प्रदेश पाँच सरकारले प्रदेशको राजधानी दाङको भालुबाङमा राख्ने निर्णय गरेसँगै बुटवलमा नेपाली कांग्रेस लगायत विभिन्न पेशाकर्मीहरुले आन्दोलन गरे। एक निर्दोष महिलाको स्कुटर जलाइयो। उनले डिक्कीमा रहेको छोराको कपडा, मोबाइल र पर्स निकाल्न अनुनय विनय गरिन् तर आन्दोलनकारीले सुनेनन्।
यो घटनाको चौतर्फी आलोचना भयो। धेरैले ती आन्दोलनकारीमा एक चिम्टी पनि मानवता नरहेको भनेर टिप्पणी गरे। त्यसको भोलिपल्ट मुख्य मन्त्री शंकर पोखरेलमाथि नियोजित रुपमा ढुंगामुढा भयो।
प्रदेशसभा चलिरहेकै अवस्थामा कांग्रेसका प्रदेश संसदहरुले सभाहल भित्रै तोडफोड गरेर संसद जस्तो गरिमामय पदको धज्जी उडाए । यस्तो रस्साकस्सीकाबीच प्रदेशसभाले राजधानी दाङ सार्ने टुंगो त लगायो तर त्यसबाट दाङका जनता कति लाभान्वित हुनेछन ? आउनुहोस दाङ राजधानीका अन्तरकथाहरुमा एकछिन चर्चा गरौँ।
सीमांकन र राजधानीमा लापरबाही :
नेताहरूले जतिसुकै आलोचना गरेपनि राजाको पालामा विभाजन गरिएका जिल्ला, अञ्चल र क्षेत्रीय विकास केन्द्रहरु जनताको मन मष्तिष्कमा स्थायी बनिसकेका छन्। यिनलाई तलमाथि गरिएको जनता रुचाउँदैनन् । यो कुरा विगतका कैयौँ घटनाले पुष्टि गरिसकेका छन्।
अखण्ड सुदुर पश्चिम आन्दोलन, अखण्ड चितवनको आवाज र अखण्ड लुम्बिनी आन्दोलन आदि यसका उदाहरण हुन्। यसले जनता अखण्ड पक्षधर हुन् भन्ने बुझाउँछ तर नेताहरु देशलाई खण्डित गर्नमै उन्मुख छन्। अधिकांश स्वतन्त्र व्यक्तिहरु र विज्ञहरुले नेपालको लागि संघीयता आवश्यक नै छैन र यो लागु हुन सक्दैन भनिरहेको परिपेक्षमा नेताहरुले यसलाई गम्भीरतापूर्वक लिनु त के सुन्दा पनि नसुने झैँ गरे।
संघीयतामा जानु नै थियो भने पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउन सकिन्थ्यो। तर नेताहरु राजाले बनाएको पाँच विकास क्षेत्रलाई प्रदेशको आधार मान्दा आफ्नो काम नदेखिने भएर हो कि यो विषयमा बहस नै गरेनन्।
राजाले गरेका सबैकाम बेठिक भन्नु गलत हो, पूर्वाग्रह हो । राजाका काम ठिक कि नेताका काम ठिक भनेर बहस नै गर्ने हो भने यो बहस लामो हुन सक्छ र निष्कर्ष जे पनि निस्कन सक्छ। यदि राजाले गरेका कुनै चिजमा निरन्तरता नदिने हो भने त नेपाल देश नै राजाले एकीकरण गरेका हुन्। यो देशमा किन बस्ने भन्ने प्रश्न पनि आउन सक्ला। परिवर्तन भनेको राम्रा कुराको निरन्तरता र नराम्रा कुराको अन्त्य हुनुपर्दछ तर यहाँ पुरानो देख्यो कि ध्वस्त पारिहल्नुपर्छ भन्ने मानशिकताले काम गरेको छ।
