
वीरगञ्ज – दीपावली नजिकिँदै जाँदा भारतबाट नेपालमा पटाकाको तस्करी बढेको छ । सिमावर्ती भारतको रक्सौलबाट तस्करी गरि वीरगञ्ज हुँदै तस्करहरुले पटाकाको तस्करी गर्न थालेका छन् ।
सोही क्रममा पर्सा प्रहरीले रक्सौलबाट तस्करी गरि ल्याउँदै गरेको पटाकासहित चारजनालाई पक्राउ गरेको छ ।
पटाकासहित पक्राउ पर्नेमा पर्सा वीरगञ्ज १६ इनर्वा बस्ने २० वर्षका रञ्जनकुमार साह, भारत विहार राज्य रक्सौल मौजेटोल बस्ने २६ वर्षका राजकुमार गुप्ता, २६ वर्षका शैलेशकुमार चौरसिया र ३० वर्षका अखिलेशप्रसाद चौरसिया रहेका छन् ।
उनीहरुलाई वीरगञ्ज १६ इनर्वाबाट ना.२ ह ३०४६ नम्बरको अटोमा प्लाष्टिकको बोरा भित्र बिस्फोटक पदार्थ एक हजार पिस पटाका लिएर आउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अटोसहित पक्राउ परेका चारैजनालाई बिस्फोटक पदार्थ सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।