नेकपा विवाद अर्को मोडमा

‘जबज’ अस्त्रले आत्तिएका प्रचण्ड, अविश्वासको प्रस्ताव पनि परास्त पार्ने ओलीको आत्मविश्वास

‘जबज’ अस्त्रले आत्तिएका प्रचण्ड, अविश्वासको प्रस्ताव पनि परास्त पार्ने ओलीको आत्मविश्वास
+
-

काठमाडौँ- मुख्यतयाः शक्ति संघर्षलाई लिएर दुई अध्यक्षबीच उत्पन्न विवाद लम्बिँदा संकटमा भासिएको नेकपामा जनताको बहुदलीय जनवाद ‘जबज’ का पक्षमा भएको गोप्य वकालतले फेरि अर्को भुँइचालो ल्याएको छ।

त्यसले गर्दा पार्टीभित्रको उत्पन्न द्वन्द्व अझै चर्किने संकेतहरु देखा परेका छन्।

अध्यक्ष केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट कचिङ्गल जारी भएमा ‘जबज’लाई बलियोगरी समातेर अलग हुनुपर्ने अवस्था आउने र त्यसका लागि तयार रहन आफ्ना समूहका नेताहरुलाई दिएको ‘भर्चुअल’ निर्देशनले नेकपालाई थप संकटमा पारेको हो।

यस्तै विवाद समाधानका लागि पार्टी कमिटी बैठकको माग गर्दा राजीनामा माग गरेको भन्दै प्रधानमन्त्री ओलीबाट आएको अभिव्यक्तिले पनि नेकपाको विवादलाई थप मलजल गरेको छ।

यसबाट पार्टीको नेतृत्व तहमा देखा परेको अन्तरद्वन्द्व समाधान हुने झिनो आशामा रहेका नेकपा नेता तथा कार्यकर्ता झन आत्तिएका छन्। त्यसमा प्रचण्ड अग्रपंक्तिमा छन्।

००

पाँच दिनपछि ओलीलाई भेट्न बालुवाटार गएका प्रचण्डले सुरुमै ओलीसँग जबजका पक्षमा भएको निर्देशनलाई लिएर स्पष्टीकरण माग गरेको बुझिएको छ।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले पार्टीमा सहमतिका उपायहरुको खोजी भइरहेका बेला एकपक्षीय ढंगले जबजका पक्षमा उभिन आफ्ना नेताहरुलाई निर्देशन दिएर ओलीले अत्यन्तै आपत्तिजनक काम गरेको भन्दै आक्रोश पोखेका छन्।

‘तपाईँ बाहिर हामीले गुटबन्दी गरेको भन्ने आरोप लगाउनुहुन्छ। भित्र एकतामा भएको सहमतिबिपरीत प्रचण्डसँग मिल्न सकिन्न भन्दै जबजका पक्षमा उभिन आफ्ना नेतालाई निर्धक्क निर्देशन दिनुहुन्छ। अब तपाईँको विश्वास कहाँ रह्यो? यो अत्यन्तै आपत्तिजनक र खेदजनक कार्य हो’, प्रचण्डले ओली समक्ष पोखेको आक्रोशलाई उद्धृत गर्दै बालुवाटार स्रोतले देशसञ्चारलाई भन्यो।

प्रचण्डको ओलीप्रति आक्रोश त्यति मात्रै थिएन। उनले आफूहरुले बैठक माग गर्दा बाहिर मेरो राजीनामा माग गरेको भन्दै भ्रम फैलाउने काम किन गर्दै हुनुहुन्छ भन्दै ओलीलाई प्रश्न पनि गरेका थिए।

स्रोतका अनुसार प्रचण्डले ओलीलाई सोधेका थिए, ‘तपाईँको राजीनामा कसले माग्यो? किन जनतालाई भ्रम फैलाउनुहुन्छ?’

