
काठमाडौँ – कर्णालीका पर्यटन मन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट नन्दसिंह बुढाले गुटको लडाईँमा पिल्सिएर आफूले राजीनामा नदिने बताएका छन्।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्नेक्रममा मन्त्री बुढा र अर्का ओली निकट मन्त्री दल रावललाई राजीनामा दिन दबाब दिएका थिए।
त्यसलगत्तै ओलीले उनीहरुलाई हतारमा राजीनामा नदिन केन्द्रबाट निर्देशन दिएका थिए। डोल्पा रहेका मन्त्री बुढाले देश सञ्चारसँग भने,‘हामीले राजीनामा दिँदैनौँ।
पार्टीभित्रको गुटको लडाईँमा हामी बलिको बोको हुनु चाहन्नौँ। कि त हामीले गल्ती गरेको भए हटाउने अधिकार मुख्यमन्त्रीलाई छ।’
बुढाले आफूहरुलाई अध्यक्ष ओलीबाट राजीनामा नदिनु भन्नु स्वाभाविक भएको बताए। बुढाले भने,‘हामीले राजीनामा नदिए पनि दलको नेता तथा मुख्यमन्त्रीलाई मन्त्री हटाउने अधिकार त रहन्छ तर जर्बजस्त हटाउँदा त्यसको असर के रहन्छ? त्यो उहाँलाई पनि थाहा छ होला।’
उनले केन्द्रका दुई अध्यक्षको लडाईँले आफूहरु अहिले बलीको बोको भएपछि अन्य ठाउँमा यस्तो नहोला भन्न नसकिने बताए। उनले भने,‘यसरी एकपछि अर्को झमेला गर्ने हो भने पार्टी एकता के होला?’
यता ओली निकट अर्का सामाजिक मन्त्री दलले आफूले राजीनामा दिन लागेको संकेत गर्दै आइतबार बिहान फेसबुकमा राखेको स्टाटस हटाएका छन्।
उनले भनेका थिए,‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’