
झापा – दिनहुँ कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि झापाको भद्रपुरमा अस्थायी कोभिड अस्पताल तयार भएको छ।
मेची अस्पताल भद्रपुरको नयाँ भवनमा अस्थायी कोभिड अस्पताल तयार भएको मेची अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा। पिताम्बर ठाकुरले जानकारी दिए।
अहिलेसम्म कोरोना भाइरसका संक्रमित तथा अन्य विरामीलाई एउटै भवनमा राखेर उपचार गरिँदै आइएको थियो।
एउटै भवनमा सबै प्रकारका बिरामीलाई उपचार गरेकाले सर्वसाधारणले कोभिडका बिरामीका लागि छुट्टै भवनमा उपचार गराउन माग गर्दै आएका थिए।
कोरोना भाइरस संक्रमितका लागि मेची अस्पतालले यस अघि २२ शैय्याको आइसोलेसन वार्ड सञ्चालन गर्दै आएको थियो। तर संक्रमितको संख्या बढ्दै जाँदा जिल्लामै कोभिड अस्पतालको माग बढ्दै आएको थियो।
मेची अस्पतालको अस्थायी कोभिड अस्पतालमा ७५ शैय्या रहनेछन्। पुरानो आइसोलेसन वार्डका विरामीलाई पनि नयाँ अस्थायी अस्पतालमा सारिने भएको छ।
झापामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सय ८० पुगेको छ। ४ सय २७ जना संक्रमण निको भएर फर्केका छन्।
हाल १ सय ५१ जना उपचाररत छन्। कोरोना भाइरसको संक्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ।