
काठमाडौँ – नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको अविश्वास र मतभेद सार्वजनिक रुपमै छताछुल्ल भएसँगै अब एकअर्कालाई कसरी परास्त गर्ने भन्नेतर्फ उनीहरु केन्द्रीत भएका छन्।
एकअर्काविरुद्ध लडाईँको मैदानमा उत्रिँदा उनीहरु आफैले करिब ३० महिना अघि जनताका सामू विकास र समृद्धिको चाङ लगाएर जोडेको पार्टी एकता छिन्नभिन्न हुने सम्भावना प्रवल बनेको छ।
र, मंसिर तीनका लागि तय गरिएको केन्द्रीय सचिवालय बैठक अघि नै ओली र दाहाल आआफ्नो जित देखाउने होडमा उत्रिएका छन्।
झण्डै एक महिनादेखि युद्धस्तरमा चलेको विवाद साम्य हुने झिनो अपेक्षासहित शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा ओली र दाहालले आरोप प्रत्यारोप र असन्तुष्टिले भरीभराउ पत्रहरुको आदानप्रदान गरेर एकअर्कालाई लडाईँका लागि औपचारिक निम्तो दिएका थिए।
त्यसलगत्तै बालुवाटार र खुमलटार युद्धको रणनीति निर्माणको थलोको रुपमा विकास गरिएको छ।
सचिवालय बैठकलगत्तै दाहालले एकपछि अर्को गर्दै आफूलाई साथ दिइरहेका सचिवालय सदस्यहरु वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमसँग ओलीलाई कसरी परास्त गर्ने र उनले चाल्ने कुनै पनि कदमलाई कसरी विफल बनाउने भन्नेबारे छुट्टाछुट्टै छलफल गरिरहेका छन्।
शुक्रबार सचिवालय बैठक सकिनासाथ प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रचण्डबीच खुमलटारमा लामो छलफल भएको छ। बैठकअघि भूमिगतकालमा दरिलो सहकार्य गरेका तर ओली नेतृत्वको मन्त्रिपरिषदमा पुगेपछि प्रचण्डको साथ छोडेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रचण्डबीच डेढ घण्टा लामो छलफल भएको थियो।
बादल निकट एक नेताका अनुसार बादलले प्रचण्डलाई अहिले आफू मन्त्री रहेकाले मौन रहेको तर निर्णायक अवस्थामा तपाईँलाई नै साथ दिन्छु भन्ने आवश्वास दिएका छन्।
ती नेताले भने,‘प्रचण्ड र बादलको निकै घनिष्ट सम्बन्ध छ। परिस्थितिले उनीहरुलाई अलगअलग गराएको जस्तो देखिए पनि अन्ततः बादल प्रचण्डसँग हुनुहुनेछ। त्यसमा कसैले जोडबल नगरे हुन्छ।’
प्रचण्डले शनिबार आफूलाई साथ दिएका सचिवालय सदस्यहरुसँग सामूहिक छलफल गर्ने तयारी गरेका छन्। प्रचण्डले बहुमतमा उभिनु पर्ने अवस्था आएमा आफूलाई साथ दिन आग्रह गर्दै प्रचण्डले आफू निकट स्थायी र केन्द्रीय कमिटी सदस्यहरुसँग पनि छलफल तीव्र पारेका छन्।
आगामी मंसिरमा पूर्वनिर्धारित सचिवालय बैठक भएमा त्यसबाट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर ओलीलाई दुवै पदबाट हटाउने रणनीति प्रचण्डको छ।
तर शुक्रबारको सचिवालय बैठकमा पार्टीमा विद्यमान समस्या समाधानका लागि स्थायी कमिटी बैठक आवश्यक परेको कुरा प्रचण्डलाई साथ दिँदै आएका पार्टीका वरिष्ठ नेता माधकुमार नेपालले बताउँदा ओलीले नेपाललाई हस्तक्षेप गर्दै भनेका थिए,‘अहिले हामी सचिवालयमै छलफल गरिरहेका छौँ। सचिवालयबाटै समस्या समाधान गर्नुपर्छ। यो भन्दा तलको कमिटीमा जानु राम्रो होइन।’
यता आफू निकट नेताहरुको सल्लाहपछि प्रचण्डले ओलीविरुद्ध शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो प्रस्ताव, ८ पृष्ठ लामो पत्र प्रस्तुत गरेका थिए, ओलीले उनलाई पठाएको पत्रको जवाफ स्वरुप। त्यसअघि सचिवालय बैठकका लागि अनुरोध गर्दै प्रचण्ड र नेपालसहित अन्य तीन जना सदस्यहरुले लिखितपत्र बुझाउँदा ओलीले काउन्टरमा प्रचण्डलाई विभिन्न आरोपसहित पत्र लेखेका थिए।
