
काठमाडौँ- लामो प्रतिक्षापछि शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जानेमध्ये केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि जंगी अड्डालगायत पाँचखाल तालिम केन्द्रमा चिन्ता थपिएको छ।
शान्ति स्थापनाका लागि लिबियामा जान तालिम लिँदा र तालिम समाप्त गरी क्वारेन्टिनमा रहँदा सैनिक टोलीमा विभिन्न विशेष सुरक्षामत्क उपाय अपनाएका बेला पनि सैनिकहरुमा कोरोना संक्रमण देखिएपछि त्यसलाई लिएर चिन्ता थपिएको हो।
यसो त मुलुकभर सञ्चालित क्वारेन्टिन, यात्रु व्यवस्थापन लगायतमा ‘फ्रन्ट लाइन’मा खटिँदै आएका सैनिक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेपछि झनै चिन्ता उत्पन्न भएको छ।
तालिमका बेला बाहिर कतै नगएका सैनिकहरुमा लक्षणबिना कोरोना पुष्टि भएपछि सैनिक अधिकारीहरु समेत चिन्तित बनेका छन्। नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कोरोना के कसरी फैलिएको हो भन्नेबारे पहिचानका लागि इपिमियोलोजिष्टहरुको समूह पाँचखाल पठाइएको छ।
उक्त समूहले कोरोना पुष्टि भएका सैनिकको सम्पर्कमा आएकाहरुको पनि खोजी गरिरहेको छ। यता कोरोना पुष्टी भएकाहरुलाई १४ दिन आइसोलेसनमा राखेर पुनः पीसीआर परीक्षण गरेर मात्रै लिबिया पठाउनु पर्ने जिम्मेवारी सेनामा थपिएको छ।
लिबियाका लागि यसपटक पहिलो टोलीमा एक सय १६ जना उड्ने तयारीमा थिए। त्यसलगत्तै लिबियाका लागि अर्को टोली उड्ने तयारी सेनामा थियो। पहिलो उडान नभएसम्म दोस्रो उडान अब सम्भव छैन।
प्रवक्ता पौडेलका अनुसार लिबियाका लागि उडान दुई महिना अघि नै हुनुपर्ने भएपनि सम्बन्धित देशको सरकारले अनुमति नदिँदा उक्त उडान रोकिएको थियो। हाल आएर उक्त देश उड्न ठिक्क परेका जवानहरुमा कोरोना संक्रमण देखिएपछि त्रास उत्पन्न भएको हो।
प्रवक्ता पौडेलले सेनामा सबै किसिमको सुरक्षात्मक उपाय अपनाउँदा अपनाउँदै कोरोना पुष्टी भएपछि लिबियाका लागि तय भएको उडान हालका लागि स्थगित गर्नुपर्ने बाध्यतामा आफूहरु परेको देशसञ्चारलाई बताए।
उनले भने,‘हामीले अपनाएको मापदण्ड अनुसार यसअघि हामीले तीन वटा उडान भर्न सफल भएका थियौँ। यहाँ कुन कारणले संक्रमण भयो भन्ने पहिचान हुन सकेको छैन। शान्ति सेनामा जान छनौट भएकाहरुलाई सुरुदेखिनै छोडिएको छैन।’
उनका अनुसार यसअघि साउथ सुडान, मालीलगायत मुलुकका लागि उडान भइसकेको छ। काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टाइनमा रहेका सैनिकमध्ये उडान हुनुभन्दा पहिले गरिएको परीक्षणमा ती जवानलाई कोरोना देखिएको हो।
शान्ति स्थापनाका लागि लिबियामा सन् २०१६ देखि नेपाली सेना जाँदै आएको छ। हाल त्यहाँ २२९ नेपाली सैनिक तैनाथ छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले जनताको सुरक्षामा उत्रिएको नेपाली सेनामा कोरोना संक्रमण बढ्दै जानु दुःखद भएको बताए।
उनले भने,‘कोरोना महामारी रोकथाममा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा पनि सेनाले अहम् भूमिका खेल्दै आएको छ। यस्तो बेला यो संगठनमा कोरोना संक्रमण बढ्दै जानु चिन्ताजनक विषय हो।’ आइतबारको सेनाको विवरण अनुसार १ हजार ३ सय ८३ जनामा कोरोना पुष्टि भइसकेको छ।