
झापा- झापाको विर्तामोड नगरपालिका क्षेत्रमा चल्ने अटोरिक्साका चालकहरूको कोरोना भाइरस संक्रमण परीक्षण गर्ने नगरपालिकाले तयारी गरेको छ।
पीसीआर परीक्षणका लागि बिहीबारदेखि पाँच दिन अटोरिक्सा चालकहरूलाई नगरपालिकाले होम क्वारेन्टिनमा राखेको छ।
अन्य यातायातका साधन बन्द भए पनि अटो सञ्चालनमा आइरहेकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै नगरले अटोरिक्सा चालकको पीसीआर परीक्षण गराएर मात्र सञ्चालन गर्न दिने जनाएको छ।
परीक्षणको रिपोर्ट नेगेटिभ आए मात्र अटो सञ्चालन गर्न दिने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए।
उनले भने, ‘भदौ १६ गते हामी उहाँहरूको स्वाब लिन्छौँ। रिपोर्ट नेगेटिभ आए अटो चलाउन पाउनुहुन्छ। पोजिटिभ आए आइसोलेसनमा राख्छौँ।’
अटोचालकले अनिवार्य पीसीआर नेगेटिभको रिपोर्ट देखाएर मात्र यात्रु ओसारपसार व्यवस्था नगरपालिकाले गरेको छ।
बिरामी बोकेर नगरभन्दा बाहिरबाट आएका अटोरिक्साले नगरप्रवेश गर्ने ठाउँसम्म मात्र बिरामी ल्याउन पाउने छन्।
त्यस स्थानबाट नगरपालिकाको एम्बुलेन्सले निःशुल्क बिरामी अस्पतालसम्म लाने नगरप्रमुख शिवाकोटीले जानकारी दिए।
नगरको आग्रहलाई बेवास्ता गरी अटोचलाउने चालक र अटोरिक्सा चढ्ने यात्रुलाई गरेर १ हजार रुपैयाँ जरिवाना गरिने झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए।