
काठमाडौँ- पछिल्लो चरणमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टाढिएका भनिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही प्रभावशाली ‘मध्यमार्गी’ नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लचकता देखाउनुपर्ने शर्तका साथ उनीहरुको मेलमिलाप अभियान सुरु गरेका छन्।
प्रचण्डले आफूविरुद्ध ल्याएको प्रस्तावको ‘काउन्टर’ मा आगामी ६ दिनपछि हुने नेकपा सचिवालय बैठकमा आफ्नो प्रस्ताव पेश गर्ने भन्दै विधिसम्मत लडाइँको घोषणा गरेका ओलीले लचकता नदेखाए पार्टीको अस्तित्व समाप्त हुने उनीहरुको निष्कर्ष छ।
प्रचण्डको प्रस्तावविरुद्ध ओलीले आफ्नो पनि प्रस्ताव पेश गर्ने निर्णय लिएपछि पार्टीको तल्लो तहसम्म नेता तथा कार्यकर्ताबीच भिडन्त सुरु भएको छ।
माथि जति चाँडो मेलमिलाप हुन्छ, त्यति चाँडो तल्लो तहको माहोल शान्त हुने देखिन्छ।
पार्टी एकता जोगाउन पछिल्लो पटक ओलीबाट भएको गल्ती सच्याउनुको विकल्प नभएको भन्दै त्यसका लागि उनीहरुले ओलीलाई दबाब दिन थालेका छन्।
त्यस्तो दबाब दिनेमा खासगरी ओली र प्रचण्डलाई मिलाएर पार्टी एकता जोगाउन दौडधूप जारी राखेका पूर्वमाओवादी पृष्ठभूमिका नेता हरिवोल गजुरेल, टोबहादुर रायमाझी, देवेन्द्र पौडेललगायत नेताहरु छन्।
नेता गजुरेलले आइतबार भने, ‘पछिल्लो पटक गल्ती गरेको प्रधानमन्त्री ओलीले नै हो। स्थायी कमिटी निर्णय उहाँको पक्षमा थियो। तर त्यसको कार्यान्व्यनमा प्रधानमन्त्री ओली चुक्नु भयो। त्यसैले हामीले अब उहाँलाई लचिलो बन्नुपर्छ भनिरहेका छौँ।’
उनका अनुसार राष्ट्रिय हितमा काम गरिरहेका बेला गत असारमा ओलीलाई दुबै पदबाट हटाउने प्रस्ताव गर्नु प्रचण्डको गल्ती थियो।
अन्ततः प्रचण्डले आफ्नो प्रस्तावबाट पछि हट्दै ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद जोगाउन भूमिका खेलेका थिए।
तर स्थायी कमिटीको निर्णयबाट आफ्ना दुबै पद सुरक्षित भइसकेको अवस्थामा ओलीले त्यसलाई सदुपयोग गर्न नसकेको उनी बताउँछन्।
‘पार्टी फुटेपछि मुलुकमा पुनः अस्थीरता उत्पन्न हुने निश्चित छ। बाह्य पक्ष पनि पार्टी फुटोस् भन्नेमा लागेका छन्। भित्र पनि पार्टी फुटको एकखालको अभ्यास भएको आभास हुन्छ। हामी पार्टी जोगाउन दृढताका साथ उभिएका छौँ,’ उनले भने।
नेता गजुरेलका अनुसार आफ्नो समूहले सोमबार बिहान अध्यक्ष प्रचण्डलाई पनि भेटेर दुई अध्यक्ष मिलेर अघि बढ्न सल्लाह दिन लागेका छन्।
नेता गजुरेलका अनुसार यसपटक ओलीले अति नै अपमानित गरेपछि अध्यक्ष प्रचण्ड ओलीसँग ‘फायर’ छन्। अर्थात अध्यक्ष प्रचण्ड आफ्नो अडानबाट पछि हट्ने छैनन्।
