मृत्युपछि कोरोना देखिएका कैदीको हत्या आशंका प्रकरण : यी हुन् जेल र वीर अस्पतालका लापरबाही

+
-

काठमाडौँ- मृत्युपछि कोरोना संक्रमण देखिएका कैदी रामलखन जैसवालको हत्या भएको र अंगहरु झिकिएको मृतकका परिवारले आरोप लगाएपछि गृह मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर त्यसलाई अस्वीकार गरेको छ।

आफन्तहरुको मागमुताबिक मृतक जैसवालको पोष्टमार्टम गरी थप यथार्थ बाहिर ल्याउने गृहले स्पष्ट पारेको छ। शव हेरिसकेपछि मंगलबार मृतकका आफन्तले जैसवालको शरीरमा धेरै ठाउँमा चोट देखिएको भन्दै कोरोना पोजेटिभ देखाएर हत्या लुकाउने र अंग झिक्ने षड्यन्त्र भएको आरोप लगाउँदै पोस्टमार्टम गर्न माग गरेका थिए।

सिंहदरबारस्थित गृह मन्त्रालयको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा जैसवाल बसिरहेको केन्द्रीय कारागार र उनलाई उपचार गर्न लगिएको वीर अस्पतालका प्रतिनिधि उपस्थित थिए।

आरोप अस्वीकार गर्न केन्द्रीय कारागारले जैसवाललाई अस्पताल लैजान निकाल्दै गरेको अवस्थाको सिसिटिभी फुटेज सार्वजनिक गरेको छ। गत शनिबार साँझ श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्या देखिएपछि वीर अस्पताल पुर्‍याइएका ६३ वर्षीय जैसवाललाई त्यस दिन राति १० बजेर ५५ मिनेटमा मृत घोषणा गरिएको थियो।

कारागारले सार्वजनिक गरेको सिसिटिभी फुटेजमा देखिन्छ, ‘जैसवाललाई ह्विल चियरमा राखेर जेलबाट बाहिर निकालिँदैछ। गेटबाट बाहिर निस्कँदा सहयोगीको साथमा जैसवाल उभिएर केही दुरी हिँड्छन्। उनलाई स्वासप्रश्वासमा गाह्रो भइरहेको देखिन्छ। वीर अस्पताल ल्याउन लाग्दा उनी हात हल्लाएर विदाई भएको इशारा गर्छन्।’

केन्द्रीय कारागारमा रहेको अस्पतालका अनुसार शनिबार साँझ ९ बजेर ५५ मिनेटमा जैसवाललाई आफूकहाँ पुर्‍याइएको थियो। ‘करिब सात मिनेट हाम्रो अस्पतालमा जाँच गरेपछि उहाँलाई वीर अस्पताल पठाइएको थियो’, केन्द्रीय कारागार अस्पतालका प्रतिनिधि भन्छन्। तर सिसिटिभ फुटेजमा राती साढे ८ बजे नै उनलाई जेलबाट निकालेर कारागार अस्पताल ल्याइ राखिएको देखिन्छ।

सिसिटिभी फुटेजको तस्बिर।

वीर अस्पतालका अनुसार अस्पताल पुर्‍याउनुअघि नै जैसवालको मृत्यु भइसकेको थियो। केन्द्रीय कारागारबाट वीर अस्पतालसम्मको दुरी करिब पाँच सय मिटर छ। ‘सबै प्रक्रिया पूरा गरेर मृत्यु घोषणा गर्दा १० बजेर ५५ मिनेट भएको थियो। हामीले परीक्षण गर्दा जिउँदो रहेको कुनै पनि अवस्था देखिएन’, वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी भन्छन्। केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटा जैसवालमा अचानक स्वास प्रश्वाससम्बन्धी समस्या देखिएको बताउँछन्।

