
काठमाडौँ- अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आरोप प्रत्यारोप तथा अविश्वास छताछुल्ल भएपछि करिव ३० महिना पुरानो एकताले पूर्ण स्वरुप नपाउँदै सत्ताधारी नेकपा विभाजनको संघारमा उभिन पुगेको छ।
कार्तिक २५ गते ओलीले प्रचण्डलाई द्वैध चरित्र र अविश्वसनीय भएको आरोपसहितको पत्र र त्यसको केही दिनपछि शुक्रबार प्रचण्डले सचिवालय बैठकमा प्रस्तावका रुपमा पेश गरेको जवाफी आक्रमण र त्यसलगत्तै पे्रेषित अर्को निजी पत्रले एकतामा ठाडो चिरा परेको स्पष्ट भएको छ।
पार्टी भित्र कम्युनिष्ट आचरण र मुल्य मान्यतामा ह्रास आएको, नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निम्ति जे पनि गर्न उद्दत हुने व्यक्तिवादी तथा अराजक प्रवृति झाँगिएको र क्रान्तिकारी तथा लोकतन्त्रवादी प्रक्रिया विलोप हुने क्रममा रहेको आरोप प्रचण्डले आफ्नो प्रस्तावमा लगाएका छन्।
प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गर्ने गरेको र आफ्नो खुमलटार निवासलाई गुटको मुख्यालय बनाएको भनी ओलीले लगाएको आरोपको सिधा जवाफ नदिए पनि प्रचण्डले ओली एकाधिकारवादी, व्यक्तिवादी तथा गुटवादी चरित्रबाट ग्रसित रहेको प्रत्यारोप गरेका छन्।
पार्टीले ओलीका यी प्रवृतिको व्यापक चिरफार गर्नुपर्ने प्रस्ताव राखेर प्रचण्डले आफ्नो पक्षको बहुमतले मंसीर ३ गतेको केन्द्रीय सचिवालय बैठकमा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन्।
‘यो कुनै व्यक्तिगत आग्रह र पूर्वाग्रहको कुरा होइन, अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य शर्त हो,’ प्रचण्डको प्रस्तावमा भनिएको छ।
शुक्रबारको सचिवालय बैठकमै अर्को पत्र थमाए ओलीलाई, आफूले ईश्वर पोखरेल र बादलको मन्त्रिपरिषद्मा निरन्तरतामा आपत्ति नजनाएको र युवराज खतिवडालाई राजदूत पदका लागि प्रस्तावित नगरेको स्पष्टिकरणसहित।
ओलीका चिल्ला, गुलिया कुरालाई विषको घडाको मुखमा अमृत राखी झुक्याएको जस्तै लाग्न थालेको पनि प्रचण्डले दाबी गरेका छन्।
सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा आगामी एकता महाधिवेशनले थप विकसित र परिमार्जित ‘समाजवाद उन्मुख जनताको जनवाद’बारे निर्णय गर्ने सहमतिबिपरित ईश्वर पोखरेललगायत नेताहरुले जनताको बहुदलीय जनवाद‘जबज’ नै पार्टीको राजनीतिक कार्यदिशा भएको दाबी गरेर एकता सहमति भत्काएको आरोप लगाइएको छ।
उक्त प्रस्तावलाई असन्तुष्ट पक्षका झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको सहमतिमा ल्याइएको हो।
ओलीले ‘दलाल र नोकरशाह पूँजिवादलाई प्रोत्साहित गर्ने नवउदारवादी पूँजीवादलाई पछ्याइरहेको र आफ्नै पुराना गुटलाई सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरेको आरोप लगाइएको छ।
ओलीले राजनीतिक प्रतिवेदनलाई केवल सत्ता प्राप्ती र गुटस्वार्थ पूरा गर्न मात्र स्वीकार गरेको प्रचण्डको ठहर छ।
ओलीमाथि संगठनात्मक, सिद्धान्त र विधि –पद्धतिमाथि प्रहार गरेको आरोपसँगै एकताका पूर्व शर्तका रुपमा स्वीकारिएको आलोपालो प्रधानमन्त्री तथा समान हैसियतका अध्यक्षद्वयको सहमतिलाई तोडेको दाबी पनि प्रस्तावमा उल्लेख छ।
पार्टी पदहरुको पगरी मनपरी हिसावले आफन्तहरुलाई गुथाउने देखि कहिले कुन त कहिले कुन नेतालाई एकअर्काविरुद्ध भिडाउने खेलमा ओली लागेको आरोप प्रस्तावमा उल्लेख छ।
यस्तै राजकीय हैसियतको दुरुपयोग गरी असहमत पक्षलाई प्रतिशोधपूर्ण तरिकाले किनारा लगाउने गरेको आरोप पनि प्रधानमन्त्री ओलीमाथि लगाइएको छ।
नाम उल्लेख नगरी मदनभण्डारी प्रतिष्ठानलाई देशव्यापीरुपमा गुट संयन्त्र निर्माणमा प्रोत्साहित गरेको, दल टुक्र्याउन अध्यादेश जारी गरेको, दुई तिहाई बहुमत पुर्याउन प्रतिपक्षी सांसदलाई अपहरण गरेको जस्ता गम्भीर आरोप पनि ओलीमाथि लगाइएको छ।
भ्रष्टाचारबारे पनि पहिलो पल्ट विस्तारमा प्रस्तावमा उल्लेख गरिएकोछ ।
‘वाइडबडी विमान खरीद, सुरक्षण छापाखाना खरीद र सञ्चारमन्त्रीको टेप प्रकरण, यती होल्डिङ्सँगको अपरादर्शी र संकास्पद कारोबार, चिनी आयात घोटला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ सामाग्री खरीदमा ओम्नी समूहसँगको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अति गोप्य राख्नु पर्ने, राजश्वका दर रेट परिवर्तनलाई चुहाएर विद्युतबाट चल्ने गाडी र चकलेट आयातमा अनियमिता जस्ता प्रकरण सार्वजनिक भएको र यस्ता प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर केपी शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नु भयो,’ प्रस्ताव भन्छ।
त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्तिमा ओलीले आफू निकटलाई प्राथमिकता दिएको भन्दै प्रस्तावमा ओलीसँग गम्भीर आत्मसमिक्षा र आत्मालोचनाको मागसहित घुमाउरो किसिमले उनको राजीनामा माग गरिएको छ।
प्रचण्डद्वारा सचिवालय बैठकमा प्रस्तुत प्रस्ताव
ओलीलाई प्रचण्डले लेखेको पत्र
प्रचण्डसहित पाँच सदस्यले ओलीलाई बुझाएको पत्र