नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (नभेम्बर ७-१३)

नेपालमा कोभिड प्यान्डेमिकको पछिल्लाे अवस्थाकाे विश्लेषणात्मक झलक

नेपालमा कोभिड प्यान्डेमिकको पछिल्लाे अवस्थाकाे विश्लेषणात्मक झलक
+
-

नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता, नभेम्बर ७ देखि १३ तदनुसार कार्तिक २२ देखि २८ सम्मको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ ।

कुनै  पनि तथ्यांकको विश्लेषण गर्दा केवल संख्या (Absolute Figure) मात्रको कुनै अर्थ हुँदैन, संख्याभन्दा पनि त्यसको दर (Rate) र अनुपात (Ratio) केलाउने कोशिश गर्नु पर्दछ । त्यस्तै तथ्यांकलाई  केलाउँदा पहिले देखिको एकमुष्ट  तथ्यांक (Cumulative Figure)लाई लिनु भन्दा दैनिक तथ्यांक (Daily Figure)लाई लिएर गरेको विश्लेषण अझ पारदर्शी, प्रष्ट र नयाँ (पछिल्लो, Updated) हुन्छ ।

यस लेखमा उद्धृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स हप्किन्स विश्व विद्यालय (Johns Hopkins University), WHO , ओल्ड़ोमिटर (Worldometer) आदि । यस लेखको उदेश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की जनचेतना जगाउनु हो नकि बढाई चौढाई गरी जनतालाई आतंकित बनाउनु ।  जनताले पनि यो लेखपढिसकेपछि त्रसित या आतंकित हुनु भन्दा समस्याको गहिराई बुझी त्यही अनुसार सावधानी अपनाउने र अरुलाई पनि कोरोना सम्बन्धी जानकारी दिने गर्नु पर्दछ ।

यस विश्लेषणात्मक लेखका लेखक एक चिकित्सक भएको नाताले कोभिड रोग विशेषज्ञ नभएता पनि एक कोभिड ज्ञाताको हैसियतले कोभिड सम्बन्धी गतहप्ता भएका विभिन्न घटनाक्रमलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उताभचढ़ाभ हुने क्रम जारी रह्यो । निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो । गतहप्ता, नभेम्बर ७ देखि १३ (कार्तिक २२ देखि २८)को पहिलो देखि सातौँ दिनसम्मको नेपालभरि र काठमाडौँ उपत्यकाको नया संक्रमितको संख्या यहाँ चित्र न. १ मा प्रस्तुत गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता देशभरि १७४७० जना र काठमाडौँ उपत्यकामा ९३३४ नया संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता देशभरि २०६४८ र काठमाडौँ उपत्यकामा १०६९१ नया संक्रमित भेटिएका थिए । माथिको तथ्यांकको आधारमा भन्ने हो  गतहप्ता त्योभन्दा अगाडिको हप्ताको  दाँजोमा देशभरि १५% र काठमाडौँ उपत्यकामा करीब  १३% ले  संक्रमितको संख्या घटेको पाइयो ।

त्यस्तै मृत्यू हुनेको संख्या गतहप्ता जम्मा १३२ थियो भने त्योभन्दा अगाडिको हप्ता १५० थियो जुन गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा करीब १८% ले घट्यो।  यसबाट के अनुमान लगाउन सकिछ भने नेपालमा गतहप्ता २ हप्ता अगाडिको दाँजोमा जम्मा संक्रमित र जम्मा मृत्यू घटी प्यान्डेमिक केही नियन्त्रण भएको हो कि!

तर त्यसको यथार्थ बुझ्न प्यान्डेमिक या संक्रमित पत्ता लगाउन कति परीक्षण गरियो भन्ने कुरा थाहा हुन जरुरी छ । गतहप्ता जम्मा ७६५०७ परिक्षण गरिए भने २ हप्ता अगाडिको हप्ता साताभरि जम्मा ८३२७९ परीक्षण गरिए । त्यसको अर्थ गतहप्ता २ हप्ता अगाडिको हप्ताको दाँजोमा करीब ८% ले परिक्षण कम गरियो । परीक्षण करीब  ८%ले घट्दा देशभरिको जम्मा संक्रमित १५% घट्नु सामान्य गणितीय हिसाबले बुझ्दा राम्रो हो । त्यस अर्थमा नेपालमा कोरोना प्यान्डेमिकको हिसाबले गतहप्ता पहिलाभन्दा केही सुखद रह्यो ।

त्यस्तै काठमाडौँ  र नेपालको अनुपात केलाउने हो भने चित्र न. २ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नया संक्रमण अनुपात ४९% देखि ५७% सम्म रह्यो । गतहप्ता काठमाडौँ उपत्यकामा नेपालभरिको संक्रमितको  दाँजोमा औसत करीब ५३.४१% देखा  परे  भने त्योभन्दा अगाडिको हप्ता यो अनुपात  ५१.५% थियो ।

तिहारपर्वको समय परेकोहुनाले काठमाडौँको बजार र व्यापारिक क्षेत्रमा भिडभाड बढेसँगै काठमाडौँको कोभिड संक्रमितको अनुपात पनि बढेको हुन सक्दछ । बजार र व्यापािरक क्षेत्र अत्यन्तै भिडभाड र अनियन्त्रित भई त्यहाँ कुनै किसिमको भौतिक दूरी र अन्य प्यान्डेमिक नियन्त्रणका अनुशासन कायम भएको देखिन्दैन जुन कोरोना प्यान्डेमिकको हिसाबले अत्यन्तै जोखिमपूर्ण देखिन्छ ।

दैनिक संक्रमण पोजिटिभिटि दर (Positivity Rate)

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटि दर एक सबैभन्दा भर पर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ । पोजिटिभिटि दरको बारेमा गएका अंकहरुमा विस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया गएका अंकहरु पनि हेर्नु  होला।

नेपालको गएको हप्ताको दैनिक प्यान्डेमिक पोजिटिभिटि दर चित्र नं. ३ मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक  निरन्तररुपमा उच्च बिन्दुमा कायम रह्यो । गतहप्ता पोजिटिभिटि दर न्यूनतम १९.०८% देखि अधिकतम २६.४१% सम्म रही साताभरिको औसत पोजिटिभिटि दर २२.८७% रह्यो ।

दुई हप्ता अगाडिको पोजिटिभिटि दर २१.६८% र २८.६५% काबिच रही साताको औसत दर  २५.०७% पुगेको थियो । त्यस अर्थमा गत हप्ताको औसत  संक्रमण दर २ हप्ता अगाडि भन्दा केही कम देखिएको छ जुन सुखद समाचार हो।

विश्वका केही देशहरुका गएको हप्ताको औसत पोजिटिभिटि हेर्ने हो भने अमेरिका, ल्याटिन अमेरिका र अन्य  यूरोपियन राष्ट्रहरुको पोजिटिभिटि, जोन्स हप्किन्स विश्वबिद्यालयका अनुसार, क्रमस: उकालो लागि रहेको छ भने भारतको दर गएको हप्ता ४%को हाराहारी मा रह्यो जुन राम्रो लक्षण हो ।

जोन्स हप्किन्स विश्वविद्यालयको सूचिमा पोजिटिभिटि दरको हिसाबले नेपाल केही तल झरेको देखिन्छ अर्थात् नेपालभन्दा माथि एसियाको इरान लगायत केही अन्य यूरोपियन र ल्याटिन अमेरिकन राष्ट्रहरु पुगेका छन्। यो पनि नेपालको लागि सुखद खबर हो।

सो विश्वविध्यालयका अनुसार अमेरिकाको पोजिटिभिटि गत केही हप्ता देखि बढ्दै गई पछिल्लो अवस्थामा ९.०% भन्दा माथि पुगोको छ जुन चिन्ताको विषय हो । WHO तथा Worldometerका अनुसार अक्टोबरको मध्यदेखि अमेरिकामा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि भई प्यान्डेमिकको तेस्रो लहर सुरु भएको देखिन्छ। बिगत केही दिनदेखि अमेरिकामा प्रत्येक दिन डेढ लाखभन्दा बढी संक्रमित देखा परिरहेको छ।

परीक्षणको कुरा गर्दा कुनै पनि रोगको महामारी या प्यान्डेमिक भएको बेला कति र कसरी परीक्षण गर्नु पर्दछ भनि WHO ले स्पष्ट दिशानिर्देश गरेको छ । त्यस अनुसार एउटा नया संक्रमण देखा परे उसको सम्पर्कमा  आएका कम्तिमा १० जनाको परीक्षण गर्ने हो भने नेपालमा दैनिक २०-२५ हजारको परीक्षण गर्नु पर्दछ ।

तर नेपाल सरकारले परिक्षण झन् झन् कम गर्दै लागिरहेको छ । एकातिर चित्र नं. ४ मा देखाइए जस्तै बिगत करीब डेढ महिना देखिको पोजिटिभिटि केलाउने हो भने यो दर क्रमसः बढ्दै गएको देखिन्छ । अर्को तिर चित्र न. ५ मा देखाइए जस्तै परीक्षणको मात्र सरकारले क्रमसः घटाउँदै लागेको देखिन्छ । चित्र नं. ४ र ५ मा निलो धनुरेखाले क्रमसः पोजिटिभिटि र परिक्षणको मात्राको प्रबृत्ति (Trend) देखाउँदछ ।

WHO को निर्देशन मान्ने हो भने नेपालमा हाल देखिइराखेको पोजिटिभिटि अनुसार परीक्षणको मात्रा  कम्तिमा पनि हालकोभन्दा दोब्बर बढी गर्नु पर्ने देखिन्छ ।

त्यस्तै परीक्षण कहाँ कहाँ गर्ने भनेर सरकारले प्राथमिकता तोक्नु पर्दछ । देशको कुन जिल्ला वा सहर , सहरको कुन भागमा कति परीक्षण गर्ने भनी निश्चित गर्नु पर्दछ । तसर्थ परीक्षण कति गर्ने मात्र नभई जोखिमपूर्ण ठाउँ पत्ता लगाई त्यस्ता ठाउँमा बढी परीक्षण गर्नु पर्दछ । त्यसको जानकारी पनि सरकारले जनतालाई दिएमा जनता पनि बढी सजग र चनाखो भएर जान्छ।

गतहप्ता विश्वको कोरोना प्यान्डेमिक प्रबृत्ति

प्यान्डेमिकले समयसँगै आफ्नो स्वरुप र प्रबृत्ति फेर्दै आइरहेको छ । यसको स्वरुप र प्रबृत्ति अनुसार यसलाई नियन्त्रण गर्नु अथवा सम्भव भएमा यसको स्वरुप र प्रबृत्ति परिबर्तन हुनै नदिनु आजको विज्ञानको ठूलो चुनौती हो ।

विश्वको कोरोना प्यान्डेमिकको इतिहासमा नया नया कीर्तिमान बन्ने क्रम जारी छ। नयाँ संक्रमितको संख्या हरेक दिन बढेसँगै जम्मा मृत्यु हुनेको संख्या  पनि बढ्दै गएको छ । WHO र ओल्डोमिटर (Worldometer)का अनुसार संक्रमित संख्याको हिसाबले यो संख्या समयसँगै  केही तल माथि भए पनि प्यान्डेमिक मोड (Pandemic curve)ले विश्वमै तेस्रो लहर सुरु भएको देखाउँछ ।

चीनमा फाटफुट कोरोना संक्रमण देखिएको करीब २ महिना पछि प्यान्डेमिकको पहिलो लहर मार्च महिनाको सुरुवातसँगै सुरु भयो र करीब एक महिना जारी रही त्यसपछि करीब २ महिना स्थिर  रह्यो ।

दोस्रो लहर जुन महिनाको सुरुवातसँगै सुरु भयो र करीब २ महिनासम्म जारी रही जुलाई महिनाको अन्त्यमा उच्च रही त्यसपछि करीब अर्को २ महिना स्थिर अवस्थामा रह्यो । अक्टोबर महिनाको सुरुदेखि तेस्रो लहर सुरु भई हालसम्म उकालो लाग्ने क्रम जारी छ र हरेक दिन जस्तो नयाँ नयाँ कीर्तिमान बन्ने क्रम पनि जारी नै छ । यसरी विश्वमा  दुई-दुई महिनामा प्यान्डेमिकको  नयाँ लहर सुरु भई फेरि स्थिर अवस्थामा जाने क्रम देखा परिरहेको छ ।

ओल्डोमिटर (Worldometer) का अनुसार विश्वमा संक्रमितको  संख्या बढ्ने क्रममा पछिल्लो नयाँ कीर्तिमान गत हप्ताको अन्तिम दिन अर्थात् नभेम्बर १३ तारिक तदनुसार कार्तिक २७ गते शुक्रबारको दिन एकै दिनमा साढे छ लाखभन्दा बढी  नयाँ संक्रमित देखा परेर बन्यो । त्यो भन्दा अगाडि नभेम्बर १२ तारिकका दिन ६ लाख ४० हजार भन्दा बढी संक्रमित देखा परेका थिए ।

पछिल्लो समयमा अमेरिकाले एक दिनमै डेढ लाखभन्दा बढी नयाँ संक्रमित निकाली विश्वको प्यान्डेमिकमा सबैभन्दा धेरै योगदान पुर्‍यायो भने  त्यसपछि क्रमैसँग भारत, इटाली , ब्राजिल , बेलायत , पोल्याण्ड , फ्रान्स , जर्मनी आदि देशहरुले  पनि क्रमसः ४५०००, ४००००, ३५०००, २७०००, २४००० र २३००० भन्दा बढी नया संक्रमित निकाली नया किर्तिमान बनाउनमा ठूलो भूमिका खेले ।

त्यस्तै मृत्यूको हिसाबले पनि गतहप्ता नभेम्बर ११ तारिख तदनुसार कार्तिक २६ गतेका दिन एकै दिन १० हजारभन्दा बढी मानिस कोभिड रोगको कारणले मृत्यू भई  विश्वमा नयाँ किर्तिमान बन्यो ।

माथिका तथ्यांकबाट के देखिन्छ भने गतहप्ता विश्वमा र नेपालमा नयाँ संक्रमितको संख्या बिगतमा जस्तै उच्च स्थानमा कायम मात्र रहेन बरु पहिलाभन्दा कोभिडको नयाँ संक्रमित र मृत्यु दुवै बढ्दै गएको छ।

समग्रमा गतहप्ता नेपालमा प्यान्डेमिकको उकालो केही समतल भएको देखिन्छ । यद्यपि WHO को मापदण्ड अनुसार नेपाल प्यान्डेमिकको उच्च संक्रमित अवस्थामा रही जोखिम पनि उच्च देखिन्छ र प्यान्डेमिक हालसम्म ओरालो लाग्ने लक्षण भने खासै देखिएको छैन । परीक्षण दर बढाउँदै जानु पर्ने अवस्थामा पछिल्लो समय झन् झन् कम हुँदै  र गर्दै जानु जनस्वास्थ्य र प्यान्डेमिकको हिसाबले सहि होइन ।

हालसम्म नेपाल सरकारले आफ्नो क्षमता अनुसार प्यान्डेमिक नियन्त्रणको  काम गरिरहेको छ । नेपाल सरकारले हरेक  दिन दिने गरेको कोरोना प्रेस विज्ञप्ती राम्रै थियो । त्यो पनि बन्द भयो ।

तर सधैँ श्लोक पढे जस्तो हरेक दिनको तथ्यांक पढ्नुमात्र भन्दा नेपालमा प्यान्डेमिकको वास्तविक तथ्यांक संसारको अन्य मुलुकसँग दाँजेर नेपालमा प्यान्डेमिकको स्थिति जनतालाई सुसूचित गर्दै जनचेतनामुलक संदेश  दिँदै जानु पर्दछ । तथ्यलाई लुकाउनु या मोड्नुभन्दा सरकारकै मुखबाट यथार्थ सुन्न पाए जनताले पनि  सरकारलाई साथ  र सहयोग  दिन करै लाग्छ ।

नेपाल श्रोत र साधनको कमी भएको देश हो , सबैलाई थाहा छ । तर देशमा सामाजिक सुरक्षा कोष छ जसमा देशको प्रत्येक  नागरिकले लगानी गरेको छ । सामाजिक सुरक्षा कोषको सदुपयोग यस्तो प्यानडेमिकको अवस्थामा हुन नसके अरु कुन बेला हुने होला ? तर सामाजिक सुरक्षा कोष रित्तिसकेको पनि हुन सक्ला, थाहा छैन ।

त्यस माथि तीन तहको सरकार छ । सबै तहका सरकारले थोरै मेहेनत गरेर बिना धेरै श्रोत साधन धेरै काम गर्न सकिन्छ । केन्द्र बाहेक प्रदेश र स्थनीय सरकारले कोरोनाको लागि के गरिरहेको छ सबैले देखेकै छ। श्रोत र साधनले भ्याए WHO को निर्देशन अनुसार प्रसस्त परीक्षण गर्नु  पर्दछ। WHO को  निर्देशिका अनुसार प्यान्डेमिकको बेला प्रत्येक नयाँ संक्रमितको वरिपरि सम्पर्कमा आएका १० देखि ३० जनासम्मको परीक्षण गरी कन्ट्याक्ट ट्रेसिङ्ग (Contact tracing) गर्नु पर्दछ ।

नेपालमा कन्ट्याक्ट ट्रेसिङ्गको कुनै लेखाजोखा छैन, छ भने कहाँ र कति छ थाहा छैन । श्रोत र साधनले नभ्याए अनि प्रसस्त परीक्षण या कन्ट्याक्ट ट्रेसिङ्ग गर्न नसके स्थानीय निकायलाई व्यापक परिचालन गरी कन्ट्याक्ट ट्रेसिङ्ग गर्नु पर्दछ जसलाई ट्रयाकिङ्ग (Tracking) भनिन्छ । ट्रयाकिङ्ग गरी संकास्पद संक्रमित पत्ता लगाई परीक्षण या टेस्ट गर्न नसके पनि होम क्वारेन्टाइन (Home Quarantine) मा राखी निरन्तर निगरानी र निरीक्षण गर्नु पर्दछ। स्थानीय निकायका वडा, गाउँ र नगर पालिका तथा प्रदेश सरकारले प्यान्डेमिकको यस्तो बेला काम, मेहेनत र प्रयाश नगरे कहिले गर्ने ?

दक्षिण कोरियामा यसरी ट्रयाकिङ्ग र निगरानी गर्ने कार्य त्यहाँको सरकारले त्यहाँको गुप्तचर बिभाग (Intelligence Agency) लाई जिम्मा लगाएको थियो । गुप्तचर विभागले आफ्नो श्रोत, साधन, ज्ञान, शिप र अनुभव प्रयोग गरी कन्ट्याक्ट ट्रेसिङ्ग र ट्रयाकिङ्ग राम्ररी गरेको उदाहरण  सबै को सामु छ। त्यसैको सिको पाकिस्तानले पनि गर्यो । परीक्षण निकै कम गर्ने मुलुकहरुमा कम विकसित राष्ट्रहरु नै धेरै पर्दछन् ।

तर जापान एक यस्तो राष्ट्र हो जो सम्पन्न र अति विकसित हुँदा हुँदै पनि अति कम परीक्षण गर्ने राष्ट्रमा पर्दछ। पछिल्लो तथ्यांकको अनुसार नेपालले प्रति दश लाख जनसंख्यामा करीब ५५ हजार परीक्षण गरको छ भने जापानले मात्र करीब २४ हजार, भारतले करीब ९० हजार र अमेरिकाले करीब पाँच लाख परीक्षण गरको छ । कोरिया र जापान विश्वमा प्यान्डेमिक सफलतापूर्वक नियन्त्रण गर्ने राष्ट्रहरुमा पर्दछन् ।

जापानले प्रसस्त परिक्षण नगरे पनि जनतालाई सुसूचित गरी व्यापक जना चेतना फैलायो । जनताले पनि कोभिड अनुशासन पालन गर्ने कुरामा कुनै कमी गरेन । अध्ययन गर्ने र अरुबाट सिक्ने  अवशर यही हो । नेपाल सरकारले पनि यही गर्ने कोशिश गर्नु पर्दछ ।

त्यस्तै सरकारले विभिन्न माध्यमबाट विभिन्न किसिमले जनचेतना जगाउने कार्य प्रसस्त गर्नु पर्दछ। कोरोनाको साबधानीको बारेमा देशमा प्यानडेमिकको अवस्था हेरी सन्देशमुलक र उत्साहजनक  प्रचार गर्नु पर्दछ । अहिलेको प्रबिधिको जमानामा सफ्टवेर अथवा याप बनाई जनताले आफूलाई संका लागेमा  आफू संक्रमित भएको सम्भावना स्वघोषणा गरी आफ्नो सम्पर्कमा आएका सबैको जानकरी सम्बन्धित निकायलाई रिपोर्ट गर्ने  सिस्टम बनाउनु पर्दछ जसले गर्दा ट्रयाकिङ्ग गर्न सजिलो होस् । जनतालाई कन्ट्याक्ट ट्रेसिङ्ग र ट्रयाकिङ्ग सम्बन्धी यथेष्ट ज्ञान दिई सरकारलाई सघाउन उत्साहित गर्नु पर्दछ।

कुनै पनि रोगको महामारी या प्यान्डेमिक भएको बेला यसको नियन्त्रणको लागि दुई कुराको धेरै ठूलो महत्व हुन्छ, सूचना। तथ्यांक र उपचार विधि । चित्र नं. ६  मा देखाइए अनुसार  यी दुवै  कुराहरु समानान्तर तरिकाले तल्लो निकाय वा तह बाट क्रमसः माथिल्लो तहसम्म आवश्यकता अनुसार  पठाउँदै जानु पर्दछ। उपचारको हकमा सबैभन्दा तल्लो तहबाट हुने कुरालाई त्यहीबाट सल्टाउनु पर्दछ र आवश्यक परे मात्र माथिल्लो  तहमा पठाउनु पर्दछ । सूचना र तथ्यांक तल्लो तहबाट क्रमसः संकलन गरी केन्द्रसम्म पठाउने प्रणालीको विकास गर्नु पर्दछ।

अहिलेको प्रविधिको युगमा मोबाइल याप या सफ्टवेरको विकास गरी माथिका कुराहरु  छिटो  र छरितो तरिकाले गर्ने प्रयाश गर्नु पर्दछ। यो प्यान्डेमिक नियन्त्रणको चीनिया (Chinese) मोडेल हो । तीन तहको सरकारको व्यवस्था शायद यस्तै कारणको लागि गरिएको हुनुपर्दछ र ती सबै निकायहरुले आफूलाई प्रमाणित गरेर जनतालाई देखाउन सक्नु पर्दछ ।

त्यस्तै, सरकारले प्यानडेमिक नियन्त्रणको लागि गरिरहेको प्रयास र भावी रणनीति र योजनाका बारेमा पनि जनतालाई जानकारी गराइ राख्नु पर्दछ । प्यानडेमिकले समाज र दैनिक जीवनको हरेक पक्षलाई असर पारेको हुनाले ती सबै पक्षको सम्बोधन गर्न सक्नु पर्दछ । जस्तै स्वास्थ्य, शिक्षा, उद्योग, व्यवसाय, पर्यटन, कृषि ,  अन्य आर्थिक गतिविधि  आदिलाई प्यानडेमिकको कठीन समय मा कसरी अगाडि लान सकिन्छ त्यसको विकल्पको अध्ययन गरी योजना तर्जुमा गर्नु पर्दछ ।

जनतलाई रोग लुकाउन होइन रोग खुलाउन उत्साहित गरी थप संक्रमण प्रशारणको रोकथाम गर्नु पर्दछ ।

prabinshrestha@hotmail.com

(डा. श्रेष्ठ ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्यूरोसर्जन तथा कोभिड ज्ञाता हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?