सिमांकन र राजधानीको सवालमा प्रदेश पाँचकै उदाहरण लिउँ यस प्रदेशबाट सल्यान र आधा रुकुम काटेर कर्णाली प्रदेशमा हाल्नुको कारण अहिले सम्म जनताले बुझ्न सकेका छैनन्।
रुकुम र सल्यान पहिले देखि राप्ती अञ्चलमा अवस्थित रहेको, उनीहरुको बजार दाङ रहेको र दाङसँग एक प्रकारको सामाजिक र मानवीय सम्बन्ध स्थापित भैसकेको थियो। हाल उनीहरुलाई कर्णाली प्रदेशमा राखिएको छ र राजधानी सुर्खेत तोकिएको छ तर उनीहरु सुर्खेत जानलाई दाङ नआई हुँदैन। यस्ता लापरबाही देशैभरी गरिएका छन्।
त्यस्तै उदाहरण यस प्रदेशको राजधानीमा छ। देउवा सरकार स्वयंले कुन प्रदेशको राजधानी कँहा राखिनुपर्दछ भनेर सरकारी अध्यन टोली गठन गरेको थियो। उक्त टोलीले दाङको बेल्झुण्डीलाई राजधानीको उपयुक्त स्थान सिफारिस गरेको थियो भने त्यहाँ अवस्थित आयुर्वेद भवनमा मन्त्रालयहरु राख्न सकिने जनाएको थियो।
सुरुमै दाङ राजधानी तोकिएको भए बुटवल समर्थकलाई आजजस्तो भावनात्मक चोट पनि पुग्ने थिएन। उनीहरु नै लगभग राजधानी दाङ हुने भयो भन्नेमा निश्चित भैसकेका थिए।
अस्थायी मुकाम तोक्ने अघिल्लो दिन दाङमा विभिन्न सरोकारवालाहरुले ‘प्रदेश पाँचको राजधानी दाङमा स्वागत छ’भन्ने व्यानर समेत छपाइसकेका थिए तर एकरातमा देउवालाई कुन अदृश्य शक्तिले प्रभावित पार्यो भोलिपल्ट उनले आफैले बनाएको अध्यनटोलीको सुझाब लत्याउँदै बुटवल राजधानी तोकिदिए। दंगाली जनता मर्माहत भए।
दाङलाई छुवाइएको मात्र हो :
हाल स्थायी राजधानी दाङ तोकिएपछि बुटवल समर्थकहरु चिन्तित देखिन्छन्। उनीहरुलाई आफ्नो हार र दाङको जित भएको महसुस भएको छ। जस्तो देउबाले बुटवल तोकिदिँदा दाङ समर्थकलाई भएको थियो।
यसरी जनता जनताबीच वैमनस्यता पैदा गराउनु संघीयताको गुण हो वा हाम्रा नेताहरुको अकर्मन्यता हो कुनै दिन बसह होला। कानुनी रुपमा दाङको सिमानाभित्र राजधानी रहेपछि दाङमा राजधानी आएको मान्नु त परिहाल्यो तर दाङको भित्री कथा सबैले बुझ्नु जरुरी छ।
दाङमा दुइवोटा उपत्यका छन्। एउटा दाङ उपत्यका अर्को देउखुरी उपत्यका। देउखुरी उपत्यकालाई राप्ती उपत्यका पनि भनिन्छ। दाङ उपत्यका भित्री मधेसमा अवस्थित एसियाको सबैभन्दा ठूलो उपत्यका हो भने देउखुरी तराईमा अवस्थित सानो एउटा उपत्यका हो।
दंगाली जनताले दाङ उपत्यकालाई राजधानी बनाउने माग गरेका थिए। देउवाको अनुगमन टोलीले सिफारिस गरेको बेल्झुण्डी पनि दाङ उपत्यकाभित्र तुलसीपुर र घोराहीको बीच भागमा पर्दछ। अहिले तय गरिएको भालुबाङ बेल्झुण्डी देखि करिब ७० किमि पूर्व दाङ उपत्यका बाहिर देउखुरी उपत्यकामा पर्दछ।

(प्रदेश -५, गोलो घेरामा भालुबाङ, श्रोत: सा.सं.)