‘उहाँमा श्वास प्रश्वास सम्बन्धी समस्या देखिएलगत्तै हामीले अस्पताल लगेका हौँ’, जेलर बास्कोटाले भने।  पार्किन्सन र प्रेसरका दिर्घरोगी ६३ वर्षीय जैसवालमा त्यसअघि कोरोना संक्रमणका लक्षण नदेखिएको उनी बताउँछन्।

वीर अस्पतालले कतिबेला जैसवालको मृत्यु भएको थियो भन्नेबारे केही खुलाएको छैन तर दुवै निकायको कुरा सुन्दा स्वास प्रश्वास सम्बन्धी समस्या देखिएको एक घण्टाको बीचमा जैसवालको मृत्यु भएको देखिन्छ। वीरका चिकित्सक सेन्चुरी यस्तो हुन सक्ने दावी गर्छन्।

कारागारका जेलर बास्कोटा जेलका कैदीबन्दीलाई बाहिर उपचार गर्न लैजान पहिला आन्तरिक अस्पतालमा देखाउनु अनिवार्य भएको बताउँछन्। ‘हामीले जुनसुकै समस्या भएको कैदीबन्दीलाई पनि सुरुमा आफ्नो अस्पतालमा देखाउनुपर्छ। त्यसपछि चिकित्सकले बाहिर रिफर गरे मात्र लैजाने हो’, जेलर बास्कोटा भन्छन्।

के मृतकको शरिरमा देखिएको चोट नै हो ?

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी।

जैसवालको मृत्यु भएपछि उनको पिसिआर परीक्षण गर्न स्वाब लिइएको थियो। त्यसपछि रिपोर्ट नआउँदासम्म शवलाई अस्पतालकै एउटा बन्द कोठामा राखियो। कोरोना परीक्षणको रिपोर्ट दुई दिनपछि मात्र आयो।

तेस्रो दिनमा मृतकका आफन्तले हत्या भएको भन्दै मंगलबार वीर अस्पताल अगाडि प्रदर्शन गरे। अस्पतालका निर्देशक सेन्चुरी मृतक जैसवालको शरीरमा कुनै चोटपटक नरहेको र कुनै अंग नझिकिएको दाबी गर्छन्। उनले शव सड्न थालेपछि शरीरमा फोकाहरु आउन थाल्ने, रगत मिश्रित र्‍यालहरु देखिने र जैसवालको शवमा त्यसै भएको दावी गरे।

शव सामान्य अवस्थामा २/३ घण्टापछि सड्न सुरु गर्ने चिकित्सकहरु बताउँछन्। त्यसो हुन नदिन शवलाई आइसमा राख्ने गरिन्छ। वीरका निर्देशक सेन्चुरी वीरमा शवलाई राख्न आइस वा मर्करीको व्यवस्था नभएको बताउँछन्। ‘हाम्रोमा धेरै समय शव राख्ने अवस्था हुँदैन थियो। आफन्तले लगिहाल्थे वा पोष्ट मार्टमका लागि शिक्षण अस्पताल लगिहालिन्थ्यो’, सेन्चुरी भन्छन्। तर कोरोनाको परीक्षणको रिपोर्ट आउन समय लाग्ने अवस्थामा वीर अस्पतालले शवलाई आइस वा मर्करीमा राख्नेतर्फ ध्यान दिएन जसका कारण शव केही घण्टामै सडिन थालेको उनको दाबी छ।

जेलर लक्ष्मीप्रसाद बास्कोटा।

वीरमा यसरी शवलाई केही दिन खुला राखिएको भने यो पहिलो घटना होइन। केन्द्रीय कारागारमा रहेका चार जना कैदीको मृत्यु कोरोनाकै कारण वीर अस्पतालमा भएको थियो। उनीहरुको पनि मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। रिपोर्ट नआउँदासम्म शवलाई त्यसरी नै खुलारुपमा बन्द कोठामा राखिएको केन्द्रीय कारागारकै जेलर बास्कोटा बताउँछन्। केन्द्रीय कारागारमा हालसम्म ६ जना कैदीको कोरोनाका कारण मृत्यु भएको छ। तीमध्ये एक जनाको मात्र मृत्यु अघि नै कोरोना पुष्टि भएको थियो। ती कैदीको मेगा अस्पतालमा मृत्यु भएको थियो। कोरोना पुष्टि भएपछि यी पाँचै जना कैदीबन्दीको पोष्टमार्टम गरिएको थिएन।

