
काठमाडौँ- नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नभए पार्टी पूर्वनिर्धारित समयमा बैठक नबस्ने र पार्टी फुट्ने चेतावनी अर्का अध्यक्ष केपी शर्मा ओली पक्षबाट आइरहेका बेला प्रचण्ड पक्षले त्यो कुनै पनि हालतमा फिर्ता नहुने अडान लिएको छ।
यसपटक प्रचण्डलाई दरिलोसँग साथ दिएका उपाध्यक्ष बामदेव गौतमका प्रेस सल्लाहाकार विश्वमणी सुवेदीले शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव चार जना नेताहरुको सल्लाहमा आएकाले त्यो कुनै पनि हालतमा फिर्ता नहुने दाबी गरे।
उनले भने,‘कसैले फिर्ता गर्नुपर्छ भन्दैमा यो प्रस्ताव फिर्ता हुँदैन। यो पार्टी फुटाउन नभइ प्रधानमन्त्री ओलीलाई सच्याउन ल्याइएको सामूहिक प्रस्ताव हो। यसमा कार्यकारी अध्यक्ष प्रचण्डको नाम मात्रै भए पनि अन्य चारजना नेताहरुकै सल्लाहमा यो आएको हो। यसमा विवाद गर्न जरुरी छैन।’
यसअघि शनिबार ओलीका योद्धाहरु शंकर पोखरेल, गोकुल बास्कोटा र सूर्य थापाले सार्वजनिक रुपमै नेकपाको एकता भत्काउने किसिमबाट प्रचण्डले एकल प्रस्ताव प्रस्तुत गरेको, यो फिर्ता नभए पार्टीका आसन्न बैठकहरु र संवाद नहुने भन्दै धम्की दिएका थिए।