
काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाही आइतबार आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारीबाट पछि हटेका छन्।
शाही नेकपा वरिष्ठ नेता माधकुमार नेपाल समूहसँग भएको पूर्वसहमति अनुसार आज मन्त्रिपरिषदमा हेरफेर गर्ने गरी बिहान सबेरैदेखि छलफलमा जुटेका थिए।
मन्त्रिपरिषदमा हेरफेर गर्नका लागि शाहीले नेकपा अध्यक्ष केपी शर्मा ओली निकट सामाजिक मन्त्री दल रावल र पर्यटन मन्त्री नन्दसिंह बुढालाई राजीनामा दिन लगाएका थिए।
तर अध्यक्ष ओलीले ती मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएपछि मन्त्री शाहीले आफ्नो मन्त्रिपरिषदमा हेरफेरको निर्णयले केन्द्रीय सत्तामै असर पर्ने देखेपछि तत्काललाई आफ्नो मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट उनी पछि हटेको पार्टी स्रोतले बतायो।
शाहीको ओली निकट मन्त्री रावल र बुढालाई हटाएर माधव नेपाल समूहका तीन जना मन्त्रीलाई आफ्नो मन्त्रिपरिषद्मा स्थान दिने तयारी थियो। मुख्यमन्त्रीसहित सात सदस्यीय कर्णाली प्रदेशको मन्त्रिपरिषद्मा हाल भौतिक मन्त्रालय रिक्त छ।
तर मुख्यमन्त्री शाहीका प्रेस संयोजक धुव्र बुढाथोकीले सबैभन्दा उत्तम विकल्प अपनाउनु पर्ने देखिएपछि थप छलफल गरेर एक दुई दिनमा मन्त्रिपरिषद्मा हेरफेर गर्ने निर्णय लिने तयारी मुख्यमन्त्रीले गरेको बताए।
उनले भने,‘मन्त्रिपरिषद्मा हेरफेरको आवश्यकता त छ नै। तर सबैभन्दा उपयुक्त के हुन्छ भन्नेमा थप छलफल गर्न आवश्यक परेपछि आज मन्त्रिपरिषद्मा हेरेफेर गर्ने तयारीलाई एकदुई दिन पछि सारिएको मात्रै हो,‘बुढाथोकीले देशसञ्चारसँग भने।
नेपाल समूहबाट मन्त्रि बन्ने चर्चामा रहेका मुगुका सांसद चन्द्रबहादुर शाहीले मुख्यमन्त्री शाहीबाहेक सबै पुराना मन्त्रीले राजीनामा दिएर नयाँ मन्त्रीलाई नियुक्त गर्नुपर्ने भएकाले अब त्यसैगरी अब मन्त्रिपरिषद्मा हेरफेर गर्नुको बिकल्प नभएको बताए।
उनले भने,‘आज मन्त्रिपरिषद्मा हेरफेर हुँदैन। एक दुई जनालाई हटाउने र एक दुई जनालाई थप्ने भन्दा पनि समग्रतामा हेरफेर गर्न आवश्यक छ। त्यसमा सबैको सहमति हुन्छ भन्नेमा हामीलाई विश्वास छ। त्यसका लागि एक दुई दिन लाग्न सक्छ।’
मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्ने माधवकुमार नेपाल पक्षका सात जना सांसदमध्ये तीन जनालाई मन्त्री बनाउने वाचा गरेका थिए। सांसद शाही, दैलेखका अम्मर थापा र जाजरकोटका करविर शाहीलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीको वाचा थियो।
तर यी तीनै जनालाई मन्त्रिपरिषद्मा स्थान दिन नेपाल पक्षबाट उनको मन्त्रिपरिषद्मा रहेका एक मात्र मन्त्री प्रकाश ज्वालालाई पदबाट राजीनामा दिन लगाउने मन्त्री शाहीको तयारी थियो।
तर अध्यक्ष ओलीले आफ्ना दुई मन्त्रीलाई राजीनामा नदिन केन्द्रबाट निर्देशन दिए लगत्तै त्यसले नेकपाको आन्तरिक राजनीतिमा थप जटिलता देखिने सम्भावना बलियो बनेपछि मुख्यमन्त्री आफ्नो मन्त्रिपरिषद्मा हेरफेर गर्ने तयारीबाट पछि हटेका हुन्।
यता कर्णाली विवादलाई लिएर केन्द्रमा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको तनाव झनै बढेको देखिन्छ।
११ दिनपछि हिजो शनिबार ओली र प्रचण्डबीच संवादहिनताको अवस्था तोडिएपनि प्रचण्डको मागअनुसार ओलीले केन्द्रीय सचिवालय बैठकको मिती तय गरेका छन्।
बैठक डाकेमा आफू अल्पमतमा पर्ने भयमा ओली रहेको बुझिन्छ। ओली र प्रचण्डबीच छलफल भएको भोलीपल्ट प्रचण्ड निकट मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद्मा हेरफेर गर्ने तयारी गरेका थिए।
अन्ततः उनी आफ्नो तयारीबाट अन्तिम समयमा आएर पछि हटेका हुन्।