
काठमाडौँ-नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमाल दाहालबीच नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतकलाई निलम्बन गर्ने निर्णय बदर गर्ने सहमति भएको सूचना ओलीका प्रेस संयोजकले सार्वजनिक गरेको केहीबेरमै दाहालका प्रेस संयोजकले त्यससमा सत्यता नभएको दाबी गरेका छन्।
प्रचण्डका तर्फबाट एक प्रेस नोट जारी गर्दै उनका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले त्यस्तो दाबी गरेका हुन्।
मगंलबारको भेटमा ओली र दाहालले प्रमुख सचेतक गुलाबजंग शाहलाई निलम्बन गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्णय बदर गर्ने, उनको स्थानमा ल्याइएकी सीता नेपालीलाई दलका सचेतकमा मात्रै राख्ने र मुख्यमन्त्री शाहिबिरुद्धको अविश्वासको प्रस्ताव लिने सहमति भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका थिए।
तर प्रचण्डका प्रेस संयोजक सापकोटाले मगंलबार ओली र दाहालबीच अविश्वासको प्रस्ताव लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको र यसबारे कुनै पनि भ्रममा नपर्न आग्रह गरेका हुन्।