००

त्यसबारे ओलीको कुनै पनि प्रतिक्रिया नआएको बुझिएको छ। न ओली प्रचण्ड–नेपाल समूहको मागअनुसार कमिटी बैठक राख्ने कुरामा सहमत भए।

ओली र प्रचण्डबीच करिब डेढ घण्टा छलफल भएपनि त्यो निष्कर्षउन्मुख नभएपछि नेताहरु एकाएक आत्तिएका छन्। दोस्रो तहका नेताहरुको दौडधूप निकै बाक्लिएको छ भने गणितीय हिसाबकिताब पनि खुलेरै हुन थालेको छ।

पटक-पटक मन्त्री भइसकेका एक स्थायी कमिटी सदस्यले भनेका छन्, ‘पार्टी फट्दा ओली र दाहाल दुबैले सजाय पाउने छन्। ओलीले जनार्दन शर्मा जस्ता नेतालाई पनि भड्काउनु भयो। अर्कोतिर दाहाल बुहारीबिना सरकार चल्दैन भन्नुहुन्छ।’

एकअर्कालाई पार्टी फुटाउन चाहेको भन्दै आफ्ना समूहहरुमा ‘ब्रिफिङ’ गर्ने र अफ्ना पक्षमा बहुमत उतार्ने कसरतमा उत्रिएको पाँच दिनपछि ओली र प्रचण्डबीच भेट भएको थियो। तर त्यो आक्रोश पोख्ने माध्यम मात्रै बन्यो, सहमतिलाई पन्छाएर।

ओली पक्षले बुधबार बालुवाटारबाट पार्टी एकताका बेला थाती राखिएको जबज लाई आफ्ना पक्षमा नेताहरुलाई उभ्याउने राजनीतिक अस्त्रकारुपमा फ्याकेपछि प्रचण्डले ओलीसमक्ष आक्रोश पोखेका हुन्।

पार्टी एकता गर्दा पूर्वमाओवादीले अँगाल्दै आएको विचार २१ औँ शताब्दीको जनवाद र पूर्वएमालेले अँगाल्दै आएको जबजलाई अन्तरवस्तुमा राखेर जनताको जनवाद नेकपाले आफ्नो तात्कालीन कार्यक्रम घोषणा गरेको थियो।

‘भर्चुअल’ बैठकमा ओली र उनी निकट नेता ईश्वर पोखरेलले प्रचण्ड समूहबाट श्रृंखलावद्धरुपमा पार्टी एकताका आधारहरु भत्काउने कोशिश भइरहेको र त्यसले निरन्तरता पाएमा पार्टीमा प्रतिकूल अवस्थामा आफूहरु एक हुने माध्यम जबज नै भएको भन्दै त्यसबाट बिचलित नहुन आफ्ना प्रदेश १ का नेताहरुलाई आदेश दिएका थिए।

पोखरेलले भनेका थिए, ‘अहिले असहज परिस्थिति सिर्जना गर्न खोजिँदैछ। यो असहज परिस्थिति एकताका बेलादेखि नै सुरु भएको हो र यसले अहिले अझ उचाइ लिएको छ। यस्तो अवस्थामा कसरी जाने भन्ने तपाईँहरुको जिज्ञासा छ। म विचारमा स्पष्ट हुनुपर्छ भन्छु। विचारमा स्पष्टता भएन भने हामी ठीक ढंगले अगाडि बढ्न सक्दैनौँ। हाम्रो विचार जबजबाट हामी निर्देशित हुनुपर्छ। यसलाई कहिल्यै कमजोर ढंगले समात्न हुन्न।’

‘भर्चुअल’ बैठकमा ओली र उनी निकट नेता ईश्वर पोखरेलले प्रचण्ड समूहबाट श्रृंखलावद्धरुपमा पार्टी एकताका आधारहरु भत्काउने कोशिश भइरहेको र त्यसले निरन्तरता पाएमा पार्टीमा प्रतिकूल अवस्थामा आफूहरु एक हुने माध्यम जबज नै भएको भन्दै त्यसबाट बिचलित नहुन आफ्ना प्रदेश १ का नेताहरुलाई आदेश दिएका थिए।