दाङको पश्चिम सिमानाबाट नै भालुबाङ आइपुग्न करिब १०० किमि पार गर्नु पर्दछ। भलुबाङ महेन्द्र राजमार्गमा पर्ने दाङको प्रस्थान बिन्दु हो। यो दांङको पूर्वी सिमाना हो। दंगाली जनताको मनोभावना जित्न मात्र जिल्ला छुवाएको देखिन्छ। यसरी पूर्व प्रस्तावित बिन्दुबाट ७० किमि वर राजधानी सारिनु बुटवल समर्थकलाई सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ । साथै प्रदेश राजधानी दाङमा मात्र होइन अर्घाखाँचीको केही भूभागलाई समेत समेटेर बनाउने भनिएको छ।
बुटवल नै राख्दा के हुन्थ्यो ?
बुटवल राख्दा बर्दिया, बाँके, दाङ, रोल्पा, रुकुम पूर्व गरी यी पाँच जिल्लालाई साह्रै नै अन्याय हुने देखिन्थ्यो । बर्दियाबाट बुटवल आउन करिब २८० किमिको दूरी पार गर्नुपर्छ, त्यस्तै बाँकेबाट करिब २२५ किमि, दाङबाट १७५ किमि, रोल्पाबाट २०० किमि, प्युठानबाट १५० किमि र पूर्वी रुकुमबाट त करिब ३२५ किमि पार गर्नुपर्दछ।
नक्सामा हेर्दै बुटवल राजधानी अस्वाभाविक देखिन्छ किनकि यो प्रदेश सुरु हुने वोल्लो छेउँमा अवस्थित छ। त्यसैले बर्दिया र बाँकेले त राजधानी बुटवलमै रहने हो भने आँफूहरु कर्णाली प्रदेशमा मिसिने बताइरहेका थिए । उनीहरु अर्को प्रदेशमा मिसिँदा यो नजिर बन्ने र विभिन्न प्रदेशमा यो सिलसिला चलिरहने खतरा थियो। यसलाई रोक्न पनि नेकपाले स्थायी राजधानी सारेको हुनु पर्दछ।
त्यसैगरी राजधानी दाङको बेल्झुल्डिमा राख्दा पश्चिम नवलपरासी, रुपन्देही, गुल्मी र पाल्पा लाई टाढा पर्ने देखिन्थ्यो। पूर्वी नवलपरासीबाट दाङ पुग्न करिब २०० किमि, पाल्पाबाट २२० किमि, गुल्मीबाट २८५ किमि र बुटवलबाट १७५ किमि पार गर्नुपर्ने हुन्थ्यो त्यसैले हाल राजधानी दाङको बेल्झुण्डिभन्दा करिब ७० किमि वर सारेर उल्लेखित जिल्लाहरुको ७० किमि दूरी घटाउने काम गरिएको छ ।
दाङ समर्थकहरुले भन्दै आएको अर्को पाटो तुलनात्मक रुपले बुटवल दाङभन्दा विकसित भैसकेको छ। यो विकास बुटवलमा राजधानी आउनु अगाडि नै भैसकेको हो। बुटवल राजमार्गमा पर्दछ। दाङको सानो उपत्यका राजमार्गमा परेपनि ठूलो उपत्यका राजमार्गबाट एउटा पहाड छिचोलेर पुग्नु पर्दछ।
राजधानी त्यहाँ राखिदिने हो भने यो उपत्यकाले पनि विकासको अवसर पाउँथ्यो कि भन्ने स्थानीयको अपेक्षा हो। यसै सन्दर्भमा दाङ तुलसीपुर निवासी मान बहादुर थापा भन्छन् – ‘हामीलाई भालुबाङ र बुटवल राजधानीले खासै फरक पर्दैन, बेल्झुण्डिमै भैदिएको भए यो उपत्यकाको विकास हुन्थ्यो। रुपन्देहीमा अन्तर्रास्ट्रिय विमानस्थल बनिसक्यो, नेपालगन्जमा राम्रो विमानस्थल छ तर दाङ यति ठूलो जिल्ला भएर पनि २०११ सालमा बनेको एयरपोर्टलाई समेत स्तरउन्नति नगर्दा हिमाली भेगमा जस्तो १८ सिटे टुइनेटर मात्र चल्छन।’
