
झापा- झापाका सामुदायिक बनहरूमा विगत लामो समयदेखि एउटा वयस्क हात्ती घाइते अवस्थामा हिँडिरहेको थियो।
मानिसहरूले ‘त्यस्को एउटा आँखा छैन’ भन्थे।
केही दिनदेखि मेचीनगर नगरपालिकाको क्षेत्र भित्र रहेका सामुदायिक बन नजिकका स्थानीयबासीले उक्त हात्ती नजिक आए एक किसिमको कुहिएको गन्ध आउने गरेको गुनासो डिभिजन बन कार्यालय झापामा राखे।
गुनासो बढ्दै गएपछि उक्त हात्तीको उपचार गर्नका लागि जनशक्ति व्यवस्थापन गरिदिन राष्ट्रिय निकुञ्ज विभागमा डिभिजन बन कार्यालयका प्रमुख बिष्णुलाल घिमिरेले पत्र लेखे।
चितवन राष्ट्रिय निकुञ्जबाट चिकित्सकसहित पाँच जनाको टोली झापा आयो र उक्त हात्तीको खोजी गर्न थाल्यो।
टोली आएको भोलिपल्ट मेचीनगर ३ बाहुन्डाँगीस्थित तेलपानी सामुदायिक बनमा उक्त हात्ती भेटियो। तर हात्तीलाई नियन्त्रणमा लिन निकै कठिन थियो। करिब ४५/५० बर्षको उक्त हात्तीलाई ‘हेभी डोज’को डार्ट प्रयोग गर्नु परेको घिमिरेले बताए।
उनले भने, ‘एउटा डार्टले त कामै गरेन। दोस्रो डार्ट निकै गतिलो दिनु पर्यो अनि मात्र हात्तीलाई नियन्त्रणमा लिन सकियो।’
हात्ती नियन्त्रणमा लिइसेकपछि चितवनबाट आएका वरिष्ठ पशु चिकित्सक डा. बिजयराज श्रेष्ठ नेतृत्वको टोलीले उपचार शुरु गर्यो।
विभिन्न घरेलु हतियार लागेर उक्त हात्तीको शरीरभरि चोट थिए। चिकित्सकको टोली सबै घाउ सफा गरेर उपचार पश्चात हात्तीलाई पुनः जंगलमा छाडिएको छ।
डिभिजन बन कार्यालय झापाका प्रमुख घिमिरे भन्छन्, ‘घाइते हात्तीलाई हामीले जीवन दिने प्रयास गरेका हौं।’
उनले उक्त हात्तीलाई केही दिन नगरानी गरिने जानकारी दिए। थप उपचार परे पुनः नियन्त्रणमा लिएर उपचार गरिने उनले बताए।