स्थायी कमिटी सदस्य टोबहादुर रायमाझीले पूर्वएमाले होस् या पूर्वमाओवादीले छोडिसकेको विषयलाई प्राथमिकता दिनु भनेको पार्टीमा दुर्घटना मात्रै निम्ताउनु भएको बताएका छन्।

उनले भने, ‘हामीले नेकपा बनाउँदा जे घोषणा गरेका छौँ। जुन कार्यक्रममा प्रतिवद्धता जनाएका छौँ, त्यसमा अडिग हुनुपर्छ। पछाडि फर्कने काम गर्ने हो भने पार्टीमा दुर्घटना निम्तन्छ।’

यता नेता पोखरेलको निर्देशन छ, ‘महाधिवेशन सम्मका लागि अन्तरवस्तुमा जबज रहेपनि जनताको जनवाद भनेका हौँ तर साँचो कुरा हाम्रो काम जबजबाट निर्देशित हुन जरुरी छ।’

पोखरेलले जबजबारे वकालत गर्नुभन्दा पहिले १७ जना प्रदेश १ का नेताहरुले ओली र पोखरेललाई अब कसरी अघि बढ्ने भन्नेमा जिज्ञासा राखेका थिए भने केहीले पार्टी एकता गर्नु नै गलत भएको भनाइ समेत व्यक्त गरेका थिए।

बालुवाटारमा गोप्यरुपमा ‘भर्चुअल’ निर्देशन दिएका ओलीले बुधबार नै राजधानीमा आयोजित एक कार्यक्रममा आफूलाई राजीनामा दिन दबाब आइरहेको तर आफूले त्यसो गरेमा देश बर्बादीतर्फ जाने अभिव्यक्ति दिएका थिए।

त्यसबाट आक्रोशित बनेका प्रचण्डले ओलीलाई बिहीबार सोधेका छन्, ‘तपाईँ हामीले बैठकको माग गर्दा किन डराएको, आफूलाई बचाउन हाम्रो बदनाम किन गर्दै हुनुहुन्छ?’

तर ओलीले आफ्नाविरुद्धमा अनेक कदम चाल्ने षड्यन्त्र गरिएको भन्दै प्रचण्डसमक्ष आफूले कुनै पनि हालतमा राजीनामा पनि नदिने र कमिटी बैठक पनि नडाक्ने अडान लिएको स्रोत बताउँछ।

‘मैले राम्रा काम गर्दा गर्दै असहयोग गर्ने तपाईँ, मेरा विशेषाधिकार प्रयोग गर्न नदिने तपाईँ, अनि राजीनामा पनि माग्नलाई ठिक्क पर्ने तपाईँ। हेर्दै जानुहोस् म राजीनामा पनि दिन्न, बैठक पनि बोलाउन,’ प्रचण्डसमक्ष ओलीले राखेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।

यसबाट नेकपामा विवाद चुलिएको एकातिर प्रष्ट भएको छ। त्योसँगै ओलीले आफू विरोधी खेमालाई तह लगाउनका लागि कडा कदम चाल्ने संकेत पनि देखिएका छन्।

ओलीले बिहीबार नै मन्त्रिपरिषद् बैठकमा मन्त्रिहरुहरुलाई देशमा ठूलो राजनीतिक संकट आउन सक्ने भन्दै त्यो सामनाका लागि तयार रहन निर्देशनसमेत दिएका छन्।

बैठकमा सामेल एक मन्त्रीका अनुसार ओलीले आफ्नै पार्टीमा आफूविरुद्ध चुलिएको असन्तुष्टिलाई संकेत गरेपनि उनले कस्तो खाले राजनीतिक संकट उत्पन्न हुँदैछ भन्नेबारे स्पष्ट पारेनन्। त्यसो भनिरहँदा ओली निराशसमेत देखिएको ती मन्त्री बताउँछन्।

उनले भने, ‘ हामीलाई प्रधानमन्त्रीले देशमा फेरि ठूलो राजनीतिक संकट आइपरेको र त्यो सामना गर्न सबै तयार हुनुपर्ने आशयको निर्देशन दिनु भएको हो। तर के कस्तो भनेर त्यसमा थप व्याख्या गर्नुभएन।’

