
काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था (रअ)का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटको बचाउ गर्दै भेटबारे प्रायोजित कुप्रचार भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार यसबारे आफ्नो लामो धारणा राख्दै प्रधानमन्त्री ओलीको कार्यको बचाउ गरेका हुन्। उनले ६ बुँदे आफनो भनाइसमेत सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री ओली र सामन्तकुमारको भेटलाई लिएर चर्को आलोचना भइरहेको छ।
तर पाखेरले भनेका छन्, ‘अहिले धेरै कुरा किन गर्ने? उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनुभएकोछ भन्ने कुरा ठोकेर भन्न सकिन्छ। प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासूसी संस्थाको योजनामा संचालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधिनतामा आँच पुर्याएको आदि भनेर आरोप लगाउने काेशिस भइरहेकाे छ। अर्थात्, यी सबै कुरा गरेर कम्युनिष्ट पार्टीको सरकार विरूद्धमा एउटा गलत खालकाे बहस सिर्जना गर्न खोजिँदैछ।’
यस्तै पोखरेलले प्रधानमन्त्री ओली र सामन्तकुमारबीचको भेटलाई लिएर आलोचना गर्ने आफ्नै पार्टीका नेताहरुप्रति पनि कटाक्ष व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘दुर्भाग्य! कम्युनिष्ट पार्टीकै कतिपय नेताहरू समेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदैछन्।’