
वीरगञ्ज– आईपीएल म्याचमा सट्टेबाजी खेलाउने तीनजना बाराको कलैयाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने २५ वर्षका राजु कुमार यादव, २७ वर्षका दिपक कुमार सरार्फ र सोही नगरपालिका मोतिबाग टोल बस्ने २९ वर्षका रवि दास रहेका छन्।
जारी आईपीएलको म्याचमा सट्टेबाजी खेलाइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कलैया उ.म.न.पा.वडा नं.१ राजदेवी टोलस्थित राजु कुमार यादवको घरबाट तीन जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
पक्राउ परेका तीनैजना मंगलबार राति भएको किङ्गस इलेभन पञ्जाब र दिल्ली क्यापिटल्सबीचको खेलमा सट्टेबाजी खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।
उनीहरु बसेको कोठाबाट प्रहरीले सट्टेबाजी खेल्न प्रयोग गरेको विभिन्न बैंकको चेक, १ लाख ७७ हजार पचास रूपैयाँ नगद र २ थान मोबाइल समेत बरामद गरेको छ।
पक्राउ परेका तीनैजना विरुद्ध सट्टाबाजी मुद्दा अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।