
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपछि अर्को गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।
मगंलबार साँझ करिव दुई घण्टा प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटेर फर्केको केहीबेरमै ओली शितलनिवास पुगेको सरकारी उच्च स्रोत बताउँछ।
ओलीले शितल निवास जानु पूर्व चिनियाँ राजदूत होउ यान्छीसँग बालुवाटारमै ओलीले लामो छलफल गरेका थिए ।
राष्ट्रपतिले ओलीलाई समर्थन गर्न गरेको आग्रह अस्वीकार गर्दै प्रचण्ड खुमलटारतर्फ लागेको केहीबेरमा ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गरेका हुन्।
प्रचण्डले ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन वा संसद विघटन गर्ने प्रयास गरेमा त्यसलाई रोक्न राष्ट्रपतिसमक्ष आग्रह गरेको बुझिएको छ।
त्यसलगत्तै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग लामो छलफल गरेर ओली शितल निवास हानिएका थिए।शितलनिवासमा प्रचण्डविरुद्धको अबको रणनीतिबारे छलफल भएको बुझिएको छ।
ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, एकाधिकारवादी भएको जस्ता आरोपसहित गत शुक्रबार प्रचण्डले पेश गरेको १९ पृष्ठ लामो प्रस्तावमाथि भोली दिउँसो १ बजे निर्धारित केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने प्रचण्ड पक्षको अडान छ।
ओली पक्षको सहभागिता नभएपनि प्रचण्ड पक्ष भोली निर्धारित बैठक बोलाउने पक्षमा उभिएको छ।ओलीमाथि भने बैठक दुईचार दिन लम्बाउन तिब्र पहल गर्न आफ्नै समूहबाट दबाब परेको छ।