
झापा- झापाका दमक र बिर्तामोड नगरपालिका कोरोना भाइरस संक्रमणको केन्द्र बनेका छन्।
स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गर्ने गरेको विगत केही दिनदेखिको तथ्यांक अनुसार झापाका यी दुई नगरपालिका कोरोना भाइरस संक्रमणको केन्द्र बनेका हुन्।
बिहीबार झापाका ४४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये दमक नगरपालिकाका १७ जना रहेका छन्।
झापामा बुधबार संक्रमण पुष्टि भएका ८५ जनामा अधिकांश दमक नगरपालिकाकै रहेका छन्। उक्त दिन दमकका ३७ जनामा कोरोना पोजिटिभ देखिएको थियो भने बिर्तामोड नगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्को अघिल्लो दिन मंगलबार झापामा ७५ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये सबभन्दा बढी दमक नगरपालिकाकै रहेका छन्। त्यस दिन दमकका २२ जनामा संक्रमण पुष्टि भएको थियो भने बिर्तामोड नगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको थियो।
झापामा सोमबार ६५ जनामा कोरोना पुष्टि भएको थियो। उक्त दिन पनि दमक नगरपालिकाकै धेरै मानिसमा संक्रमण देखिएको थियो। त्यस दिन दमकका १८ जना र बिर्तामोडका १२ जनामा संक्रमण पुष्टि भएको थियो।
हालसम्म झापामा सबभन्दा बढी दमक नगरपालिका त्यसपछि बिर्तामोड नगरपालिकामा कोरोनाका संक्रमित भेटिएका छन्।