दाङको पूर्ण जित भएको छैन:
दाङ एसियाको सबैभन्दा ठूलो उपत्यका हो। विशाल भूभाग, पातलो बस्ती, सुन्दरता, तराई भन्दा चिसो हावापानी र सुरक्षाका दृष्टिकोणबाट यो उपत्यका प्रदेशको मात्र होइन केन्द्रीय राजधानी बनाउन उपयुक्त देखिन्छ।
यस जिल्लाको क्षेत्रफल २,९५५ वर्ग कि.मि. छ। जब कि रुपन्देही जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ भने काठमाडौँ जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. मात्र रहेको छ।
दाङ् जिल्लाको पूर्व पश्चिम औसत लम्बाई १०० किमि र उत्तर दक्षिण चौडाई करिब ७२ किमि रहेको छ । काठमाडौँले बढ्दो चाप थेग्न नसकिरहेको बेला काठमाडौँको गतिलो विकल्प दाङ हो तर यो उपत्यकालाई प्रदेश राजधानी समेत बनाइएन।
भालुबाङमा बस्ने राजधानीले दाङ जिल्लामा एउटा नँया शहरको जन्म त देला तर दाङको प्रमुख उपत्यकालाई विकासका दृष्टिकोणले खास प्रभाव पार्ने छैन। आफ्ना काम लिएर आउने सेवाग्राही दाङ उपत्यका छिर्ने हो भने सुन्दर र विशाल उपत्यकाको बारेमा धेरैलाई जानकारी हुने र आफ्नै देशमा रहेको यस्तो महत्वपूर्ण ठाँउको सदुपयोग हुनुपर्छ भन्ने भावनाको बृद्धि हुने सम्भावना थियो।
साथै केही हदसम्म पर्यटन प्रवर्द्धन हुने अवसर दाङलाई थियो तर भालुबाङमा राजधानी राख्दा दाङले यो अवसर गुमाउने छ। काम लिएर राजधानी आउने सेवाग्राही महेन्द्र राजमार्गमै गुडेर बाहिरिने छन्। उनीहरुले असली दाङ देख्नै पाउने छैनन् ।

(दाङ उपत्यका, श्रोत: सा.सं.)
वर्षौ देखि दाङ उपत्याकामा राजधानी हुनुपर्छ भन्ने दंगाली जनतालाई आफ्नो जिल्लामा राजधानी आएकोमा जति खुशी लागेको छ दाङ उपत्यकामा भित्र नपर्दा त्यति नै दु:ख छ। भालुबाङ राजधानी “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाबुको अनुहार” भने झैँ महसुस भएको छ। त्यसैले बुटवल समर्थकहरुले यसलाई दाङको जित भनेर बुझ्नु पूर्णतया ठिक होइन। यहाँ कसैको जित भएको छैन। चुनावमा एक दुई जना नेतालाई भोटको प्रभाव पर्ला तर जनतालाई खास कुनै फरक पर्ने देखिँदैन।
पूर्व नै रोज्ने हाम्रो प्रवृति:
प्रदेशसभाले दाङ राजधानी टुङ्ग्याएपछि सामाजिक सञ्जालमा एकजना पाल्पा निवासी युवाको टिप्पणी थियो ‘हामी बरु काठमाडौँ जान्छौँ तर दाङ जाँदैनौ’। त्यस्तै यस स्तम्भकारका रुपन्देही बस्ने केही नजिकका मित्रहरुको टिप्पणी छ ‘अब संघीयता खारेज हुनु पर्दछ’। गजवको कुरा त के छ भने उनीहरु बुटवलमै अस्थायी राजधानी हुँदासम्म कहिले संघीयता खारेजीको पक्षमा थिएनन्।
