
झापा – तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि यसपाली जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाउने निर्णय गरेको छ।
छठ पर्व आ–आफ्नो घर आँगनमा मनाउन जिल्लाबासीलाई जिल्ला प्रशासनका कार्यालय झापाले अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा बसेको बैठकले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै तीन बुँदे निर्णय गरेको छ।
कोरोना भाइरस सङ्क्रमणबाट बँच्न र बचाउन प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।
बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै दीपावली अर्थात् तिहारमा देउसी भैलो, नाचगानलगायत भीडभाड हुने कुनै पनि कार्य नगर्ने र नगराउने निर्णय गरेको हो।
त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानुनबमोजिम कारबाही गर्ने र कोभिड संक्रमणको दरलाई मध्यनजर गर्दै यस वर्षको छठ पर्व आ–आफ्नै घर आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गरिएको छ।