
काठमाडौँ– नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै दुई दिन कुर्ने निर्णय गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकले सचिवालयको औपचारिक बैठक राख्नका लागि दुई दिन कुर्ने निर्णय गरेका हुन्।
आइतबार दाहाल र नेपालसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले अध्यक्ष ओलीलाई भेटेर दुई दिनभित्र सचिवालयको बैठक बोलाउन ध्यानाकर्षण पत्र बुझाएका थिए।
उक्त समयलाई ओलीले टारिदिएपछि अर्को दुई दिन कुर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। भदौ २६ गते स्थायी समितिले गरेको निर्णय अोलीले उल्लंघन गर्दा नेकपा विवाद उत्कर्षमा पुगेको छ।
पार्टीभित्र मतभेद बढ्दै जाँदा ओलीले सचिवालयको औपचारिक बैठक बोलाउन अस्वीकार गरेपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाबका लागि अनौपचारिक बैठक गर्दै आएका छन्।
मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बस्नुअघि दाहालले बालुवाटार पुगेर ओलीसँग भेट गरेका थिए।
भेटमा के कुराकनी भयो खुल्न सकेको छैन। तर ओली भोलि एक नम्बर प्रदेशमा जाने भएपछि थप दुई दिन समय दिने निष्कर्षमा पाँच नेता पुगेका हुन्। मंगलबार बहुमत सदस्यको तेस्रो बैठक हो।