नेता गजुरेलले भने, ‘म अब अपमान सहन्न। मलाई कसैले साथ दिन आए ठिकै छ, नदिए म एक्लै भएपनि लड्छु भन्नेमा अध्यक्ष प्रचण्ड पुग्नु भएको छ। उहाँलाई पनि शान्त बनाउनुछ।’
यसो त आफ्नो अडान नत्याग्ने निष्कर्षमा पुगेका कारण ओलीपक्षबाट आफ्नो प्रस्ताव फिर्ताका लागि आएको दबाबलाई प्रचण्डले बेवास्ता गर्दै आएका छन्।
प्रचण्डलाई प्रस्ताव फिर्ता गरी ओलीसँग मिलेर साझा प्रस्ताव पेश गर्न ओली निकट नेता विष्णु पौडेल, सुवास नेम्वाङले शुक्रबार भेटेर आग्रहसमेत गरिसकेका छन्।
तर आफूले विगतमा पार्टी एकताका लागि ओलीको अपमान सहेर भएपनि ‘आलोपालो सहमति’ बाट पछि हटेर ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री पद सुम्पिएको भएपनि त्यसको जस नपाएको निष्कर्षमा प्रचण्ड पुगेको उनी बताउँछन्।
आलोपालो सहमति त्याग्दा पनि ओलीले प्रचण्डको कार्यकारी हैसियतमा हस्तक्षेप गर्न नछोडेपछि गत असारमा उनीहरुबीच पुनः विवाद चर्किएको थियो।
त्यो विवाद मिलाउन यिनै मध्यमार्गी नेताहरु खटिएका थिए। ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकागरी दोस्रो तहका ६ जना नेताहरु सम्मिलित कार्यदल निर्माण भएको थियो।
कार्यदलको प्रस्तावका आधारमा भदौ २५ गतेको स्थायी कमिटी बैठकले ओलीलाई सरकारको काममा केन्द्रित हुने, प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीको काममा केन्द्रित हुने र दुबैले काम गर्दा एकअर्कासँग समन्वय गर्ने निर्णय गरेको थियो।
तर फेरि उक्त निर्णय कार्यान्वयन नगरेपछि प्रचण्डमा असन्तुष्टि चुलिएको थियो। प्रचण्डको समर्थनमा अन्य चार जना सचिवालय सदस्य पनि उत्रिएपछि ओली अहिले अल्पमतमा परेका छन्।
ओली र प्रचण्डलाई मिलाउने कसरतमा उत्रिएका नेता देवेन्द्र पौडेलले भने, ‘गल्ती जहाँबाट भएको छ,त्यहीबाट सच्याउन सुरु गर्नुपर्छ। दुई अध्यक्ष मिल्नुको विकल्प छैन। दुईचार दिन लाग्ला तर सहमति हुन्छ।’

केपी शर्मा ओली र पुष्पकमल दाहाल। फाइल तस्बिर।
नेता टोपबहादुर रायमाझीको धारणा पनि उस्तै छ। उनले एकताका लागि गल्ती सच्याउनु पर्ने बताए। उनले भने, ‘हामीलाई जनताले मिल्न छुट दिएका छन्। टुट्न होइन। त्यो सम्झेर विवाद मिलाउनुपर्छ।’
दुई विकल्पमा छलफल तीब्र
पूर्वनिर्धारित सचिवालय बैठक नजिकिँदै जाँदा मध्यमार्गी नेताहरुले पार्टी एकताको रक्षाका लागि ओली र प्रचण्डका सामू दुई विकल्प अघि सारेका छन्।
पहिलो, ओलीले प्रचण्डलाई जबाफ दिएर आफ्नो तुस मात्रै पोख्ने। दोस्रो, त्यसपछि दुबैले साझा प्रस्ताव निर्माण गरी आगामी १८ गते बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने। त्यसो नगरी प्रचण्ड र ओलीका दुबै प्रस्ताव समानन्तररुपमा अघि बढेमा पार्टी फुट्ने निश्चित छ।
