
झापा- झापाको शिवसताक्षी नगरपालिकाका २८ वर्षीय गोमानसिंह मगरको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका युवाले सामान्य लेनदेनको विवादमै मगरको हत्या गरेको खुलेको छ।
शिवसताक्षी नगरपालिकाकै मनकुमार लिम्बुले उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। लिम्बु पक्राउ परिसकेका छन्।
गत मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नयाँ फोन नम्बरबाट फोन गरेर मगर लिम्बुलाई भेट्न बोलाएका थिए।

हत्याको अभियोग लागेका मनकुमार लिम्बु
तर मगरको शव बुधबार बिहान करिब १० बजे शिवसताक्षी ११ सताक्षीधाम जाने भित्री सडकमा भेटिएको थियो।
मगरको शव घाँटी काटिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
सूचना पाएलगत्तै प्रहरीले विशेष टोली बनाएर घटनाको अनुसन्धान थालेको थियो।

अनुसन्धान लागि लिम्बुलाई घटनास्थल लैजाँदै प्रहरी
प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी १ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुह ‘आरआइटि’ को टोली र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
अनुसन्धानका क्रममा प्रहरीले मनकुमार लिम्बुलाई पक्राउ गरेपछि उनले नै मगरको हत्या गरेको खुलेको प्रहरीको दाबी छ।
लिम्बुलाई शुक्रबार पक्राउ गरी नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै मृतकलाई मिति मंगलबार साँझ भेट्न बोलाई मगरले चलाएको मोटरसाईलको पछाडि बसी ‘बेलुकाको हावा खाई फ्रेस हुन सताक्षी धाम मन्दिर तर्फ जाऔ’ भनी मोटरसाईकल बिस्तारै चलाउन लगाइ लिएर गएको र घटनास्थलमा पुग्नासाथ मोटरसाइकल चलाइरहेकै अवस्थामा पछाडिबाट लिम्बुले साथमा लुकाएर बोकेको धारिलो हतियार ‘कर्द’ प्रहार गरि मगरको घाँटी काटेको प्रहरीको भनाइ छ।

मगरको हत्यामा प्रयोग गरिएको कर्दलगायत सामाग्री खोजी गरिँदै
लिम्बुले चलाउने मोबाइल फोन तथा हत्यामा प्रयोग गरिएको कर्द खोलामा फालेको र पछि प्रहरीले स्काभेटर प्रयोग गरेर ती सामान बरामद गरेको थियो।
लिम्बुले चलाउने गरेको बाइक जंगलमा लगेर लडाएको अवस्थामा भेटिएको थियो।
हत्याको अभियोग लागेका लिम्बुलाई आइतबार जिल्ला अदालत झापाबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
लिम्बु हत्यारा प्रमाणित भए मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैदसम्मको सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हत्यामा प्रयोग गरिएको कर्दलगायत सामान