अब मृत्युलगत्तै पोष्टमार्टम 

सरकारले मृत्युपछि कोरोना परीक्षण नगरिने निर्णय गरेपनि कैदीबन्दीको मृत्यु हुँदा उनीहरुको पोष्टमार्टम अनिवार्य हुने जेलर बास्कोटा बताउँछन्। मृत्युको कारण खोल्नुपर्ने हुँदा कोरोना परीक्षण पनि अनिवार्य हुने उनको भनाइ छ। यही कारण जैसवालको पनि कोरोना परीक्षण गरिएको थियो।

‘कैदीबन्दीलाई जेलमा राख्नुअघि र छाड्न स्वास्थ्य परीक्षण गर्नु अनिवार्य हुन्छ। यसै कारण मृत्यु भएका कैदीको पोष्टमार्टम अनिवार्य हुन्छ’, जेलर बास्कोटा भन्छन्। पछिल्लो विवादपछि जैसवालको शव पोष्टमार्टम गर्ने निर्णय सरकारले गरेको छ।

यसलाई आमरुपमा देखिएको विवादलाई साम्य पार्ने अस्त्रका रुपमा लिइएको छ। जेलर बास्कोटा अब कुनैपनि कैदीबन्दीको मृत्यु जुनसुकै कारणले भएपनि तत्कालै पोष्टमार्टम गरिने निर्णय भएको बताउँछन्। ‘पछिल्लो विवादपछि अब मृत्युलगत्तै कैदीबन्दीको पोष्टमार्टम हुने छ’, उनले भने।

कारागारमा परीक्षणको गति सुस्त 

केन्द्रीय कारागार देशकै सबैभन्दा ठूलो कारागार हो। बुधबारको आँकडाअनुसार यस जेलमा ३ हजार २ सय २४ जना कैदीबन्दी बसिरहेका छन्। हालसम्म यो कारागारमा ३ सय हाराहारीमा मात्र पिसिआर परीक्षण भएको छ। यसमध्ये ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जेलर बास्कोटाका अनुसार कारागारका भद्र र सेन्टर ब्लकमा गरी उठाउनु-सुताउनु पर्ने खालका ३५ जना दिर्घरोगी छन्। यसैगरी अन्य ८५ जना दिर्घरोगीको स्वास्थ्य अवस्था पनि सामान्य छैन। जेलमा रोग लागेकाबाहेक ७६ जना ६० वर्षभन्दा माथीका कैदीबन्दी छन्। शनिबार मृत्यु भएका जैसवालको त्यसअघि कोरोना परीक्षण गरिएको थिएन।

जेलर बास्कोटाले लक्षण देखिएकाको मात्र कोरोना परीक्षण भइरहेको बताए। उनका अनुसार दुबै ब्लकमा दिर्घरोगी र ज्येष्ट नागरिकलाई छुट्टै राख्ने गरिएको छ। जैसवाल बस्दै आएको भद्र ब्लकको एउटा घरमा उनीजस्ता अन्य १० जना दिर्घरोगी छन्। त्यस घरमा बसिरहेकामध्ये कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्। हालसम्म मृत्यु भएका उक्त जेलका कैदीमा अधिकांश अन्य रोगका पीडित थिए।

कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय पाएका रुपन्देहीको सिद्धार्थ नगरपालिकाकाका जैसवाल २०८९ सालसम्म जेल बस्नुपर्ने थियो।

भिडियो हेर्नुहोस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?