नेता गजुरेलले भने, ‘एउटा पक्षले बहुमत जुटाएर अर्को पक्षलाई कारवाही गरेमा कारवाहीमा पर्ने पक्ष चुप लागेर बस्ने छैन। कारण पार्टी एकता टुंगिएको छैन। पूर्णरुपमा एकता नहुँदा सम्म सहमतिमै जानुपर्ने हुन्छ। अहिले अल्पमत र बहुमतको अध्यास गर्ने नैतिक आधार पनि छैन। सबैलाई थाहा छ, निर्वाचन आयोगले अल्मत र बहुमतलाई नै मान्यता दिन्छ।’
ओली खेमाका ‘नरम’ समूहका नेताहरुले पनि हाल आएर यी दुई विकल्पबारे छलफल थालेका छन्। नेता सुवास नेम्वाङले अध्यक्ष प्रचण्डको प्रस्तावको जबाफ प्रधानमन्त्री ओलीबाट आइसकेपछि साझा प्रस्ताव निर्माण हुने सम्भावना प्रवल भएको बताए।
उनले आइतबार भने, ‘पार्टी एकता जोगाउने हो भने पहिले अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिनुसबैभन्दा उत्तम उपाय हो। त्यसो नगर्ने हो भने प्रधानमन्त्री ओलीले आफूविरुद्ध लागेको आरोपको जबाफ दिनुपरिहाल्यो। त्यसपछि दुबै अध्यक्षबाट साझा प्रस्ताव ल्याउन आवश्यक छ। त्यो नै पार्टी फुटबाट जोगाउने हतियार बन्ने छ।’
उनले दुबै पक्षबाट लचकता प्रर्दशन गरेको खण्डमा मात्रै पार्टी जोगिने बताए।
तर ओली खेमामै अर्को एउटा यस्तो समूह छ जसले प्रचण्डले लगाएको आरोपको हिसाबकिताब माग्ने र आरोप सत्य नठहरिए उनले अध्यक्ष पद छोड्नु पर्ने विकल्प देखाइरहेको छ।
ओलीले प्रचण्डविरुद्ध पेश गर्ने प्रस्ताव निर्माणमा व्यस्त रहेका नेता ईश्वर पोखरेलले भने, ‘एकताको अधार भत्काएर सम्मानित व्यक्तिको जीवनमै दाग लाग्नेगरी कसैले आरोप लगाउँछ भने त्यसको हिसाबकिताब माग्ने कि नमाग्ने? हिसाबकिताब मिलेन भने के हुन्छ?’
पार्टीको उच्च तहमा पार्टी कसरी जोगाउने भन्नेमा छलफल तीब्र बनिरहेका बेला ओलीले भने प्रचण्ड समूहलाई तर्साउने क्रमलाई जारी राखेका छन्।
राष्ट्रपति, चिनियाँ राजदूत, प्रतिपक्ष नेपाली काँग्रेसका सभापति, प्रधानन्याधीशलगायतसँग भेटेर ओलीले आफूविरुद्ध कदम चालिए आफू पनि चुप नबस्ने सन्देशलाई निरन्तरता दिएका छन्।
ओलीले काँग्रेस सभापति शेरबहादुर देउबालाई शनिबार साझा सरकारका लागि प्रस्ताव गरेको देउबा निकट एक काँग्रेस नेताले दाबी गरेका छन्।
तर काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने पाँच वर्ष सत्तामा जान काँग्रेसलाई छुट नभएको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।
ओली नेतृत्वको सरकारमा मन्त्री रहेका प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले वैधानिकरुपमा पार्टी नफुट्ने बताए।
उनले आइतबार भने,‘पार्टी जोगाउन हामी सबै लागेका छौँ। वैधानिकरुपमा पार्टी फुट्ने छैन। गैरवैधानिकरुपमा पार्टी फुटाउने शक्ति प्रधानमन्त्रीसँग होला। तर त्यसो हुने छैन।’