
काठमाडौँ- ठीक महिना अघिदेखि सत्ता भागबण्डालाई लिएर नेकपा नेतृत्वदेखि प्रदेश तहमा बल्झिएको चरम विवाद ढाकछोपको कसरतमा रहेका नेकपा महासचिव विष्णु पौडेल आइतबारसम्म आइपुग्दा हार खाए।
उनले दिउँसो दुई बजेर २८ मिनेटमा एउटा ट्वीट गरे- यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।
पौडेल त्यतिमै सिमित थिएनन्। उनले फेसबुकमा नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने जिकिरसमेत गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झाँगिन पुगेको चरम कटुता र अब पार्टी पंक्तिले संवादका लागि उनीहरुलाई दबाब नदिए पार्टी विभाजान हुने सन्देश पनि स्पष्टरुपमा बाहिर ल्याए।
प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पहलमा संसदीय दलमा आफ्ना पक्षमा विश्वासको मत प्राप्त गर्न सफल कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पूर्वसहमतिअनुसार आइतबार मन्त्रिपरिषद्मा हेरफेरको तयारी गरेपनि त्यसलाई पर धकल्न बाध्य भएको पृष्ठभूमिमा पौडेलले पार्टीभित्र उत्पन्न गम्भीर परिस्थिति सार्वजनिक गरेका थिए।
मुख्यमन्त्री शाहीले ओली निकट दुई मन्त्री दल रावल र नन्दसिंह बुढालाई शनिबार नै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री दल रावलले फेसबुकमार्फत विदाइसमेत मागेका बेला ओलीले उनी र अर्का मन्त्री बुढालाई हतारमा राजीनामा नदिन निर्देशन दिएपछि झस्किएका मुख्यमन्त्री शाही मन्त्रिपरिषद्मा हेरफेरबाट पछि हटेका थिए।
उनी निकट एक नेताका अनुसार मुख्यमन्त्री शाहीले आइतबार ओली पक्षका मन्त्री हटाएर नेपाल पक्षका तीन जना मन्त्री राखेको भए केन्द्रमा ओलीले प्रचण्ड निकट मन्त्रीहरुलाई हटाउन सक्थे।
स्रोतका अनुसार शाहीको कदमले अफठ्यारो पर्न सक्ने आंकलन गर्दै प्रचण्डले नै यसलाई स्थगित गर्न आग्रह उनलाई आग्रह गरेका थिए।
तर पनि शाहीको यो तयारीलाई लिएर बालुवाटार निकै आक्रोशित बनेको ओली निकट एक प्रदेश नेताले बताए। ती नेताले देशसञ्चारसँग भने, ‘मुख्यमन्त्री शाहीले चाहेर अब केही हुन्न। उनको दम्भ अब छिट्टै तोडिनेछ।’
यता ओलीले पार्टी फुटाउने चाहेको ‘ब्रिफिङ’ गरेर प्रचण्डले आफ्नो निवास खुमलटारमा आइतबार नै ओलीविरुद्ध भेला भएका नेताहरुलाई तरंगित बनाएका छन्।
प्रचण्डले आफूबाट टाढा भई ओलीसँग मितेरी लगाउन पुगेका रामबहादुर थापा बादल र पछिल्लो पटक ओलीसँग असन्तुष्ट बामदेव गौतमलाईसमेत समेटेर माधवकुमार नेपाल, झलनाथ खनाल र नारायकाजी श्रेष्ठसँगको बैठकमा ओलीले जतिसुकै बहुमत पुर्याए पनि आफू सरकारबाट नहट्ने बरु पार्टी फुटाएर अलग-अलग हिड्ने चेतावनी ‘ब्रिफिङ’ गरेका हुन्।
बैठकमा प्रचण्डले शनिबारको भेटमा ओलीले सहमतिमा अघि नबढ्ने हो भने अब अलगअलग हिड्नुको विकल्प छैन भन्दै आफूलाई चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका छन्।