त्यसपछि प्रचण्डले ओलीमाथि व्यक्तिवादी, गुटवादी, एकाधिकारवादी सोच र कार्यशैलीबाट निर्देशित भएको आरोप लगाउँदै प्रस्ताव र पत्र बैठकमा पेश गरेका हुन्।
प्रचण्डले नेकपामा क्रान्तिकारी र कम्युनिष्ट विचारमा विचलन आएको र नेतृत्वदेखि तलसम्म पैसाका लागि जे पनि गर्ने प्रवृति बढेको निष्कर्ष पनि प्रस्तावमा निकालेका छन्।
‘वैचारिक, राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्धारा केपी कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नु भएको छ। उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ। यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य शर्त हो,‘दाहालको पत्रले भनेको छ।
बालुवाटार झन आक्रामक बन्दै
खुमलटारमा ओलीविरुद्ध कसरी प्रस्तुत हुने भन्नेमा छलफल केन्द्रित भएका बेला बालुवाटारमा पनि ओलीले आफ्नो सुरक्षाका लागि युद्धस्तरमा छलफल अघि बढाएका छन्।
भित्र एउटा, बाहिर अर्को गरेर प्रचण्डले द्वैध चरित्र प्रस्तुत गरेको र यसले समग्र पार्टी पंक्तिलाई क्षति पुगेको निष्कर्ष ओलीले प्रचण्डलाई लेखेको पत्रमा निकालेका छन्।
यसअघि उनले सार्वजनिकरुपमै पनि आफूविरुद्ध गुटबन्दी र घेराबन्दी गरेको आरोप प्रचण्डलाई लगाएका थिए।
यही कार्तिक २५ गते लेखेको पत्रमा ओलीले प्रचण्डलाई पटकपटक आफ्नो अडान फेरेको, पूर्ववर्ति माओवादी नेताहरुविरुद्ध असहिष्णु देखिएको, युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन आफैद्धारा प्रस्तावित गरी दोष आफूलाई दिएको आरोप लगाएका छन्।
आफैसँग भएका सहमति र छलफलबारे प्रचण्डले फरक फरक नेताहरुलाई फरक फरक जानकारी दिएको र गुटबन्दी बन्द गर्ने संस्थागत निर्देशन विपरीत प्रचण्डले गुटबन्दी जारी राखेको दाबी पनि ओलीले गरेका छन्।
योसँगै प्रचण्ड–नेपाल समूहको चाहनाअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने बरु त्यसका लागि जुनसुकै कदम चाल्ने निष्कर्षमा पुगेको उनी निकट स्थायी कमिटीका एक प्रभावशाली सदस्यले देशसञ्चारलाई बताए।
उनले भने,‘प्रधानमन्त्री ओलीविरुद्ध जसरी घेराबन्दी गरियो, जसरी उहाँको बदनाम गराउने कोशिस भएको छ। त्यो आमान्य छ। पक्कै पनि अब सुझबुझका साथ कदम अघि बढ्छ। संविधान र कानुनअनुसारकै कदम हुने छ त्यो।’
ओलीले प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रस्ताव फिर्ता नगरे र यसैगरी गुटबन्दीमा जेलिए दल विभाजनसम्बन्धी अध्यादेश या संसद विघटन गर्नेमध्ये एउटा विकल्प रोज्नेबारे छलफल केन्द्रीत गरेका छन्।
ओलीको ‘दूत’का रुपमा केही दिन दाहाललाई मनाउन खुमलटार धाएका नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले शनिबार बिहान आफ्नो एकल प्रस्ताव फिर्ता लिएर पार्टी एकताका लागि रक्षा गर्न प्रचण्डलाई आग्रहसमेत गरिसकेका छन्।
त्यति मात्रै होइन, प्रचण्डको प्रस्तावले पार्टी एकता धरापमा परेको पोखरेलको सार्वजनिक गरेका छन्। प्रचण्डले प्रथम अध्यक्ष ओलीविरुद्ध संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरेको पोखरेल ट्वीटमा दाबी गरेका छन्।
उनले भनेका छन्,‘ म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनरूप छलफललाई अघि वढाउन अनुरोध गर्दछु।’ ओलीले शुक्रबार रातीनै आफू निकट नेता पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतसँग छलफल गरेका छन्।
स्रोतका अनुसार शुक्रबार राती नै ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच टोलीफोनमा संवादसमेत भएको छ।