
झापा– प्रतिबन्ध लगाइएको समयमा पनि नदीजन्य पदार्थ उत्खनन् गर्ने काममा जिल्ला प्रहरी कार्यालय झापाले अपरेशन सञ्चालन गरेको छ।
नदीहरूबाट ढुंगा, गिटी तथा बालुवा बोकेका ट्र्याक्टर नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापाले सम्बन्धित स्थानीय तहलाई बुझाउने गरेको छ।
वर्षाको समय असार, साउन तथा भदौ महिनामा कुनै पनि नदीबाट ढुंगा, गिटी तथा बालुका निकाल्न नपाइने व्यवस्था छ।
तर त्यो बेला पनि नदीबाट त्यस्ता सामाग्री निकाल्न नछोडेपछि ढुवानीमा संलग्न सवारी साधनलाई पक्राउ गरी स्थानीय तहलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्नलाई कारबाही गर्ने अधिकार अहिले स्थानीय तहलाई दिइएको छ। स्थानीय तहले जरिवाना गरेर त्यस्ता सवारीसाधन छोडिदिने गरेको छ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार गत साउन महिनामा अवैध रुपमा उत्खनन् गरेर नदीजन्य पदार्थ बोकेका ८० वटा सवारीसाधनलाई सम्बन्धित स्थानीय तहलाई बुझाइएको छ।
ती सवारीसाधनबाट झापाका स्थानीय तहले ६ लाख १० हजार रुपैयाँ जरिवाना गरेका छन्। सबभन्दा बढी मेचीनगर नगरपालिका क्षेत्रमा ३७ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको थियो।
भदौ महिनाको मध्यसम्ममा ३३ वटा थप सवारी साधन नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कोइरालाले बताए।
उनले भने, ‘तीन महिना त ठेक्का लगाउन पनि पाइँदैन। अरु बेला पनि ठेक्का नलगाइ नदीबाट सामाग्री निकाले अवैध ठहर्छ। हामी त्यसविरुद्ध कारबाही गर्छौं।’