
इलाम (कन्याम) – चियाको कुरा गर्दा छुट्दैन इलामको कन्याम बगान । पूर्वी नेपालका घुम्ने ठाउँहरुको सूचि आउँदा कन्यामको नाउँ प्रायः अग्रस्थानमा पर्छ ।
सधैँ हराभर, हरदम मनोरम, मनै बराल्ने, उसैगरी मन चङ्गा बनाउने कन्यामको रहर लाग्दो दृष्य । कन्यामले ‘मोहनी’ लगाउँछ । आफूसँगै बस, भन्छ पुग्नेहरुलाई ।
सीमित समय छुट्याएर पुगेकाहरु हराउँछन् चियाका बोटहरुमा । आँखाले भ्याउने भागका अधिकांश कन्यामका डाँडा चियाका बोटहरुले भरिएका छन् ।
बगानका बिचमा उभिएका धुपीका बोटहरु ‘गहना’ बनेर सिंगारिएका जस्ता लाग्छन् ।
बिहानमा चियाका पातहरुमा बसेका शितका थोपाहरुलाई हिरा झैँ टल्काउँदै झुल्किने घामले कन्यामको चिया बगानलाई घाइलो, रमाइलो पार्छ ।
बिहानै बगान पुगेकाहरु घामका किरण, शितका थोपा र चियाका पातहरुमा मिसिन्छन् । मध्यम पहाडको कन्याम चिया बगानले हेर्दै जाँदा निलो आकाश छुन खोजेजस्तो लाग्छ । आकाशले कन्याम भेट्न नुगेजस्तो पनि ।
सामान्य अवस्थामा कन्याम पुग्नेहरुको भिड बाक्लो हुन्छ । तर कोरोना भाइरसको महामारीका कारण हाल कन्यामको मनोरम दृष्य धेरैले आँखा हुँदै जीवनपर्यन्तका लागि मनमा समेट्न पाएका छैनन् ।
स्थानीय व्यापारी गणेश शंकरका अनुसार सामान्य अवस्थामा दैनिक झण्डै १५० बसमा पर्यटक पुग्थे । अहिले भने दैनिक दुई–चार वटा निजी गाडीमा यात्री पुग्ने गरेका छन् ।
देश सञ्चारका प्रभात खनालले सोमबार बिहान देखिएको कन्यामको रोमाञ्चकता केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।