
काठमाडौँ – नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई असन्तुष्ट समूहले केन्द्रीय सचिवालय बैठकको माग गर्दै लिखित पत्र बुझाएको छ।
सो समूहले बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएको हो। त्यस अघि सो समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा करिब तीन घन्टा छलफल गरेको थियो।
टोलीमा अर्का अध्यक्ष पुष्पकम दाहाल नेतृत्वमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम सामेल छन्।
ओलीको एकलौटी कार्यशैली र व्यवहारविरुद्ध एक भएको यो समूहले केन्द्रीय सचिवालय बैठक ओलीकै सहमतिमा डाक्न चाहेको छ।
तर ओलीले यो बैठक आफ्नो राजीनामा मागका लागि बसाल्न लागेको भन्दै यो बैठक डाकिएमा पार्टी फुटको घोषणा गर्ने चेतावनी प्रचण्डलाई यसअघि दिइसकेका छन्।
पार्टी जोगाउनु पर्ने आफ्नो बाध्यता पनि रहेको भन्दै यो समूहले ओलीको सहमतिमा केन्द्रीय सचिवालय बैठक डाक्ने चाहेको छ। तर ओलीलाई आज अन्तिम मौका दिने तयारी पनि यो समूहले गरेको छ।
हिजो यो समूहले धुम्बाराहीमा केन्द्रीय सचिवालयको अनौपचारिक बैठक डाकेको थियो। जहाँ आज संयुक्तरुपमा ओलीलाई भेटेर बैठक बोलाउन सहमत हुन आग्रह गर्ने निर्णय गरिएको थियो।