बैठकमा सहभागी एक केन्द्रीय सचिवालय सदस्यका अनुसार प्रचण्डले भने,‘ओलीले आफूलाई हटाउने रणनीति बुनेको स्पष्ट भएको, सचिवायल, स्थायी वा केन्द्रीय कमिटी बैठकबाट बहमुत जुटाएर पनि तपाईले हटाउन सक्नुहुन्न। बरु अलग-अलग रहनु उपयुक्त हुन्छ भन्दै धम्की दिनुभयो।’
ती सदस्यका अनुसार प्रचण्डले भने पार्टीलाई ख्यालख्यालमा फुटाउनु हुन्न भन्ने जबाफ ओलीलाई दिएका थिए।
तर ती सदस्यका अनुसार ओलीको चाहना अनुसार पार्टी नफुटाउने बरु तत्काल सचिवालय बैठक बोलाएर ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट बहुमतले हटाउने विकल्प उपयुक्त हुनेमा प्राय सबै सदस्यहरु सहमत छन्।
यद्यपि यसबारे अझै छलफलको आवश्यकता भने उनीहरुले महसुस गरेका छन्। बैठक डाक्नुअगावै ओलीले चाल्ने कदम महत्वपूर्ण हुनेमा पनि चनाखो हुनुपर्ने अवस्था आएको उनले बताए।
बैठकमा आफ्नो पद जोगाउन पुनः दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्नेबारे पनि चर्चा भएको छ। उनले भने,‘पार्टी एकता गम्भीर संकटमा परेकोमा अब कुनै दुईमत छैन। तर अब कुन कदम चाल्दा सबैभन्दा उत्तम हुन्छ भन्नेमा गहन छलफल भइरहेको तर निष्कर्ष आइसकेको छैन।’
बैठकमा नेताहरुले ओलीविरुद्धको आफूहरुको गठबन्धन वास्तवमै बलियो बनाउने हो भने अब दुईचार मन्त्रीमा लोभ नगरी त्याग गर्नसमेत प्रचण्डलाई सुझाव दिएको ती सदस्यले बताए।
ओलीविरुद्ध खुमलाटारमा भेला चलिरहँदा ओली पनि आफ्ना आगामी कदमबारे आफू निकट नेताहरुसँग निरन्तर छलफलमा छन्। आफूबिरुद्धको जस्तोसुकै कदम पनि परास्त गर्नुपर्ने भन्दै आफू निकट नेताहरुलाई उनले बालुवाटारमै राखेको बालुवाटार सचिवालय स्रोतले बतायो।
त्यसका लागि बाहिर रहेका र बाहिर गएका आफ्ना नेताहरुलाई पनि बालुवाटार हाजिर हुन निर्देशन दिएको बुझिएको छ। केही दिन काठमाडौँ रहेर शनिबार पोखरा पुगेका गण्डगीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ओलीले तुरुन्त काठमाडौँ आउन निर्देशन दिएका छन्।
खुमलटारमा ओलीविरुद्ध मोर्चाबन्दी बन्नु पहिले उनले बालुवाटारमा आफ्ना सल्लाहाकारलाई बोलाएर प्रचण्डले आफूसँग अब मिलेर बस्ने स्थिति नभको भनेकाले त्यसमा आफूहरु पनि तयार हुनुपर्ने बताएका थिए।
बालुवाटार स्रोतले भन्यो, ‘पहिले ओलीले आफ्ना सल्लाहकार लाई मात्रै बोलाएको छलफलमा प्रचण्ड अब मिल्न नचाहेको निष्कर्ष निकालियो। त्यसपछि महासचिव पौडेललाई छलफलका लागि ओलीले बोलाउनु भएको थियो।’
००
गत भदौ २५ गतेको स्थायी कमिटी बैठकको निर्णयबिपरित राजदूत नियुक्ति, कर्णलीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता, केन्द्रीय मन्त्रिपरिषद्मा हेरफेर, भारतीय जासुसी संस्थाका प्रमुखसँगको भेट लगायत विषयमा ओली र प्रचण्डबीच चरम असहमति हुँदा त्यसले पार्टी एकता संकटमा पुनः धकलेको हो।
