
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगहीका उमाशंकर कोहार यतिबेला बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला व्यस्त छन्।
माटोको भाँडाकुँडा बनाउँदै आएका कोहार अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन्।
दीपावली सकिएपछि नजिकिँदै गरेको छठ पर्वलाई मध्यनजर गर्दै कोहार छठ पर्वमा प्रयोग गरिने दियो, ढकना, खपरी तथा माटोको हात्ती बनाइरहेका छन्।
माटाको भाँडाकुँडा नै बनाएर आठ जनाको परिवार पाल्दै आएका उमाशंकरलाई चाडबाडको बेलामा बिक्री बढ्ने अनुमान थियो।
अहिले दीपावली सकिएसँगै तराई क्षेत्रमा विशेष हर्षाेल्लाससाथ मनाईँने छठपर्व नजिकिएको छ।
छठ पर्वमा भने माटोले बनेको दियो, कलश, ढक्ना, खपरी, र कोशी भर्नको लागि प्रयोग हुने माटोको हात्तीको बढी बिक्री हुने गरेको छ।
तर पछिल्लो समय माटोको भाँडाकुँडा र सामानहरु बनाउनको लागि प्रयोग हुने पहेलो तथा चिप्लो माटो पाउन छाडेपछि अहिले माटोको भाँडाकुँडा बनाउनमा लगानी बढेको उमाशंकर बताउँछन्।
पहिले पहिले सित्तैमा पाइने गरेको पहेँलो र चिप्लो माटो अहिले भने पैसा तिरेर पनि पाउन छोडेपछि कोहारहरुको पुर्ख्यौली पेशा नै संकटमा पर्न थालेको उमाशंकरको भनाई छ।
पहिले गाउँघरमा सजिलै पहेलो चिप्लो माटोको लागि अहिले भने प्रति ट्रयाक्टर पाँच हजार रुपैयाँ तिर्दा समेत पाउन छाडेपछि आफूहरुको पेशा संकटमा परेको उनको दुखेसो छ।
माटोको भाडा बनाउनको लागि पहेँलो माटो पाउन गाह्रो हुन थालेसँगै कोहारहरुले बनाउने गरेको माटोको सामग्रीमा लागत पनि उतिक्कै बढ्न गएको छ।
माटो किनेर सामान बनाउनु पर्दा पहिले जस्तो माटाकोे सामानमा फाइदा नहुने गरेको कुमालेहरु बताउँछन्।
उनीहरुले माटो पनि नपाउनु र अहिलेको आधुनिक युगमा माटाको सामग्रीहरुको प्रयोगमा पनि कमि आएका कारण आफूहरुलाई पेशा जोगाउनै समस्या भइरहेको बताएका छन्।