उनका अनुसार ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन तयारी भएको तर त्यसलाई निस्तेज गर्ने शक्ति आफूसँग भएको समेत मन्त्रीहरुलाई सुनाएका छन्।

‘कहिले खुमलटार, कहिले कोटेश्वर त कहिले पेरिशडाँडामा अनेक विषयको बहानामा भेलाहरु भएका छन्। मविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको सूचना मैले प्राप्त गरेको छु। तर मलाई के थाहा छ भने मेराविरुद्ध हुने यस्ता सबै षड्यन्त्रलाई मैले परास्त गर्न सक्छु,’ओलीको भनाई उद्धृत गर्दै ती मन्त्रीले देशसञ्चारसँग भने।

बिहीबार नै प्रचण्ड-नेपाल समूहले पूर्वमाओवादीको मुख्यालय र हाल जनवर्गीय संगठनहरुको कार्यालय भनेर तोकिएको पेरिसडाँडामा आफू निकट कानुन व्यवसायीहरुसँग लामो छलफल गरेका छन्।

जहाँ ओलीका आगामी सम्भावति कदम,त्यसको असर, न्याय परिषद्को नियुक्तिलगायत विषयमा छलफल भएको थियो। छलफलमा प्रचण्डले पार्टीमा अन्तरद्वन्द्व सुरु भएको तर त्यो समाधान हुनेमा आफू आसावादी रहेको बताएका थिए।

न्यायपरिषद्‍मा नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने सदस्यलाई लिएर पनि ओली र प्रचण्डबीच कुरा नमिलेको बुझिएको छ।

पार्टी स्रोतका अनुसार ओली पक्षले महेश नेपाल र प्रचण्ड-नेपाल समूहले रामप्रसाद श्रेष्ठलाई सदस्यका रुपमा नियुक्त गर्ने भन्दै नाम अघि सारेको बुझिएको छ। पछिल्लो पटक नेकापमा नियुक्तिकै विषयमा विवाद सुरु भएको थियो।

गत असोज १५ गते ओलीले भदौ २६ गतेको निर्णय उल्लंघन हुनेगरी राजदूत नियुक्त गरेपछि प्रचण्ड-नेपाल समूह असन्तुष्ट बनेको थियो।

त्यसपछि कर्णाली प्रदेशमा नेकपा संसदीय दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्तााव दर्ता गर्न लगाएर असहज परिस्थिति सिर्जना गरेको, आफूअनुकुल मन्त्रिपरिषद्मा हेरफेर गरेको, कुटनीतिक मर्यादाबिपरित भारतीय जासुसी प्रमुखलाई भेटेको आरोप लगाउँदै ओलीको विकल्प खोज्ने तयारीमा प्रचण्ड-नेपाल समूह जुटेको छ।

तर ओली निकट नेता ईश्वर पोखरेलले देशसञ्चारसँग भने ,‘प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीको विशेषाधिकार पटकपटक खोज्ने प्रयास गरेको छ। बाहिर पार्टीको निर्णयविपरित काम भएन भन्ने भित्र कार्यसम्पादनमा असफल भएपनि आफ्नो मान्छे भन्दै मन्त्रीबाट नहटाउ भनेर दबाब दिने काम भयो। कार्यसम्पदानमा राम्रा मन्त्रीलाई दुई वर्ष नपुग्दै हटाउ भनेर दबाब दिने काम भयो। अहिले प्रधानमन्त्रीको बदनाम मात्रै गर्न खोजिएको छ।’

पोखरेलले पहिले दुई अध्यक्षबीच छलफल र समझदारी नबनेसम्म पार्टी कमिटी बैठकको कुनै अर्थ नरहेको र बिग्रह जन्माउनका लागि बैठक नडाक्ने सार्वजनिकरुपमा लिएका छन्।

उनले प्रश्न गरे,‘पहिले पूर्वसमूह र गुटका आधारमा गोप्य भेला गरेर बहुमत सिद्ध गर्ने अनि पछि बैठक बसौँ भन्नु कतिसम्म विरोधाभाषपूर्ण कुरा हो?’

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष