
झापा- कार्तिक २५ गते २२ दिनको सुत्केरी चाँदनी पौरियाको मृत्युको खबर सन्तु कार्कीसम्म पुग्यो।
झापाको भद्रपुर नगरपालिका ३ आँपगाछीका कार्कीलाई आफ्नै गाउँकी चाँदनीको मृत्युको खबरले केही सोच्न नसक्ने बनायो। कारण थियो अबोध बच्चा।
घरमै डेलिभरी भएर स्वस्थ रहेका चाँदनी र उनको २२ दिने छोरामा कुनै स्वास्थ्य समस्या थिएन। तर राति अचानक असहज भयो र अस्पताल लैजान खोज्दा खोज्दै चाँदनीले प्राण त्यागिन्।
आमाको स्पर्श राम्ररी अनुभूतसम्म गर्न नपाएको शिशुले आमाको काख र अमृत समान आमाको दूध पनि गुमायो। सन्तुलाई यो सबै कुराले यति सतायो की उनले नवजात शिशुका लागि त्यस्तै भर्खरै ब्याएको गाई किनेर दिने सोच बनाए।
उनले भने, ‘२२ दिनमा नै उसले आमा गुमायो। बच्चाको स्वास्थ्यका लागि बाहिरबाट ल्याएको दूध राम्रो हुन्न। त्यही सोचेर मैले १४ दिन अघि ब्याएको गाई किनेर दिएको हुँ।’
कार्कीका अनुसार उनले २७ हजार हालेर उक्त गाई किनेका हुन्। उनले चाँदनीका श्रीमानलाई कम्तिमा दुई वर्ष गाई नबेच्न आग्रर गरेका छन्।
‘अब दुईवर्ष चैं गाई नबेच्नु भनेर भनेको छु। अर्को बेत पनि बच्चाले मज्जाले दूध खान पाओस् भन्ने मेरो चाहाना हो। त्यसपछि बेच्दा पनि हुन्छ भनेर भनेको छु,’ सन्तुले देशसञ्चारसँग भने।
त्यसो त सन्तुको यो सेवाभाव पहिलो होइन। यसअघि लकडाउनका समयमा पनि उनले झण्डै तीन लाख रुपैयाँ बराबरको खाद्यान्य विपन्न समुदायका लागि वितरण गरेका थिए। त्यसबाहेक अन्य समयमा पनि आफूले सकेको सहयोग दुःखीहरुलाई गर्दै आएको उनी सुनाउँछन्। भद्रपुरमा पोल्ट्री व्यवसाय गर्दै आएका सन्तु भन्छन्, ‘सकेको सहयोग गर्यो भने भगवानले कहिले हात खाली रहन दिँदैनन्।’