
काठमाडौँ– आज अक्टोबर ८ अर्थात विश्व दृष्टि दिवस। विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। नेपालमा पनि ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको छ।
विश्वभरमै दृष्टि सम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्।
यस्तै विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्ने हो भने करिब दुई अर्ब २० करोड मानिसमा दृष्टि सम्बन्धी समस्या देखिएको छ। यसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा दृष्टि समस्या देखिएको छ।
पछिल्लो समय दृष्टिमा समस्या देखिनु एउटा कारण मधुमेह भएका चिकित्सकहरुले बताएका छन्।
नेपाल आँखा अस्पतालको तथ्याङ्क हेर्दा अस्पतालको रेटिना क्लिनिकमा आउने आठ जना मधुमेहका विरामी मध्ये एक जनालाई आँखाको दृष्टि पर्दामा मधुमेहको असर (डायबिटिक रेटिनाप्याथी) परेको देखाएको छ। यस्तै गत वर्ष रेटिना क्लिनिकमा ४ हजार ४ सय ९० जना दृष्टि पर्दा सम्बन्धी निदानका लागि आएका मध्ये १२ प्रतिशतमा डायबिटिक रेटिनाप्याथी देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ। यी मध्ये ५५ प्रतिशतलाई शल्यक्रृया गर्नु परेको थियो।
बढ्दो जनस्वास्थ्य समस्याको रुपमा रहेको यो रोगले आँखाको दृष्टिमा असर पार्ने गरेको दृष्टि पर्दा विशेषज्ञ डा. किरण शाक्यले बताए।
उनले भने, ‘समय समयमा मधुमेहका बिरामीले आँखा जाँच नगराएमा भविष्यमा अन्धोपना समेत आउन सक्छ। मधुमेहले विषेश गरेर आँखाको दृष्टि पर्दा र केही व्यक्तिमा मोती विन्दु जस्ता समस्या देखिने गर्छ।’
मधुमेह भएका व्यक्तिले कस्तो कुरामा ध्यान दिनु पर्छ। यसलाई कसरी कम गर्न सकिन्छ? डायबिटिक रेटिनोप्याथी भनेको के हो? यही बारे नेपाल आँखा अस्पतालका दृष्टि पर्दा विशेषज्ञ डा. शाक्य सँग गरिएको कुराकानीः
डायबिटिक रेटिनोप्याथी भनेको के हो? यसको अवस्था कस्तो छ?
आँखाको रेटिनामा देखिने असरलाई ‘डायबेटिक रेटिनोप्याथी’ भन्ने गरिन्छ। अस्पतालको तथ्याङ्क हेर्ने हो भने ८ जना मधुमेह भएका विरामीहरुमा एक जनामा ‘डायबिटिक रेटिनोप्याथी’ देखिने गरेको छ। नेपालको सन्दर्भ हेर्ने हो भने ४ जनामा एक जनामा देखिएको छ। यसको तथ्याङ्क अलिकति ‘हाई’ नै छ। अहिले यो सामाजिक समस्या जस्तै भइसकेको छ। हरेक परिवारको एक जनालाई मधुमेह हुने सम्भावना हुन्छ। र मधुमेहले गर्दा ढिलो वा चाँडो एक न एक दिन असर गर्ने नै गर्छ। कसैलाई कढि असर गर्न सक्छ।
यदि रगतमा चिनीको मात्रा नियन्त्रणमा नआएमा, उच्च रक्तचाप भएमा, रगतमा बोसोको मात्र धेरै भएमा, धुम्रपान गर्ने व्यक्तिहरुलाई कधुमेहले दृष्टि पर्दामा असर पार्ने सम्भावना बढि हुँदै जान्छ।
कस्ता लक्षण देखा पर्छन्?
मधुमेहले आँखामा पर्ने मुख्य संकेत भनेको आँखा धमिलो हुने नै हो। त्यपछि दृष्टि कमजोर हुने गर्छ। त्यसपछि भने बिस्तारै आँखमा रगत आउने गर्छ। जसले गर्दा मानिस बिहान उठ्ने बित्तिकै आँखै नदेख्ने हुन सक्छ। आँखामा रगत जमेका कारण यस्तो हुन सक्छ। यसलाई हामी अलि सिभियर केश भन्ने गरेका छौँ। तर प्रायः जसोलाई समस्या हुने भनेको दुष्टि कमजोर नै हो।
निको हुन्छ?
मुख्य कुरा त यो शरिरबाट हुने रोग हो। आँखाको मात्रै रोग होइन। शरिरमा भएको डाइबिटिजको असरले गर्दा हुने कुरा हो। यसले आँखामा मात्र नभएर शरिरका अन्य अङ्गहरु मुटु, किड्नीमा असर गर्ने गर्छ। त्यसैगरी आँखमा पनि असर गर्ने गरेको हो। पहिलो कुरा त शरिरमा भएको सुगरको लेभललाई, प्रेसरलाई, बोसोको लेभललाई नियन्त्रणमा राख्न सक्यौँ भने आँखामा समस्या देखिने सम्भावना धेरै कम हुन्छ।
यसको अलावा पनि समस्या देखिहाल्यो भने सुरुमै अस्पताल पुगेर आँखा जाँच गराउन पर्छ। केही गरी आँखामा असर देखिन थाल्यो वा रगत देखिन थाल्यो भने हामी लेजर विधिबाट उपचार गर्न सकिन्छ। यो पछि पनि आँखामा जटिलता आयो भने हामी आँखा भित्र लगाईने विशेष किसिमको इन्जेक्सन माध्यबाट आँखा भित्र भएको रगतलाई सफा गर्ने र केही गरि पर्दा तानिएको छ भने त्यसलाई त्यही अनुसार केही मात्रामा हामी बिरामीको दृष्टि फर्काउन सक्छौँ।
यसबाट अन्धोपना आउन सक्ने सम्भावना कति हुन्छ?
यसमा अन्धोपना आउन सक्ने सम्भावना छ। १/२ प्रतिशतमा पुरै अन्धो भएर आउन सक्ने सम्भावना धेरै छ। किन भने हामीले समयमै उपचार गरिएन भने जतिलटाहरु बढ्दै जान्छन् र त्यही कारणले अन्धोपना आउन सक्छ।
यस्ता बिरामी कुन स्टेजमा अस्पताल पुग्ने गरेका छन्?
अहिले हामी कहाँ ६० देखि ७० प्रतिशत बिरामीहरु पहिलो स्टेजमा आउने गर्नु भएको छ। यहाँ आउने कोही धेरै जसो डाक्टरले रेफर गरेर आउने गर्नु भएको छ भने कोही सञ्चार माध्यममा पढेर, सुनेर आउने गरेको पाइन्छ।
यसबाट बच्न के गर्न सकिन्छ?
समयमै ब्लड सुगर, ब्लड प्रेसर र रगतमा हुने बोसोको मात्रालाई समान्य अवस्थामा राख्नुको अलावा बेला बेलामा आँखाको पर्दाको जाँच गरेका यसबाट केहीहदसम्म बच्न सकिन्छ।