यिनै विषयमा चरम मदभेद भएपछि ११ दिनसम्म संवादहिन अवस्थामा पुगेका ओली र प्रचण्डले शनिबार त्यसलाई तोडेपनि उनीहरुबीचको विवाद मत्थर हुन नसकेको हो।
त्यसैकारण महासचिव पौडेल पार्टी एकता जोगाउनका लागि पार्टीभित्र उत्पन्न विवादलाई सार्वजनिक गर्न बाध्य भएका छन्। साथै अव प्रचण्ड या ओलीमध्ये कसलाई रोज्ने भन्ने संकट पनि पौडेलमा उत्पन्न भएको सचिवालयका एक अर्का सदस्यले भने।
ओलीका विश्वास पात्रका रुपमा चिनिएका पौडेल गत असोज २८ गते मात्रै अर्थमन्त्री बनेका छन्। ओली सत्तामा नरहने संकेत देखिएमा उनी प्रचण्ड–नेपाल समूहतिर ढल्कने सम्भावना पनि उत्तिकै भएको उनी बताउँछन्।
पौडेलले नेकपाको एकता र महत्वबारे प्रस्ट्याउँदै फेसबुकमा भनेका छन्- पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो। तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ।
आजको बैठकमा पनि नेताहरुले पार्टी फुट्न नदिने, पार्टी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने/गराउने त्यसका लागि तत्काल सचिवालय बैठकको माग ओलीसँग गर्न प्रचण्डलाई आग्रह गरेका छन्।
बैठकमा सहभागि एक अर्का सदस्यले भने,‘पार्टीलाई ख्यालख्यालमा फुट्न दिन नहुने, यो बिनासकाले बिपरित बुद्धी हुन्छ। एकताको रक्षका लागि पार्टीको निर्णय सबैले मान्नु पर्ने हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ। बैठकबाट नै पार्टी जोगाउने, विधि र पद्धतिमा सरकार चलाउने र महाधिवेशनको तयारीमा जाने निष्कर्ष निकालेका छौँ।’
बैठकमा प्रचण्डलाई अब आफ्नो अडानमा रहिरहन र दुई चार जना मन्त्रीको लोभ त्याग्नसमेत सुझाव दिइएको बुझिएको छ। प्रचण्डले पनि अब उनीहरुको साथ नछोड्ने वाचा गरेका छन्।
पार्टी जोगाउन सचिवालय बैठक बोलाउन प्रचण्डमाथि उनको समूहका नेताहरुले दबाब दिएका बेला आगामी रणनीतिबारे ओली त्यो भन्दा बढी व्यस्त भएका छन्, आफू निकट नेताहरुसँगको छलफलमा।
बालुवाटार स्रोतका अनुसार आइतबार दिनभरजसो ओलीले अब के गर्ने भन्नेमा केन्द्रीत भएर आफू निकट नेताहरुसँग छलफल चलाएका छन्। छिट्टै निष्कर्ष निकाल्न उनले बाहिर रहेका र हालै बाहिर गएका नेताहरुलाई पनि काठमाडौँ डाकेका छन्।
ओली र प्रचण्डको भागबण्डाकै कारण पार्टी विभाजनको डिलमा पुगेपछि गत भदौ २५ गतेको स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गर्दै पार्टीलाई जोगाएको थियो। बैठकले पारित गरेका निर्णयबिपरित खासगरी ओलीबाट हुन थालेपछि पुनः नेकपाको विवाद बल्झिएको थियो।
खासगरी राजदूत नियुक्त, कर्णाली विवाद, मन्त्रिपरिषद् हेरफेर, भारतीय जासुसी संस्थाका प्रमुखसँगको भेट, पर्सामा नेता हत्याप्रकरणलगायत कारणले ओली र प्रचण्डबीच उत्पन्न चरम असहमतिले पार्टीलाई नै धरापमा पारेको हो।