
झापा – प्रदेश नं १ का सीमावर्ती स्थानहरूमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले धमाधम बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिरहेको छ।
एक वर्ष भित्रमा २२ वटा बीओपी स्थापना गर्ने उद्धेश्यले काम भइरहेको सशस्त्र प्रहरीका प्रदेश १ का प्रमुख प्रहरी नायव महानिरीक्षक वंशी दाहालले जानकारी दिए।
अहिलेसम्म पाँचथरको चिवाभन्ज्याङ, पाँचथरकै भैँसे, इलामको समालबुङ र इलामको सलकपुरमा बीओपी स्थापना भइसकेको सशस्त्र प्रहरीका नायव महानिरीक्षक दाहालले बताए।

पाँचथरको चिवाभन्ज्याङको बीओपी।
उनले भने, ‘यो वर्ष २२ वटा स्थापना गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौँ।’ अन्य स्थानहरूमा पनि बीओपी स्थापना गर्नका लागि जग्गा खोज्ने काम भइरहेको उनले बताए।
अबको केही दिनभित्रै ताप्लेजुङको ओलाङचुङगोलामा बीओपी स्थापना गरिने दाहालको भनाइ छ। पाँचथरको चारराते, गोरुवाले, इलामको सन्दकपुर, जौवारी, छब्बिसे र मानेभन्ज्याङ सीमा सुरक्षाका लागि बीओपी स्थापना हुने भएको छ।

इलामको सलकपुरमा स्थापित बीओपी।
झापाका कचनकवल, भद्रपुर, पन्थापाडा, तिरिङ, आमगाछी, महेशपुर, नकलबन्दा र ज्यामिरगढीमा सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भएको हो।
प्रहरी नायव महानिरीक्षक दाहालका अनुसार मोरङका सुनबर्षी र मधुमल्ला र सुनसरीको उल्टीमा पनि बीओपी स्थापना हुने भएको हो।
सीमा सुरक्षा तथा सीमा क्षेत्रमा हुने अपराधका घटना नियन्त्रणका लागि भनेर सरकारले स्वीकृत गरेका स्थानमा सशस्त्र प्रहरी उपस्थिति दह्रो बनाउनका लागि बीओपी स्थापना भइरहेका सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन्।