“आफ्नै जिल्लामा भए लागु हुनुपर्ने, अर्काको जिल्लामा पुग्दा खारेज हुनुपर्ने, त्यसरी त नेपालमा ७७ प्रदेश चाहिएला नि भन्ने प्रश्नमा एक मित्र भन्छन् ” होइन बरु नारायणघाट भए ठिक थियो, हामीलाई उता पश्चिम जान मन नै पर्दैन ।”
केहि महिनाअघि काठमाडौँमा एकजना टिकापुर निवासी मित्रसँग कुराकानीका क्रममा उहाँले आँफू हिजो मात्र टिकापुर आफ्नो घरबाट नेपालगञ्ज एयरपोर्ट हुँदै जहाजमा काठमाडौँ आएको बताए। मैले टिकापुरबाट धनगढी एयरपोर्ट किन नगएको भनेर प्रश्न गरेँ किनकि टिकापुर बाट धनगडी करिब ८५ किमि पर्दछ भने नेपालगंज ११५ किमि पर्दछ। उनको उत्तर थियो ‘ पूर्व आउन सजिलो लाग्छ’।
यसबाट के बुझिन्छ भने हामी पूर्व भनेको असल पश्चिम भनेको खराब भन्ने भ्रम पालेर बाँचेका छौं। यस्तो भ्रम पाल्नेमा पश्चिमे नै बढी छौं किनकि काठमाडौँ पूर्वका जनता त सगर्व पश्चिमतर्फ काठमाडौँ आइरहेका छन्। अर्को कुरा देशभित्र पूर्वदिशा मन पराउने जनता पृथ्वीभित्र भने पश्चिमदिशा अर्थात् अमेरिका, युरोप, अस्ट्रेलिया जान र छोराछोरी पठाउन मरिहत्ते गर्दछन्।
पूर्वाधारमा राज्यको दोहोरो खर्च:
देउवा सरकारले अनुगमन टोलीले सिफारिस गरेकै ठाउँमा राजधानी तोकिदिएको भए राज्यको पूर्वाधार विकासमा दोहोरो खर्च हुने थिएन। आज पनि बेल्झुण्डिमा उक्त भवन खाली छ र राजधानी पर्खेर बसिरहेको छ तर उनको होचुवा निर्णयले बुटवलमा अस्थायी राजधानीकै लागि करोडौँ खर्च भयो भने अब भालुबाङमा पुन: अरबौ खर्च हुने देखिन्छ। आसपासमा रहेका पूर्वाधार खाली रहनु र नँया नँया पूर्वाधारमा खर्च गर्दै जानुमा दंगाली जनता पनि खुशी छैनन्। । यसले हाम्रा नेताहरुको संघियता हाँक्नसक्ने क्षमतामा प्रश्न चिन्ह खडा गरिदिएको छ।

(अध्यन टोलीले राजधानी राख्न सिफारिस गरेको बेल्झुण्डी स्थित आयुर्वेद भवन, श्रोत: सा.सं.)
अन्त्यमा:
क्षेत्रीय भावनाभन्दा माथि उठेर हेर्नेहो भने बुटवलको पनि विकास हुनुपर्छ। दाङको पनि विकास हुनुपर्छ। समग्र रास्ट्रको विकास हुनुपर्छ।त्यसैले हामीलाई यस्तो व्यवस्था वा संयन्त्रको खाँचो छ जसले जनतामा कुनै खालको विभाजन नल्याओस्। सम्पूर्ण देश नै हाम्रो हो भन्ने भावनाको विकास गरोस्। सानो देशको प्रशासनिक खर्च पनि सानो होस्। बजेटको अधिकांश हिस्सा विकासमा जाओस् ।

भर्खरै
लोकप्रिय






































































































































































































