हकलाई छाडेको छ।