
झापा– सशस्त्र प्रहरीको गोली लागेर एकजना स्थानीयबासीको मृत्यु भएपछि विरोधमा उत्रेका झापा गाउँपालिका कामाटोलीका बासिन्दा तथा पीडित पक्षका माग सम्बोधन गर्ने प्रशासनको सहमतिपछि झापा गाउँपालिका ३ का रफिक आलमको शव अस्पतालबाट आफन्तले उठाएका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा भएको वार्तामा पीडित पक्षको माग सम्बोधन गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृतक आलमका परिवारलाई न्यूनतम १० लाख रुपैयाँ क्षतिपूर्ति दिनका लागि प्रदेश तथा संघीय सरकारसंग अनुरोध गर्ने, घटनामा दोषी देखिएमा सुरक्षाकर्मीलाई विभागीय कारबाही गर्ने, किरिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउन झापा गाउँपालिका कार्यालयलाई अनुरोध गर्ने, मृतकका छोराछोरीको पठनपाठनका लागि संघीय र प्रदेश सरकारसँग पहल गर्नेलगायतका निर्णय भएपछि आलमको शव उठाउन आफन्त राजी भएका हुन्।
घटनाको छानविनका लागि गृह मन्त्रालयले झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। सो समितिले घटनाको छानविन गरी सुरक्षाकर्मी दोषी देखिएमा कारबाहीका लागि सिफारिस गर्ने जनाइएको छ।